Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

क्यानको घोषणा : कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति

सुर्खेत, २४ असार ।
कम्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले कर्णाली प्रदेशका सात जना विद्यार्थीलाई सूचना प्रविधि विषय (आईटी) पढ्न छात्रवृत्ति दिने भएको छ । क्यानले सूचना प्रविधिमा विद्यार्थी आकर्षण बढाउन गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति घोषणा गरेको हो । लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा क्यानले सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रत्येक प्रदेशका एक छात्रालाई पूर्ण र ६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्न लागिएको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिए ।

सबै जिल्लास्तरमा छनोट समितिबाट सिफारिस भएका विद्यार्थीहरुलाई प्रदेशलाई पठाउने र त्यसमा पनि उत्कृष्टलाई प्रदेशले संघमार्फत छनोट गर्ने छ । छनोट प्रक्रिया पारदर्शी रुपमा हुने भन्दै मुख्यगरी छात्रवृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरिएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले बताए । उनका अनुसार छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बद्ध एकजुकेसन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आइटीको अध्ययन गर्न पाउने छन् ।

छात्रवृत्तिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात सो सरह उत्तिर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । साथै कक्षा दशको गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीइभिटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीले पनि आवेदन दिन सक्ने क्यानले जनाएको छ । कक्षा १२ को परीक्षा दिई बसेका विद्यार्थीले समेत आवेदन दिन पाउनेछन् । छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको जिल्ला शाखा तथा महासंघको वेबसाइट धधध।अबल।यचन।लउ बाट आवेदन दिन सक्ने बताइएको छ ।

आवेदन दिन इच्छुक विद्यार्थीले नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, फोटो, कक्षा १० र १२ को मार्क्सिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेश गर्नुपर्ने छ । क्यानले आफ्नो रजत वर्षको अवसरमा विद्यार्थीका लागि ‘क्यान नेसनल आईसीटी स्कलरसीप–२०७५’ सुरुवात गरेको हो । आवेदन दिँदा फोटो, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपी, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिस पत्र पेश अनिवार्य गरिएको छ ।

पत्रकार सम्मेलनमा क्यान महासंघका पूर्वमहासचिव, प्याब्सन उपाध्यक्ष नवराज गुरुङ्ग, सल्लाहकार सीताराम कार्की, विभिन्न विद्यालयका विद्यार्थी एवम् अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान महासंघ कर्णाली प्रदेशका सहसचिव खगेन्द्र पुलामीले गरेका थिए ।