बेसहाराको सहाराः मानवसेवा आश्रम
सुर्खेत ।
यस पृथ्वीमा मानवको विकासक्रमसँगै विभिन्न क्रियाकलापहरु गर्दै आएको मानिसले अरुका लागि भन्दा पनि आफ्ना लागि धेरै कार्यहरु गर्ने गर्दछन् । जसले आफ्ना लागि भन्दा पनि अरुका लागि केही गर्न सक्छ ऊ नै समाजसेवी कहलाउँछ । विशेष गरि दीनदुःखीहरुको सेवा गर्नु नै महान कार्य हो भन्नेहरु समाजमा धेरै भेटिएलान् तर दीनदुःखीहरुको लागि काम गर्नेहरु भने कमै भेटिन्छन् समाजमा । अझ विशेष क्षमता राख्ने मानसिक र शारीरिक रोगीहरुको सेवा गर्नु भनेको त साँच्चिकै महान कार्य गर्नु हो । मानसिक रोगका कारण समस्यामा परेका आफ्नै परिवारको सदस्यलाई सेवा गर्न कति गा¥हो हुन्छ ? एकपटक कल्पना गरौं । अझ समाजमा भएका त्यस्ता मानवहरुको सेवा गर्नु कति गा¥हो हुन्छ भन्ने कुराको आंकलन गर्नै सकिँदैन ।

मानसिक रोगका समस्यामा परेकाहरुले शहर र सडक मात्र नभई गाउँमा समेत विभिन्न कष्टहरु भोगिरहेका छन् । घर परिवारबाटै स्याहार सुसार पाउन नसकेका कारण खुला आकाशमुनी रात विताउन बाध्य घरबार विहिन, वेसाहारा असहायहरु जीवन नै जोखिममा रहेका सहयोगापेक्षी, सडक आश्रित मानवहरुलाई एकै स्थानमा राखेर सेवा गर्ने र नेपाललाई त्यस्ता मानवहरु रहित राष्ट्रको रुपमा विकसित गर्ने कार्यमा लागेको छ, मानवसेवा आश्रम ।
नेपालका सातवटै प्रदेशहरुमा प्रदेश कार्यालयको स्थापना गरेर कोही पनि व्यक्तिहरु घरपरिवार तथा समाजबाट परित्यक्त भई सडकमा आउन नपर्ने अवस्थाको निर्माण गर्न निरन्तर असल, चरित्रवान, संस्कारित नागरिक निर्माणका लागि उत्प्रेरणात्मक, जनचेतनामूलक एवम् परिणाममुखी रचनात्मक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आइरहेको यस आश्रमले कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ मा मानवसेवा आश्रम संचालन गरिरहेको छ । वि.सं. २०८२ सालभित्र शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रहेकाहरुको व्यवस्थापन गरेर सडक आश्रित मानवरहित प्रदेशको निर्माणमा अघि बढिरहेको मानव सेवा आश्रमका संयोजक श्रृजना ओलीले सूक्ष्मदृष्टिलाई बताइन् ।

बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवहरुको अवस्था अध्ययन तथा विवरण संकलन गर्ने, उद्धार, औषधोपचार एवम् पालनपोषण गर्ने, मनोचिकित्सकीय सेवा प्रदान गर्ने, जिविकोपार्जन सम्बन्धि तालिम संचालन गर्ने, पारिवारिक पुनर्मिलन गराउने, पारिवारिक परामर्श दिने, पारिवारिक पुर्नस्थापना हुन नसकेका बेसहाराहरुको दीर्घकालिन संरक्षण गर्ने, सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम एवम् मानवता प्रवद्र्धनका लागि उत्प्रेरणात्मक तालिमहरु संचालन गर्दै आइरहेको मानव सेवा आश्रमले गरेका कार्यहरु अत्यन्तै स्रहानीय रहेको बताउँछन् वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेल ।
उक्त मानवसेवा आश्रमले अहिलेसम्म गोरखा नगरपालिकालाई २०७४ चैत्र ५ गते सहयोगापेक्षी बेसहारा सडकमानव मुक्त घोषणा गरिसकेको छ भने काठमाडौंस्थित पशुपति क्षेत्र परिषरलाई २०७४ चैत्र २० गते घोषणा गरिसकेको छ । यसैगरि हेटौडा उप महानगरपालिकाको वडा नं. ९ लाई २०७५ मंसिर ७ मा, मकवानपुर जिल्लालाई २०७५ फागुन ४ मा, बाग्लुङ कालिका मन्दिर परिषरलाई २०७६ साउन २१ मा, पाल्पा तिनाउ स्थित सिद्धबाबा मन्दिर क्षेत्र र बुटवल वडा नं. ३ स्थित सिद्धबाबा धाम क्षेत्रलाई २०७६ असोज २७ गते र भरतपुर महानगरपालिकालाई २०७६ कार्तिक ९ गते घोषणा गरिसकेको छ भने बुटवल उप महानगरपालिकालाई २०७६ पौष ५ गते सडक मानवरहित घोषणा गरिसकेको छ ।

नेपालका १४ वटा जिल्लाहरुमा संचालन भइरहेको मानव सेवा आश्रमले १७ वटा केन्द्रहरुबाट सेवा प्रदान गर्दैै आइरहेको छ । आश्रमका विभिन्न शाखाहरुमा संरक्षणमा रहेका सहयोगापेक्षीहरुको संख्या करिब १२०० रहेकोमा सुर्खेतमा रहेको आश्रममा ४३ जना रहेको आश्रमकी संयोजक ओलीको भनाई छ । हालसम्म ७०० जना यस्ता मानवहरुलाई सुधार पश्चात पारिवारिक पुनर्मिलन गराइसकेको छ । मानवसेवा आश्रममा अल्पकालिन सेवा लिएका व्यक्तिहरुको संख्या भने २५० रहेको आश्रमले जनाएको छ ।

भोजन सेवा, नगद तथा जिन्सी सहयोग उपलब्ध गराएर, जन्मदिन, विवाह वर्षगाँठ, पितृहरुको पुण्यतिथि, संस्थाको वार्षिकोत्सव, पदोन्नती, पर्व लगायत विभिन्न अवसरहरुमा आफ्नो इच्छा अनुसारको सहयोग उपलब्ध गराएर, बेसहाराको अभिभावक कार्यक्रम अन्तर्गत एक जना बेसहाराको लागि लाग्ने मासिक खर्च योगदान गरि बेसहाराको अभिभावक बनेर, मासिक सहयोगी सदस्यता लिई मासिक रुपमा आफ्नो इच्छा अनुसारको नगद तथा जिन्सी सामग्री सहयोग गरेर, भवन तथा संरचना निर्माणका लागि सामग्री तथा नगद सहयोग उपलब्ध गराएर आश्रमलाई सहयोग गर्न सकिने आश्रमले जनाएको छ ।
सहयोगापेक्षी सडक मानवरहित कर्णाली प्रदेश घोषणा भोली
सामाजिक मन्त्रालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका र मानवसेवा आश्रमबीच २०७५ पौष १० मा भएको औपचारिक निर्णय अनुसार तीन वटै संस्थाको सहकार्यमा भोली अर्थात माघ ४ गते कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव रहित कर्णाली प्रदेश घोषणा गरिँदैछ । जसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत सहयोग गरिरहेको छ । संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेका अधिकारहरुको प्रत्याभूति गराउने हेतुले विभिन्न कारणले बेसहारा भई सडकमै जीवन विताउन विवश सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापनको लागि सहयोगापेक्षी मसडक मानवरहित प्रदेशको रुपमा कर्णाली प्रदेशलाई घोषणा गर्न लागिएको हो । यस सम्बन्धमा कर्णाली प्रदेशको मन्त्री परिषदले २०७६ पौष ८ गतेको बैठकमा समेत निर्णय गरिसकेको छ । राती खुला आकाशमुनि चिसोले कठ्याङ्ग्रिएर जीवन विताउनु पर्ने अवस्थाका अन्त्य गर्न, एकसरो कपडा र एक छाक भोजनको लागि मागेर गुजारा चलाउनु पर्ने बाध्यताको अन्त्य गर्न, सभ्य, सुसंस्कृत एवम् मानवीय संवेदन सहितको समाज निर्माण गर्नलगायतका कार्यहरुमा सफलता प्राप्त गर्नका लागि यो घोषणा गर्न लागिएको सामाजिक मन्त्रालयले जनाएको छ ।
के अब कसैले पनि खुला आकाशमुनी रात बिताउनु पर्दैन ?
सबैका लागि खाना, नाना, र छानाका साथै औषधोपचारको समेत व्यवस्था गर्ने गरि यस अभियानको शुभारम्भ गरिएको जनाइएको छ । यस अभियान पश्चात बाध्यात्मक रुपमा कसैले पनि सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नु पर्ने छैन भन्ने सामाजिक विकास मन्त्रालयको भनाई छ । अर्कोतर्फ कर्णाली प्रदेशमा सहयोगापेक्षी सडक मानवको संख्या न्यून रहेको र भएकाहरुलाई मानवोचित व्यवस्थापन मानवसेवा आश्रमले गर्दै आइरहेको छ । अभिभावक विहिन बालबालिकाहरुको लागि यथोचित पुनस्र्थापना गरि शिक्षा दिक्षाको व्यवस्था गरिने भएकोले पनि खुला आकाशमुनी रात बिताउनु नपर्ने अभियानमा संलग्नहरुले बताएका छन् ।
मानवसेवा आश्रमसँग समन्वय गरि आफ्नो कार्य क्षेत्र भित्र रहेका त्यस्ता सहयोगापेक्षी मानवहरुको व्यवस्थापन गर्न स्थानीय सरकारलाई पनि सामाजिक विकास मन्त्रालयले आग्रह गरेको छ । जसका कारण पनि अभियानले सफलता पाउने मानवसेवा आश्रमका संयोजक श्रृजना ओलीको भनाई छ । घोषणामा मात्र सिमित नहोस् अभियानले पूर्णता पनि पाओस् ।


नोट : यसमा प्रकाशित केही तस्वीरहरु मानवसेवा आश्रमको फेसबुकबाट लिइएको हो ।






