Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

त्यसै सेलायो प्रदेश सरकारको पर्यटन बर्ष

बसन्त भण्डारी, सुर्खेत । कर्णालीमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर कर्णाली प्रदेश सरकारले २०७५ साललाई पर्यटन बर्षको रुपमा मनाउने निर्णय ग¥यो । सोही अनुसार २०७५ साल बैशाख १ गते कर्णाली प्रदेश सरकारले देशका प्रधानमन्त्री केपी शर्मा ओली देखि उच्चपदस्तहरुको उपस्थितिमा ‘रारा कर्णाली पर्यटन बर्ष २०७५’ को उद्घाटन रारा तालमा ग¥यो । राराको छेउबाट नयाँ बर्षको दिन प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन समेत गरे । मन्त्री देखि अन्य नेताहरुले कर्णालीमा पर्यटनको सम्भावना, अब यसरी जानुपर्छ भन्न बिषयमा आ–आफ्नो धारणा राखे । प्रदेश सरकारले सुरु गरिएको पर्यटन बर्षको उद्घाटन हुँदा खेरीको मावलले साँच्चीकै कर्णाली अब पर्यटनको क्षेत्रमा फड्को मार्ने आशाहरु सबैको मनमा पलाएका थिए । उद्घाटन गरे संगै प्रदेश सरकार कर्णालीका पर्यटनका सम्भावनाहरुको बारेमा प्रचार प्रचार गर्ने, सबै क्षेत्रमा बाटोको सुविधा पु¥याउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटनहरुको ध्यान केन्द्रित गराउन प्रदेश सरकार लाग्यो । प्रदेश सरकारका मन्त्री नेताहरुले जुनसुकै ठाउँमा गएपनी राराताल, शे–फोक्सुण्डो लगायतका पर्यटकीय क्षेत्रहरु कर्णालीको समृद्धिको लागि भनेर प्रचार प्रचार समेत गरे । तर पर्यटन बर्ष सकिन लाग्दा सरकारले सोचेको भन्दा आधा जति पर्यटकहरु पनि कर्णालीमा आउन सकेका छैनन् । सरकारले भने अनुसारको काम पनि गर्न सकेन र त्यसको प्रतिफल पनि पाउन सकेन मात्र बजेट स्वाहा भयो । प्रदेश सरकारले उद्घाटन कार्यक्रमको लागि ३९ लाख बजेट विनियोजन गरेको थियो । तर उद्घाटन कार्यक्रममा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको पाइएको छ ।

जसको कारण अहिले प्रदेश सरकारले लाखौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप खेपिरहेको छ । लेखा समितिले ३७ लाखभन्दा बढी भ्रष्टाचार प्रतिवेदन सार्वजनिक गरेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले छानविनका लागि सरकारसँग फाइल माग गरेको छ ।
तर, सरकारले महालेखा परीक्षकलाई उद्घाटनमा नै दुई वटा प्रतिवेदन बुझाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ ७९ पैसा र ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको छुट्टाछुट्टै विवरण छ । महालेखा परीक्षकको प्रतिवेदनमा ९ लाख २ हजार ८ सय ७७ रुपैयाँ फरक परेको छ ।
यता आर्थिक मामिला तथा योजना मन्त्रीले सदनमा पेश गरेको खर्च विवरण ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ नै पर्यटन वर्षको उद्घाटनमा भएको आधिकारिक खर्च मान्न सकिने समितिले निश्कर्ष निकालेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कमा राराताल, शे फोक्सुण्डो ताल, बुलबुले उधान र काँक्रेविहारका पर्यटकहरुको मात्र तथ्याङ्क मात्र संङकलन गरेको छ ।
पर्यटन बर्षमा सकिन एक दिन मात्र बाँकि रहदा सम्म २ लाख २१ हजार ३ सय २१ जना पर्यटनहरु कर्णाली प्रदेशमा आएका छन् । जस अन्तर्गत २ लाख २० हजार ६ सय ८८ आन्तरिक पर्यटकहरु आएका छन् भने ६ सय ३३ जना वाह्य पर्यटकहरु कर्णालीमा आएका छन् ।
जस अन्तर्गत रारालगायत अन्य वरपरका ठाउँहरुमा बैशाख देखि कार्तिक सम्म १८ हजार र कार्तिक पछि ५ हजार ३ सय १४ र २ सय १६ जना वाह्य पर्यटन रारामा पुगेका छन् ।

यस्तै शे फोक्सुण्डा तालमा ४ सय ८९ आन्तरिक र ३ सय ८६ वाह्य पर्यटक गरेर ८ सय ७२ पर्यटकहरु पुगेका छन् ।
यस्तै बुलबुलेमा १ लाख ६० हजार भन्दा बढि आन्तरिक पर्यटकहरु मात्र पुगेका छन् भने काँक्रेविहारमा ३६ हजार ८ सय ८५ आन्तरिक र ३४ जना वाह्य गरेर ३६ हजार ९ सय १९ जना पर्यटकहरु त्यहाँ पुगेको मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए ।
यी बाहेक अन्य क्षेत्रहरुको तथ्याङ्क प्रदेश सरकारसंग छैन । पर्यटनको क्षेत्रलार्इं जोड दिएमात्रै कर्णाली समृद्ध हुन्छ भनेर कर्णालीका मन्त्री देखि नेता सम्मले भाषण गरिरहेको अबस्थामा यो सन्दोष जनक काम भने हैन ।
केहि समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुगुको रारा ताल, सल्यानको कुपिन्डे दह, जुम्लाको सिंजा सभ्यता, कालिकोटको पचाल झरणा, दैलेखको धार्मिक सम्पदाको क्षेत्र पञ्चकोशी ज्वाला क्षेत्र, रारादेखि शे फोक्सुण्डो, डोल्पाको त्रिपुरासुन्दरी पर्यटन क्षेत्र, हुम्लाको लिमी उपत्यका र जाजरकोट दरबारलाई कर्णालीका पर्यटकीय गन्तव्यमा समावेश गरेको थियो ।
कतिपय पर्यटकीय गन्तव्यमा कति पर्यटकहरु जान्छन भनेर त्यसको बारेमा कुनै पनि संकलन नहुने भएकाले बसै क्षेत्रलाई तथ्याङ्कमा जोड्न नसकिएको रोकायाले जानकारी दिए । सुचना अधिकारी रोकायाले भने, ‘प्रदेशमा रहेका अन्य क्षेत्रहरुको बारेमा पनि डाटाहरु संकलन गर्ने काम भैरहेकाले केहि समयमानै सबै क्षेत्रहरुको डाटा संकलन गर्ने काम हुन्छ । सबै क्षेत्रहरुलाई व्यवस्थित गरेर लैजाने प्रदेश सरकारको योजना रहेको छ । अहिले प्रदेश सरकारले प्रदेश भरका १ सय १ पर्यटकीय क्षेत्रहरुलाई समेटर प्रोफाईल बनाउन लागेका छौँ । प्रत्येक जिल्लाहरुमा होम स्टे सञ्चालन गर्ने कामहरु अघि बढिरहेको छ । पर्यटन पदमार्ग बनाउने काम, विभिन्न क्षेत्रहरुमा सहिद पार्क, भ्यूटावर बनाउने कामहरु अघि बढिरहेको छ ।’