फरक समुदाय बीच संवाद कार्यक्रम सम्पन्न
सुर्खेत ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजनामा प्रभावकारी सहभागीता, आधारभूत सेवा र समन्यायिक पहुँचका लागि फरक समुदाय बीच संवाद कार्यक्रम बराहताल गाउँपालिकाको वडा नं. २ थापाडेरामा सम्पन्न भएको छ । संवाद कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष योवराज कार्कीले समाजमा व्याप्त रहेको छुवाछुत अन्त्य अझै नभएकोले त्यसका लागि सबै तह र तप्काले आ–आफ्नो भूमिका खेल्नु पर्ने बताउनु भयो । पहिलेको भन्दा धेरै परिवर्तन भएपनि यसलाई सतप्रतिशत पु¥याउनका लागि आफूले जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने कार्यहरु गर्ने कुरामा कोही कसैले शंका नगर्नु समेत उहाँको अनुरोध थियो ।

कार्यक्रममा ३५ जना दलित एवम् गैरदलितहरुको सहभागीता रहेको थियो भने प्रभावकारी सहभागीताका लागि खेल्नु पर्ने भूमिकाका बारेमा खगेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो भने समन्यायिक पहुँचको बारेमा गोविन्द खत्रीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी दलित र गैरदलितहरुले समाजमा भए गरेको क्रियाकलापहरुको बारेमा आ–आफ्ना भोगाईहरु राख्नु भएको थियो । गाउँघरमा अझैँ पनि दही दुध दलितहरुलाई दिनु हुँदैन देउता बिग्रन्छन् भन्ने भावना रहेको बताउँदै दलित समुदायको तर्फबाट सहभागी हुनुभएकी लक्ष्मी नेपालीले त्यसबाट दलित समुदाय अझैं पीडित रहेको बताउनु भयो । अज्ञानताका कारण र समाजको चलिचलनका कारण त्यसो भएको भएपनि पछिल्लो समयमा परिवर्तन भएको र दुध चिया पसलहरुमा बिक्री गर्ने भएकोले सबैले खान पाएको गैरदलित समुदायबाट सहभागीता गर्ने पदमा भण्डारीको कथन रहेको थियो । टोल समाजमा हुने विकासे आयोजनाहरुमा दलित समुदायको प्रतिनिधित्व भने समान ढंगले भएको पाइएको थियो । कतिपय अवस्थामा महिलाहरु कमजोर हुन्छन् भन्ने धारणाले अझैँ पनि प्रश्रय पाइरहेकोले त्यसलाई चिर्नका लागि फरक समुदायका बीचमा संवाद अन्तरक्रिया हुनु जरुरी रहेको सहभागीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा वडा नं. २ का वडा सदस्य कर्णबहादुर कार्कीले कुनै दिन खुला दिशा मुक्त घोषणा गर्ने समयमा सर्वसाधारणलाई बुझाउन पनि गाह्रो भएको बताउँदै जातीय भेदभावका बारेमा बुझाउन झनैं गाह्रो पनि युवा पिंढीले शिक्षा प्राप्तिसँगै जातीय भेदभावमा कमी आएको बताउनु भयो । अब कमी आएको छ भनेर ढुक्क भएर बस्नु पर्ने अवस्था छैन भन्दै वडा सदस्य बुद्धिसरा वि.क. ले जनचेतनाको अझैँ आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्र बहादुर कार्कीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन इन्द्र बहादुर विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा वडा सचिव विष्णु प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।






