Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणमा नागरिकको महत्वपुर्ण भुमिका हुने

सुर्खेत ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा पुस १५ गते (आज) वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवअधिकारको अवस्थाका बारेमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका सहभागीहरूले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरण गर्नमा सचेतनामुलक कार्यक्रमका साथै राज्य संगसंगै नागरिकको समेत महत्वपूर्ण भुमिका रहनेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका अध्यक्ष तथा कर्णाली प्रदेशका सांसद राजु नेपालीले प्रदेश सरकारले हाल सम्म २९ ओटा कानुन निर्माण गरेको जानकारी दिँदै नागरिकले अपनत्व लिनेगरी कानुन निर्माणमा प्रदेश सरकार लागिरहेको बताउनु भयो । मानव अधिकार उल्लंघनका घटना न्यूनीकरण गर्नका लागि हरेक नागरिकको महत्वपुर्ण भुमिका रहने बताउँदै सांसद नेपालीले कर्तव्यको पालना गर्नु पनि आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष अनन्तप्रसाद पौडेलले मानव अधिकारको बारेमा क्रियाशिल मानव अधिकारकर्मी समेत विभिन्न घटनामा पीडित बन्ने गरेको बताउादै अरूको अधिकारका बारेमा आवाज उठाउने पक्षले आफ्नो सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लाल बहादुर नेपालीले घटना हुन नदिन तर्फ सजग भए मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना न्यूनीकरण हुँदै जाने बताउँदै कर्तव्यलाई बिर्सेर अधिकारलाई मात्रै प्राथमिकता दिँदा पनि मानव अधिकार उल्लंघन हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले इन्सेकले प्रकाशन गर्ने प्रतिवेदनले मानव अधिकार उल्लंघनकाको अवस्था देखाउनुका साथै पत्रकारलाई पनि समाचारका लागि तथ्य जुटाउने गरेको बताउनु भयो ।

उच्च बार इकाइका अध्यक्ष उत्तमप्रसाद आचार्यले घटना संकलन संगसंगै इन्सेकले जनचेतनामुलक कार्यक्रम पनि ग्रामिणस्तरमा सञ्चालन गर्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा एकवर्षमा इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

इन्सेकको अभिलेख अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सन् २०१९ जनवरीदेखि हालसम्मको अवधिमा ४ सय ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएकोमा गैरराज्य पक्षबाट ४ सय ६ र राज्य पक्षबाट ५६ ओटा घटना भएको संयोजक सुवेदीले जानकारी दिनुभयो । राज्य पक्षबाट पाँच जना महिला र ६९ जना पुरूष गरी ७४ जना व्यक्ति र गैरराज्य पक्षबाट भएका घटनामा ८० जना पुरूष र ३ सय ३४ जना महिला पीडित भएको संयोजक सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, अधिकारकर्मी, पत्रकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।