काँक्रेविहारमा भएको पिकनिक स्पट हटाइने
सुर्खेत २२ ज्येष्ठ ।
वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल काँक्रेविहारमा रहेको पिकनिक स्पट हटाइने भएको छ । विश्व वातावरण दिवसको अवसरमा बुधबार काँक्रेविहार क्षेत्रमा वृक्षारोपण गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताउनु भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँक्रेविहारमा अव्यवस्थित पिकनिक स्पट राखिँदा विहारको धार्मिक तथा साँस्कृतिक सुन्दरतामा ह्रास आउने बताउनु भएको हो । उनले भने, ‘व्यवस्थित पार्कको विकाससँगै काँक्रेविहारलाई खुल्ला चिडियाखानाको रुपमा विकास गरिनुपर्छ ।’

विश्व वातावरण दिवसको अवसरमा मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लबको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाईका साथै वृक्षारोपण गरिएको थियो । काँक्रेविहार क्षेत्रमा सरसफाई तथा वृक्षारोपण पश्चात सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री शाहीले पुरातात्विक र ऐतिहासिक महत्व बोकेको काँक्रेविहारको संरक्षण प्रमुख आवश्यकता रहेको बताउँदै वातावरण संरक्षणमा सबै क्षेत्र गम्भीर बन्न अनुरोध गर्नुभयो ।






