निःशुल्क खोप शिविर सम्पन्न
सुर्खेत, १६ बैशाख ।
विश्व भेटेरीनरी दिवश २०१९ को अवसरमा वीरेन्द्रनगर २ को उत्तरगंगामा सोमबार घरपालुवा कुकुरमा रेविज विरुद्धको निःशुल्क खोप शिविर संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका पशु सेवा शाखा सुर्खेतको आयोजना र नेपालपारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन जिल्ला कार्य समिति सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको समन्वयमा संचालन गरिएको उक्त शिविरमा ९१ कुकुरलाई निःशुल्क खोप लगाइएको पशु सेवा शाखा वीरेन्द्रनगरका शाखा प्रमुख पशु चिकित्सक नारायण प्रसाद न्यौपानेले जानकारी दिए ।
विश्व भेटेरीनरी दिवस २०१९ सप्ताहव्यापी रुपमा मनाउने क्रममा भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेत र नेपालपारा भेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसन जिल्ला कार्य समिति सुर्खेतको संयुक्त आयोजना तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, नेपाल भेटेरीनरी एसोसिएसन् कर्णाली प्रदेश संगको समन्वयमा वीरेन्द्रनगर १४ गढी सुर्खेत र भेरीगंगा नगरपालिका १ मनिरामकाँडा सुर्खेतमा रेविज विरुद्धको निःशुल्क खोप शिविर संचालन भएको थियो । शिविरमा ४८० कुकुरमा निःशुल्क खोप तथा आन्तरीक परजिबि विरुद्धको औषधी समेत वितरण गरीएको नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन सुर्खेतका अध्यक्ष कमलबहादुर बिश्वकर्माले बताए ।
हरेक बर्ष अप्रिल २७मा विश्वभर मनाईने विश्व भेटेरीनरी दिवशको यो बर्षको नारा “खोपको महत्व “ रहेको र बिश्व भर खोपको महत्व र आवश्यकता सम्बन्धी विविध कार्यक्रम संचालन गरिएकोमा यहाँ पनि खोप शिबिर संचालन गरिएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक दिपककुमार भण्डारीले जानकारी दिए । शिविरको संचालन तथा व्यवस्थापनमा सम्बन्धित वडा कार्यालयहरुले सहयोग गरेका थिए भने शिविरमा जिल्लामा क्रियाशिल पशु सेवा तथा पशु स्वास्थ्य संग सम्बन्धित प्राविधिक तथा पशु चिकित्सकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
वडास्तरमा कार्यक्रम संचालन गरेर जनस्वास्थ्यको संरक्षणमा महत्वपूर्ण काम भएको वीरेन्द्रनगर १४ का वडा सदस्य मोहन प्रसाद चालिसेले बताए ।






