पत्रकार शर्माको सम्झनामा श्रद्धाञ्जली सभा
सुर्खेत ।
बोनाम्यारो रोगका कारण ज्यान गुमाएका पत्रकार महासंघ सुर्खेत शाखाका साधारण सदस्य पत्रकार स्व. डिलप्रकाश शर्माको ११ औं पुग्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना उनी स्व. शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार शर्माले आफ्नो जीवनकालको छोटो समयमा नै पत्रकारिता क्षेत्रमा उल्लेख्य काम गर्न सकेको बताए । एउटा असल पत्रकार गुमाएकोमा सिंगो महासंघ नै स्तब्ध भएको बताउँदै सेजुवालले भने, ‘शर्माको समाचार लेखन कार्य निक्कै सन्तुलन थियो । त्यसलाई हामी सबैले अनुशरण गर्न सक्नुपर्छ ।’ आर्थिक अभाव भन्दा पनि शर्माको उपचारमा ढिलाई भएको कारण उनले ज्यान गुमाउनु परेको थियो । बोनम्यारोको प्रत्यारोपण गर्ने नेपालमा एक मात्र सिभिल अस्पताल छ ।
शर्माले लिएको लक्ष्यलाई पूरा गर्न सके मात्र उनी प्रति सच्चा श्रद्धाञ्जली हुने बताउँदै पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले पत्रकारको हक हित र विमालाई व्यस्थित गर्न सरकारसँग पहल भइरहेको बताए ।
सबैले सहयोग गरेपनि पत्रकार शर्मालाई बचाउन नसकेकोमा दुःखी भएको बताउँदै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले पत्रकार शर्माले असल आचारणले गर्दा पनि धेरै मान्छे दुःखी भएका बताए । उनले भने, ‘केही महिना अगाडि ज्यान गुमाएका पत्रकार नन्दु गेलाङ र भरखरै उपचारको क्रममा ज्यान गुमाएका पत्रकार शर्मालाई सदा सम्झिरहने व्यवस्थापन गर्नका लागि दीर्घकालिन योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।






