Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

कला, संस्कृतिको प्रयोग बिना प्रदेश समृद्ध बन्दैन : मुख्यमन्त्री

वैशाख २७ सुर्खेत ।

कला र संस्कृतिको प्रयोग र संरक्षण बिना प्रदेश समृद्ध बन्न नसक्ने बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र सुर्खेती कल्याण समाजको संयुक्त आयोजनामा आज (वैशाख २७) देखि कर्णाली प्रदेशको राजधानीमा शुरु भएको कर्णाली प्रदेशस्तरीय वाङ्मय संगोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यस्तो बताउनु भएको हो ।


भोली (वैशाख २८) गतेसम्म संचालन हुने संगोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘कला, संस्कृति र भाषाको धनी कर्णाली प्रदेश नेपाली सभ्यताकोसँगै नेपाली भाषाको उद्गमस्थल पनि हो ।’ पछिल्लो समयमा आयातित संस्कृतिका कारण नेपाली भाषाको रक्षा गर्न आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहीले नेपाली भाषा धरापमा पर्न थालेको बताउनु भयो ।


नेपाली भाषाको जगेर्ना अनिवार्य भएको बताउँदै यसको प्रयोगका लागि व्यवस्थापन पक्षले विशेष भूमिका खेल्नु पर्ने समय आइसकेको उहाँको भनाई थियो । ‘मान्छेलाई सभ्य, सामाजिक बनाउने संस्कृति भएकोले यसलाई बिर्सेमा सभ्यता नै हराउने भएकोले संस्कृति बिर्सेकाहरु असभ्य बनिरहेका छन्’ मुख्यमन्त्री शाहीको भनाई थियो । साहित्यकारहरु नयाँ नयाँ शब्दका आविष्कार भएकोले साहित्यकार बिना शब्दहरु हराउने गर्दछन् भन्दै मुख्यमन्त्री शाहीले साहित्य, कला, भाषा र संस्कृतिको संरक्षणका लागि कर्णाली प्रदेश सरकार जहिले पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।


कार्यक्रममा विशेष अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारले सबै क्षेत्र, तह र भाषाहरुलाई समेट्ने गरी भाषा संस्कृतिको प्रवद्र्धन गर्न कर्णाली प्रज्ञा प्रतिष्ठानको स्थापना गर्न नीति तथा कार्यक्रम तय गरिसकिएको बताउनु भयो । कार्यदल गठन गरेर गठन आदेश मार्फत भएपनि चालु आ.व. भित्रै कर्णाली प्रज्ञा प्रतिष्ठानको गठन गर्ने र उत्कृष्ट साहित्यिक विकासका लागि पहल चाल्ने उहाँको भनाई थियो ।


कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संस्कृतिको संरक्षण गर्नु पहिलो आवश्यकता रहेको बताउँदै स्थानीय तथा राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गर्न जरुरी रहेको बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णालीको कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउन संगोष्ठी महत्वपूर्ण रहेको बताउनु भयो ।


कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले सातै प्रदेशमा रहेका संस्कृतिहरुलाई संरक्षण गर्नका लागि संगोष्ठीको आयोजना गरिएको बताउनु भयो । भौतिक विकासले मात्र समृद्धि प्राप्त नहुने बताउँदै उहाँले सांस्कृतिक र आर्थिक विकासमा समेत जोड दिनु पर्ने उल्लेख गर्दै कर्णाली प्रदेश भाषा र साहित्यले भरिपूर्ण भएकोले पनि कर्णाली प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नु आवश्यक रहेको बताउनु भयो । जसका लागि पहल गर्न कर्णाली प्रदेश सरकारलाई उहाँको आग्रह थियो ।


संगोष्ठीको उद्घाटन कार्यक्रममा डा. दीपक गौतमकृत तीन वटा कृतिको एकैसाथ विमोचन समेत गरिएको छ । ‘विद्यार्थी र नेतृत्व’ निबन्ध संग्रह, ‘पचहत्तरका कविताहरु’ कविता संग्रह र ‘महाकाव्यको अध्ययन’ समालोचना संग्रहको प्रमुख अतिथि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विमोचन गर्नु भएको थियो । डा. दीपक गौतमका प्रतिबिम्ब, नरोकिने पाइलाहरु (२०६२), पानी र मानवता कविता संग्रह (२०७१), समकालिन प्रगतिवादी नेपाली कथाका प्रवृत्ति (२०६४), प्रतिबिम्ब (२०४८), पानी र मानवता कविता सङ्ग्रह (२०७१),  समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्ति (२०६४), अलिखित आधुनिक नेपाली साहित्य लेखन इतिहास (२०६५), सृष्टिप्रति दृष्टि (२०६८), सृष्टि एक दृष्टि अनेक (२०६९), कृपया लामो कविता (२०७०), केही नाटक र काव्य र शोध समालोचन संग्रह प्रकाशित छन् ।


उद्घाटन कार्यक्रममा बागिना समूह सुर्खेतका कलाकार प्रेमदेव गिरी, कूलमान नेपाली, ज्ञान बहादुर नेपाली, कवि गिरी, चन्द्र मन्दिर, टीका पुन, रामबहादुर बुढालगायतले सांगीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने थारु नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको २ लाख ५० हजार आर्थिक सहयोगमा २ दिने संगोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चुडामणी बन्धु, कर्णाली प्रदेशमा गद्य साहित्यको वर्तमान अवस्था र भावी दिशा डा. दीपक गौतम, कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म दर्शनको परम्परा विषयमा बिष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रा. जगतप्रसाद उपाध्याय र कर्णाली प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा. डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।


आजै (वैशाख २७) साँझ मध्यपश्चिमाञ्चल गजल मञ्चको सहकार्यमा गजल साँझ हुनेछ भने भोली २८ गते कर्णाली प्रदेश सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय कवि गोष्ठीसमेत हुनेछ । भोली (२८ गते) कर्णाली प्रदेश स्तरीय काव्य गोष्ठी समेत हुनेछ । कार्यक्रम समापन हुनु अगाडि कर्णाली वाङ्मय घोषणा पत्र २०७६ जारी हुनेछ ।


संगोष्ठीमा प्रा.डा. कपिलदेव लामीछाने, हरिप्रसाद तिमिल्सना, प्रा.डा. मोतीलाल पराजुली, डा. मधुसुदन गिरी, बिष्णुप्रसाद शर्मा पराजुली, भूपेन्द्र मल्ल, डा. देवी नेपाललगायत सुर्खेतस्थित विभिन्न साहित्यिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

उद्घाटन कार्यक्रम सुर्खेती कल्याण समाजका सभापति प्रा. डा. जीवेन्द्र देव गिरीको सभापतित्वमा भएको थियो भने सहजीकरण बलभद्र भारतीले गर्नुभएको थियो ।