सुनौला हजार दिनका आमाहरुलाई पौष्टिक आहार
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोति प्रसाद कंडेलले जङ्कफुट त्यागेर पौष्टिक आहार खाना आग्रह गरेक छन् । ६ नं. वडा कार्यालयले सुआहारा कार्यक्रमसँगको सहकार्यमा हजार दिन भित्रका आमाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रममा वडा अध्यक्ष कंडेलले यस्तो बताएका हुन् । उनले भने, ‘बच्चा पेटमा बसिसकेपछि आमा तथा बच्चालाई पौष्टिक आहार आवश्यक पर्ने भएकोले सबैले सुआहारा प्रयोग गर्नुपर्छ । साथै गर्भवती, बच्चासहितको आमा मात्र नभई सबैले धुम्रपान तथा मध्यपान समेत त्याग्न आवश्यक छ ।’ बच्चाको लागि आज लगानी गर्न सके भविष्यमा असल, सक्षम र सफल नागरिक बनाउनमा टेवा पुग्ने वडाअध्यक्ष कंडेलको भनाई थियो । बच्चा गर्भमा बसेपछिदेखि नै पौष्टिक आहार लगायत सरसफाइलाई ध्यान दिएर नशाजन्य बस्तुबाट टाढा रहन सकेको खण्डमा अपाङ्ग तथा अशक्त बच्चाहरु जन्मिन न्यूनिकरण हुने भएकोले पनि वडा कार्यालयले आफ्ना सबै टोलमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको कंडेलले बताए ।

सुनौला हजार दिन भित्र रहेका आमाहरुलाई पौष्टिक आहार वितरण कार्यक्रममा सुआहाराका कार्यक्रमकी कविता रेग्मीले सुनौला हजार दिन भित्रकी आमाहरुलाई सुआहारा आवश्यक भएको बताउँदै बच्चा गर्भमा बसेपछि २ वर्षको उमेर पुग्ने बेलासम्मको समयलाई सुनौला हजार दिनमा गणना गरिएको बताइन् । उनले भनिन्, ‘हजार भित्रमा बच्चाको ८० प्रतिशत बृद्धिविकास हुने भएकोले उक्त समय निकै महत्वपूर्ण समय हो । यस समयमा चार प्रकारका खानामा विशेष ध्यान दिनु पर्दछ ।’ दालजन्य, भातजन्य, माछामासुजन्य र सागपातजन्य खानालाई चार प्रकारका खानामा वर्गीकरण गरिएको छ । धुम्रपान तथा मध्यपानले गर्भको रहेको बच्चादेखि आमा समेतलाई नोक्सानी गर्ने भएकोले त्यसबाट टाढा रहन रेग्मीले सुझाइन । खानपानसँगै बच्चाको स्याहार सुसार र सरसफाईमा विशेष ध्यान दिन उनले आग्रह गरिन । आमा समूहमा आवद्ध भएर सुआहारा सम्बन्धि धेरै कुराहरु सिक्न सकिने भएकोले पनि त्यसमा आवद्ध हुन रेग्मीले आग्रह गरेकी थिइन । ६ महिनादेखि २ वर्षको उमेरसम्म बच्चालाई पौष्टिक खाना खुवाउनु पर्ने र सरसफाईमा समेत विशेष ध्यान दिन सकेको खण्डमा बच्चा शारिरीक तथा मानसिक बृद्धि विकासमा टेवा पुग्ने उनको भनाई थियो । महिनाको एक पटक प्रत्येक टोलमा स्वास्थ्य र आमा समूह कार्यक्रम संचालन गर्नु पर्ने प्रावधान अनुसार महिला स्वास्थ्य स्वयम्सेविकाहरुले उक्त कार्यक्रमलाई निरन्तरता दिनु पर्ने रेग्मीको भनाई थियो ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ मा जनघनत्व बढि भएको र स्थायी भन्दा पनि व्यावसायिक तथा अन्य प्रयोजनका लागि अस्थायी बासिन्दाहरु धेरै भएपनि सबै आमाहरुको समान अधिकारका लागि वडा कार्यालयले आफ्ना कार्यक्रमहरु निरन्तरता दिने वडासचिव उत्तम अधिकारीको भनाई थियो । उनले भने, ‘हजार दिन भित्रका बालबालिकाहरु पौष्टिक आहारबाट बञ्चित भएको खण्डमा उनीको विकासक्रममा बाधा पर्न गई भविष्यमा सोचे अनुसारको प्रगति सक्दैनन् त्यसैले बच्चाको लागि समयको समेत लगानी गर्नु सक्नुपर्दछ ।’ एउटा बच्चालाई भविष्यको सक्षम नागरिक बनाउनका पौष्टिक आहारमा विशेष ध्यान दिनु पर्ने अधिकारीको भनाई थियो ।
पौष्टिक आहार वितरण कार्यक्रममा पौष्टिक आहार तयारी गर्ने तरिकाका बारेमा समेत प्रयोगात्मक रुपमा सिकाइएको थियो भने त्यसरी तयार गरिएको पौष्टिक आहार बच्चा तथा सुनौला हजार दिन भित्रका ५९ जना आमाहरुलाई खुवाइएको थियो । सुनौला हजार दिन भित्रका आमाहरुलाई अण्डा, तेल, सर्वोत्तम पिठो, सागरलगायतका सामग्रीहरु वितरण गरिएको थियो । वडा कार्यालयको एक लाख सहयोगमा उक्त सामग्रीहरु वितरण गरिएको जनाइएको छ ।
मन्टेश्वरी तथा प्राथमिक विद्यालयमा जाने बच्चाहरुलाई चाउचाउ, बिस्कृट जस्ता खानालाई खाजाको रुपमा प्रयोग गर्नु भन्दा पौष्टिक आहारबाट निर्माण गरिएको खाना प्रयोग गर्नु पर्ने जसका लागि आमाको भूमिका मुख्य हुने भएकोले आफ्नो बच्चाको स्वास्थ्यका लागि ख्याल गर्न ६ नं. वडाका सामाजिक परिचालक रेखा केसीले आग्रह गरेकी थिइन । उनले भनिन्, ‘वडाका सबै टोल विकासहरुमा रहेका सुनौलो हजार दिन भित्रका आमाहरुलाई पौष्टिक आहार वितरण र त्यसको निर्माणको लागि प्रयोगात्मक रुपमै सिकाइ गर्ने कार्यक्रम रहेको छ ।’
पौष्टिक आहार वितरण कार्यक्रमले आफूहरुलाई भौतिक सामग्री भन्दा पनि ज्ञान दिन सकेकोमा खुसी लागेको बताउँछिन् प्रगतिनगर टोलविकास निवासी सीता नेपाली । एक दिन दिएकोले कसैलाई नपुग्ने भन्दै उनले भनिन् ‘यो हामीलाई संकेतिक रुपमा सिकाइएको हो यसलाई अनुशरण गर्न सकेमा बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो हुने ज्ञान प्राप्त गर्न पाएँ ।’ हेर्दा सामान्य जस्तो लाग्ने भएपनि फाइदाको दृष्टिकोणले महत्वपूर्ण भएको बताउँदै सुनौला हजार दिन भित्रका दिदीबहिनीहरुले यसलाई व्यवहार उतार्नु पर्ने उनको भनाई थियो । यसैगरि चन्द्रकला शाही भन्छिन्, ‘अर्काले गरिदिएन भन्नु भन्दा पनि आफैले आफ्नो बच्चा र आफ्नो स्वास्थ्यको लागि सोच्न सकेमा वडाको कार्यक्रमले सिकाएको पौष्टिक आहारको कार्यक्रमले सार्थकता पाउँछ ।’
कार्यक्रममा आमा समूहका अध्यक्षहरुले सुनौला हजार दिन भित्रका आमाहरुलाई पौष्टिक आहार प्रयोग गर्न जोड दिएका थिए भने कुनै समस्या भएमा महिला स्वास्थ्य स्वयम् सेविकादेखि आमा समूहहरुमा सम्पर्क गर्न सकिने बताएका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविका, आमा समूहका पदाधिकारीहरुलगायतको उपस्थिति रहेको थियो । वडाअध्यक्ष मोतिप्रसाद कंडेलको अध्यक्षतामा भएको भएको कार्यक्रमको सहजिकरण रेखा केसीले गरेकी थिइन ।
















