Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

मुख्यमन्त्री शाहीले भने : क्यान इन्फोटेक ज्ञानको खानी रहेछ

फागुन २६ सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगरमा संचालन भइरहेको क्यान इन्फोटेकको अवलोकन गर्नु भएको छ । उक्त इन्फोटेकको अवलोकन पश्चात मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘क्यान इन्फोटेक भनेको ज्ञानको खानी रहेछ । त्यसैले कर्णाली प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी भएपनि यसको अवलोकन आवश्यक छ ।’

क्यान इन्फोटेकको अवलोकनले धेरै महत्वपूर्ण ज्ञान हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री शाहीले विज्ञान र प्रविधिको विकास भइरहेको अवस्थामा विज्ञान प्रति सबैलाई विश्वास दिलाउन सक्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रविधि भनेको के हो भन्ने बारेमा सबैलाई बुझाउन आवश्यक छ । त्यो बुझाउने कार्य इन्फोटेकले गरिरहेकाले यो मेला मात्र होइन ज्ञान आर्जन गर्ने विद्यालय पनि हो ।’ पूर्वसूचना दिने लगायत शिक्षा र स्वास्थ्यमा प्रविधिको प्रयोग गर्न नसकिए अन्य क्षेत्रमा सफल हुन नसक्ने बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘युवाहरु प्रविधिको क्षेत्रमा जति अगाडि बढिरहेका छन् अरुहरु पनि सँगसँगै लैजान आवश्यक छ ।


आजै (आइतबार) नै उक्त क्यान इन्फोटेकको अवलोकन गर्दै वीरेन्दनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले क्यानले गरेको कार्य सुर्खेती जनताका लागि समेत पनि नितान्त आवश्यक भएको बताउनु भयो । इन्फोटेकलाई नगरपालिकाको तर्फबाट गर्नु पर्ने आर्थिक सहयोगका साथै नैतिक सहयोगका लागि समेत तयार भएको बताउनु भयो । केवल मनोरञ्जन भन्दा पनि शिक्षामुलक यस्ता प्रदर्शनीहरुको आवश्यक रहेको नगरप्रमुख सुवेदीको भनाई थियो ।

इन्फोटेकमा आजै ‘समृद्ध नेपालको लागि डिजिटल कर्णाली’ विषयक हाजिरीजवाफ प्रतियोगीतामा श्री कृष्ण संस्कृत मावि इत्रामका ह्दयेन्द्रजंग शाही प्रथम, सेन्ट मेरिज को एड बोडिङ्गका चन्द्रा खत्री द्वितीय, साउथ एसियन स्कलर्स एकेडेमीका आयुध पन्त तृतीय र छिन्चु इङ्गिस मिडियम स्कुल छिन्चुका प्रकाश केसी चतुर्थ हुनु भएको छ ।

इन्फोटेकको तेस्रो दिन ८ हजार ८ सय बढि दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ ।