भाद्र २४ देखि ‘डोल्पो महोत्सव’ हुने
सुर्खेत ।
यही भाद्र २४ गतेदेखि २८ गतेसम्म डोल्पा जिल्लामा ‘डोल्पो महोत्सव’ संचालन हुने भएको छ । मूल नारा ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ रहेको उक्त महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले वीरेन्द्रनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त महोत्सवले नेपाल सरकारको आयोजनामा हुने ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानसँग साझेदार बन्नका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक ग्याल्पो थापा भोटेले जानकारी दिए ।
समग्र डोल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, शताब्दीऔं पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरुको संरक्षण गर्ने, डोल्पो क्षेत्रमा भएका समस्याहरुको उजागर गरि समाधान तथा दीगो विकासका लागि पहल गर्ने जस्ता उद्देश्यहरु राखेर महोत्सवको आयोजना गरिएको बताइएको छ ।
नेपाल सरकारका रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने, विभिन्न मुखौटा नृत्य, बृत्तचित्रहरुको प्रर्दशनी, स्थानीय कला, संस्कृतिको प्रदर्शनी, घोडा दौड, विभिन्न वन्यजन्तु हेर्नका लागि धो बाट पैदलयात्रा, अन्तरविद्यालय स्तरीय अतिरिक्त क्रियाकलापका प्रतियोगीताहरु संचालन हुनेछन् ।
डोल्पामा भदौँ २४ देखि २८ सम्म आयोजना हुने डोल्पो महोत्सव आयोजनाका लागि पूर्वाधारको अभाव देखिएको छ । समुन्द्र सतहबाट १,५२५ देखि ७,६२५ मिटरको उचाईंमा रहेको डोल्पा जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आयोजित डोल्पो महोत्सवलाई मुख्य रुपमा पूर्वाधारको समस्या छ । डोल्पाको डोल्पो बुद्व गाउँपालिकाको धो–तराप बस्ती र छार्का–भोट बस्तीमा आयोजना गर्न लागिएको महोत्सवमा पर्यटकहरुका लागि खाने, बस्नेलगायतका पूर्वाधारको कमि भएको हो । सडक, सञ्चार तथा वासस्थानलगायतको उचित व्यवस्था हुन नसक्दा डोल्पालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कठिनाई देखिएको छ । डोल्पामा टेलिफोन, मोबाइल, इन्टरनेट सेवाको पनि अभाव छ । हवाई सेवा तथा सडक यातायातमार्फत डोल्पाको दुनै पुगेपछि १८ घण्टा भन्दा बढि पैदल हिडेर महोत्सव पुग्न सकिन्छ ।
धो–तरापबाट तिन्जे भ्याली र किल्ला हेर्न जानेलाई मोटरसाइकलको व्यवस्था, दुनैबाट धो सम्म र धोबाट मरिम्लासम्म हेलिकप्टरबाट भ्रमण सुविधाको व्यवस्था गरिएको मुल आयोजक समितिका संयोजक भोटेले जानकारी दिएका छन् । आन्तरिक तथा वाह्य पर्यटन गरी १५ सयदेखि दुई हजार जनाले महोत्सव अवलोकन गर्नुका साथै करिब एक करोड ६७ लाख ७५ हजार रुपैयाँ खर्च हुने उनले बताएको छ । पूर्वाधार विकास र यातायातको सुविधा नभएका कारण बढी खर्च लाग्ने आयोजकको भनाई छ ।






