मूठीदान लिएर आश्रमलाई सहयोग गर्न अघि बढ्नुहोस् : वडाअध्यक्ष कंडेल
सुर्खेत ।
आफूले खाना खानबाट बचाएर मुठीदान लिएर मानव सेवा आश्रमलाई सहयोग गर्न अघि बढ्न वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतिप्रसाद कंडेलले आग्रह गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ मा रहेको मानव सेवा आश्रमलाई विभिन्न सामग्रीहरुको हस्तान्तरण गर्दै वडा अध्यक्ष कंडेलले यस्तो बताउनु भएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष कंडेलले भने, ‘मानव सेवा आश्रमको लागि मुठीदान गर्न तयार हुनुहोस् । कर्णालीको राजधानी सुर्खेतका सडकमा फरक क्षमता रहेको मानवहरु रहित बनाउनका लागि मानव सेवा आश्रम उपयुक्त विकल्पको रुपमा रहेको छ । त्यसैले यसलाई अझ प्रभावकारी बनाउनका लागि सबैको हातेमालो हुनु जरुरी छ ।’
राम्रोलाई लिने र अप्ठ्यारोमा परेकालाई छोडिदिने संस्कृतिको अन्त्य नभएसम्म सडक मानवरहित हुन गाह्रो भउको बताउँदै वडाअध्यक्ष कंडेलले फरक क्षमता रहेका मानवहरुको सेवा गर्नु निकै चुनौति रहेको भएपनि व्यवस्थित रुपमा मानव सेवा आश्रमको संचालन गरेकोमा संचालकहरुलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गरेको सहयोग आफैमा पर्याप्त छैन तरपनि यो हातेमालो हो यसबाट अरुहरुले पनि सिक्न जरुरी छ । आश्रमका आवश्यकताहरुलाई केही हदसम्म सहयोग पुगोस् भन्ने हेतुले वडा कार्यालयको तर्फबाट सहयोग गरेका छौं ।’
बाटो, कुलो, पानी मात्र विकास नभएको बताउँदै मानविय सेवा पनि विकास भएकोले आगामी बजेटमा शीर्षक नै छुट्याएर सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।
सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति सुर्खेतका सदस्य पूर्णाकुमारी चालिसेले ६ नं. वडाले मात्र होइन सम्पूर्ण जिल्लावासीले सहयोगष् गर्नै आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा १२ नं. वडाका वडा अध्यक्ष लोकप्रसाद चालिसेले धर्म कमाउनका लागि मानव सेवा आश्रममा सहयोग गरे पुग्ने भएकोले सबै उदारमन भएकाहरुलाई सहयोग गर्न आग्रह गर्दै वडा नं. ६ ले गरेको कार्यप्रति वडा परिवारलाई आभार व्यक्त गर्नुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा ६ नं. वडाका वडासदस्य उपेन्द्र खड्काले आउँदा दिनहरुमा पनि वडाको तर्फबाट सहयोग गर्ने बताउनु भयो । वडा सदस्य कमला नेपालीले मानव सेवा आश्रममा रहेका विभिन्न प्रकृतिका व्यक्तिहरुको सहयोगार्थ सबैले पहलकदमी चाल्नु पर्ने बताउनु भयो ।

वडा नं. ६ को सहयोगमा चामल १ सय २५ केजी, दाल ५० केजी, तेल ३ पेटी, चिनी १० केजी, चियापत्ति १ केजी, नून १० केजी, बेसार २ केजी, खुर्सानी १ केजी, जिरा १ केजी, धनियाँ २ केजी, लुगाधुने सावुन ३ पेटी, नुहाउने सावुन १ पेटी, कुचो ५० वटा, हार्पिक ५० लिटर र फिनायल ५० लिटर गरि ५० हजार बराबरको समान हस्तान्तरण गरिएको थियो ।
हाल ४३ जना मानवहरु आश्रित रहेको उक्त आश्रमका सुर्खेत जिल्ला संयोजक संजीता गौतमले सबैको साथ र सहयोगले आश्रम संचालन भइरहेको बताउनु भयो । वडा सचिव उत्तम अधिकारी कार्यक्रम वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलको अध्यक्षतामा भएको थियो सहजीकरण रेखा केसीले गर्नुभएको थियो ।








