निःशुल्क स्वास्थ्य शिविरमा साढे चार सयले लिए सेवा
सुर्खेत ।
सुर्खेत स्थित सबै लायन्स क्लब र उद्योग बाणिज्य संघ सुर्खेतको आयोजना तथा काठमाडौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. र अल्का अस्पताल प्रा.लि. ललितपुर, कर्णाली प्रदेश अस्पताल तथा शुभकामना पोली क्लिनिक मेडिकल एशोसियसनको प्राविधिक सहयोगमा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा साढे चार सय जनाले सेवा लिएका छन् ।
यही असोज १० र ११ गते सुर्खेत उद्योग बाणिज्य संघमा विहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन भएको उक्त शिविरमा सुगर, प्रेसर र थाइराइड सम्बन्धि स्वास्थ्य जाँच गरिएको थियो । कतिपय विरामीहरु पहिले देखि नै औषधी सेवन गरिरहेका कारण उनीहरुलाई सोही औषधीमा निरन्तरता दिने सल्लाह दिइएको छ भने कतिपयलाई १० दिनका लागि निःशुल्क औषधी वितरण गरिएको छ ।
पहिलो चरणको स्वास्थ्य जाँचका लागि ब्लड दिएका तर रिपोर्ट आइ नसकेकाहरुका लागि शुभकामना पोलिक्लिनिकले निःशुल्क रिपोर्ट हेरिदिने बताइएको छ ।
मधुमेह, थाइराइड तथा हर्मोन सम्बन्धि समस्या भएका विरामीहरु मात्र शिविरमा सहभागी हुन पाउने भएकोले पनि शिविरमा थोरै संख्यामा विरामीहरु आएको आंकलन गरिएको छ । मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. अंशुमाली जोशी, डा. सञ्जीव भण्डारी, डा. टेकराज भट्टाराई, डा. लोकन्द्र थापा र डा. यामबहादुर शर्माले स्वास्थ्य परीक्षण गरेको थिए ।






