कला साहित्यको विकास अपरिहार्य : नगरप्रमुख चन्द
सुर्खेत ।
भेरी गंगा नगरपालिकाका नगर प्रमुख भूपेन्द्र चन्दले कला साहित्यको विकास अपरिहार्य भएको बताउनु भएको छ । सुर्खेतको भेरी गंगा नगरपालिका वडा नं. ५ गेरुवानी बबईमा भएको चित्रकला सम्बन्धि प्रशिक्षणसँगै प्रतियोगीताको उद्घाटन कार्यक्रममा नगरप्रमुख चन्दले यस्तो बताउनु भएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहोलपुरको कला विभागले आयोजना गरेको चित्रकला सम्बन्धि दुई दिने प्रशिक्षण तथा प्रतियोगीताको उद्घाटन कार्यक्रममा नगरप्रमुख चन्दले भन्नुभयो, ‘हामीले सांस्कृति जोगाउँदै अगाडि बढ्न आवश्यक भएकोले आजको आधुनिक युगमा हस्तकला, चित्रकला जस्ता विषयको विकास र विस्तार गर्न जरुरी छ ।’

कलाकै माध्यमबाट अरनिकोले नेपाललाई चीनमा मात्र नभई विश्वसामु परिचित गराएको प्रसंग कोट्याउँदै नगरप्रमुख चन्दले कर्णाली प्रदेश कला, साहित्य र सम्पदाको खानी भएको बताउनु भयो । समृद्ध कर्णालीको लागि कला साहित्यले समेत योगदान गर्ने र यसको माध्यमबाट कर्णालीले आर्थिक रुपमा समेत उन्नती गर्न सक्ने भएकोले सबैले हातेमालो गर्न जरुरी भएको उहाँको भनाई थियो ।
भेरी गंगा नगरपालिकाका गरुवानी बबई क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरुलाई हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका कला विभाग प्रमुख विक्रम शिशिरले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । प्रशिक्षणमा सहभागी विद्यार्थीहरुद्वारा निर्माण गरिएका चित्रहरुको मूल्याङ्कन गरी पुरस्कृत गर्ने व्यवस्था रहेको प्रशिक्षक विक्रम शिशिरले क्वीकखबरलाई बताउनु भयो । प्रशिक्षक विक्रम शिशिर कोहोलपुरमा कला चित्रकलामा नेपाली सारबिम्ब शीर्षकमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बेदु गिरी, झकबहादुर डाँगी, देवकी तिमल्सिना, भेरी गंगा नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष, बाँसगढी नगरपालिकाका वडाअध्यक्ष, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्याकलगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।












