Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

अख्तियारमा बेनामी उजुरी धेरै : घुस लिने तरिका फेरियो

सुर्खेत ।
अख्तियारमा धेरै उजुरीहरु बेनामी उजुरीहरु आउने गरेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आज आ. व. २०७५/०७६ को प्रगति विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख ज्ञानराज सुवेदीले यस्तो बताउनु भएको हो ।


पत्रकार सम्मेलनमा कार्यालय प्रमुख सुवेदीले भन्नुभयो, ‘पछिल्लो समयमा घुस लिने तरिकामा समेत परिवर्तन भएको बताउनु भएको छ । सेवाग्राहीसँग घुस लिँदा तस्रो व्यक्तिको प्रयोग गर्ने चेक मार्फत कारोकार गर्ने गरेको पाइएको उहाँको कथन थियो ।

अख्तियारमा पर्ने उजुरीहरुमा सबै भन्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका कार्यालयहरुका रहेको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अहिलेपनि संघीय सरकारको मातहतमा रहेकोले संघीय मन्त्रालयगत रुपमा उजुरीहरुको बाँडफाँड गरेको कार्यालय प्रमुख सुवेदीले बताउनु भयो । कर्णाली प्रदेश कार्यक्षेत्र रहेको अख्तियारको सुर्खेत कार्यालयमा ३ सय ११ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका उजुरी आएका छन् भने दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका कार्यालयका २ सय ६३ उजुरी आएका छन् । तेस्रोमा वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालयका १ सय ५ उजुरी आएका छन् भने सबै भन्दा कम अर्थ मन्त्रालय मातहतका कार्यालयका १ मात्र उजुरी आएको बताइएको छ ।

कर्णाली प्रदेशको जिल्लागत विवरणलाई हेर्ने हो भने सबै भन्दा बढि सुर्खेतमा २ सय १ उजुरी आएका छन् भने सबै भन्दा कम डोल्पाका २८ वटा उजुरी आएका छन् ।

अख्तियार कार्यालय सुर्खेतका अनुसार चिठीपत्रबाट ९ सय २७ उजुरी आएका भने सबै भन्दा कम फ्याक्सबाट १ मात्र उजुरी आएको छ ।
गत आ.व. मा अख्तियार कार्यालय सुर्खेतमा परेको जम्मा ९ सय ६३ उजुरी मध्ये ५ सय ५२ फछ्यौट भइसकेका छन् भने ४ सय ११ उजुरी अनुसन्धानको क्रममा रहेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख सुवेदीले बताए अनुसार आ.व. ०७४/०७५ को भन्दा आ.व. ०७५/०७६ मा उजुरीको संख्या बढेको छ । आ.व. ०७४/०७५ मा जम्मा ७ सय ८३ उजुरी परेका थिए भने आ.व. ०७५/०७६ जम्मा ९ सय ६३ उजुरी परेका छन् ।

अख्तियारको कार्यालय सुर्खेतले आ.व. ०७५/०७६ मा ४ जनालाई रंगेहात घुस रकमसहित पक्राउ गरेको छ भने कर्णाली प्रदेशका १० जिल्लाका ४ सय ४१ स्थानमा स्थलगत निरीक्षण समेत गरेको थियो । यसैगरी जनचेतनाका लागि विभिन्न विद्यालयमा विद्यार्थी, स्थानीय जनप्रतिनिधिलगायत गरेर १ हजार १ सय ४ जनालाई सामुदायिक शिक्षा कार्यक्रम प्रदान गरेको थियो ।

आ.व. ०७५/०७६ मा ४ लाख ४७ हजार घुस रकम बरामद गरेको अख्तियार कार्यालय सुर्खेतले आ.व. ०७४/०७५ मा ११ लाख ७३ हजार ९ सय ९१ रुपैयाँ असुल उपर गरेको थियो भने आ.व. ०७५/०७६ मा त्यसको दोब्बर रकम २२ लाख २२ हजार ५ सय २५ रुपैयाँ असुल उपर गरेको छ ।

कार्यालय प्रमुख सुवेदीका अनुसार अख्तियारमा प्राप्त उजुरीहरु विद्यालयको भवन बनाउँदा गुणस्तरहिन भएको, छात्रबृत्ति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको रकम हिनामिना गरेको, शिक्षक कर्मचारी नियुक्तीमा अनियमितता गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको र उपभोक्ता समिति मार्फत हुने गरेका विकास निर्माणसँग सम्बन्धित काम गुणस्तरही भएको जस्ता प्रकृतिका रहेको छन् ।