Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

राप्रपा (संयुक्त) का अध्यक्षद्वय चैत्र ४ मा सुर्खेत आउँदै

फागुन २७ सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आउँदो चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेत आउने कार्यक्रम रहेको छ । अध्यक्षद्वयले अब राप्रपा (संयुक्त) कहिल्यै विभाजन नहुने गरी एकिकरण भएको बताइ सकेका छन् । वैकल्पिक राजनीतिक शक्तिको रुपमा निर्माण गरिएको राप्रपा (संयुक्त) ले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र आन्दोलनबाटै स्थापित गर्नका लागि संगठन सुदृढिकरणमा लागेको समेत बताएको छ ।


यही आउँदो चैत्र ४ गते सुर्खेतको वीरेन्द्रनगरमा हुने पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई पशुपति शमशेर जवरा र डा प्रकाशचन्द्र लोहनी लगायत केन्द्रीय नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको पार्टीका संगठन विभाग सदस्य कविराम पुरीले जानकारी गराउनु भयो ।

पार्टीको उच्च स्रोतका अनुसार राप्रपा (संयुक्त) देशव्यापी पार्टी एकीकरणको अभियानमा लागिरहेको छ भने समान विचारधारा र सैद्धान्तिक अवधारणा भएका अन्य नेता र समूहहरु समेत राप्रपा (संयुक्त) मा आउने तयारी गरिरहेकाले पार्टी अध्यक्षद्वय नै संगठन विस्तारका लागि देश दौडाहामा हिडिरहेको बताइएको छ ।

अध्यक्ष राणाका अनुसार परम्परागत शक्ति र हिन्दुराष्ट्रको लागि आउँदो जेठ महिनाबाट आन्दोलन गर्ने योजना रहेको छ । उहाँका अनुसार, ‘वास्तवमै सिंहदरबारको अधिकारको नाममा जनताको घरदैलोमा यो सरकारले करको भार पु¥याएको, भ्रष्टाचारले जनताको जीवनस्तर खस्काएको र कुशासन उपहार दिएको छ ।’

नेपालको संविधान २०७२ ले दिएको असहमति राख्ने अधिकारको उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्न सकिने बताउँदै आउनु भएका पार्टी अध्यक्ष पशुपति शमसेर जबराले वर्तमान अवस्थामा देश फेरि द्वन्द्वतर्फ उन्मुख भइरहेकोले चिन्ता व्यक्त गर्नुभएको छ ।

अर्का अध्यक्ष डा. लोहनीले पार्टी भित्रको कलहका कारण जनताले मत नदिएको स्वीकार गर्दै अब पार्टी एक भइसकेकोले सधैँ जनताको विश्वास जित्न सकिने बताउँदै आउनु भएको छ । डा. लोहनीका अनुसार ‘विचार मिल्नेसँग एकता गर्न सकिन्छ ।’ अध्यक्ष डा. लोहनी भन्नुहुन्छ, ‘जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी तर शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्छौ, जसले गर्दा हाम्रो पार्टीले राखेका विचार र मान्यतालाई प्रत्येक नेपाली जनताले हाम्रोसँग बुझ्नेछन् अनि देश र जनताकै लागि एक भएर अगाडि बढ्नेछन् ।

संविधानले दिएको संविधान संशोधन गर्ने अधिकारमाथि टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरेरै छाड्ने संकल्प लिएर अगाडि बढेको राप्रपा (संयुक्त) को भनाई छ । वर्तमान कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख भएको राप्रपा (संयुक्त) ले बताएको छ ।

यसलाई नियन्त्रण गर्न जनताको हितमा आफूहरु सक्रिय भएर लाग्ने डा. लोहनीले पार्टीका विभिन्न कार्यक्रमहरुमा बताउँदै आउनु भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्यक्तिले फाइदा उठाएको बताउँदै अबका दिनमा कुनैपनि हालतमा पार्टी विभाजन नहुने विश्वास व्यक्त गर्नुभएको छ ।