Loading... आजः २६ श्रावण २०८३, मंगलवार । Tuesday 11th August 2026

कृषिमा दिगो लगानी नभएसम्म देश समृद्ध हुदैन्– मन्त्री चौधरी

कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषिमा दिगो लगानी नभएसम्म देश समृद्ध बन्न नसक्ने बताउनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीमा निर्माण भएको माटो प्रयोगशालाको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “कृषिको उत्पादन र उत्पादकत्व वृद्धिका लागि राज्यले यस क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्दछ ।”

मन्त्री चौधरीले अहिलेसम्म नेपालमा पुरानै प्रविधिबाट कृषि कर्म हुने भएकाले यसलाई सुधार गर्न सरकार लागिपरेको चर्चा गर्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न यस क्षेत्रको आधुनिकीरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि क्षेत्रको आधुनिकीरण र यान्त्रिकीकरणमा राज्यले विशेष जोड दिएको उल्लेख गर्दै उहाँले अबको दश वर्षमा नेपालले कृषिजन्य उपज विदेशमासमेत निर्यात गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले किसानको जिवनस्तर माथि उकास्नका लागि सरकारले कृषि क्षेत्रको दिगो विकासका लागि गम्भीर भएर लागेको बताउँदै किसानलाई आर्थिक रुपमा सम्पन्न बनाएपछि मात्र मुलुक आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषि क्षेत्रको व्यवस्थित विकास र किसानका समस्या स्थानीयस्तरमै समाधान गर्न सरकारले ‘एक गाउँ एक प्राविधिक’ को व्यवस्था यसै वर्षबाट गरिने पनि उहाँले बताउनुभयो ।

कृषि विकास राज्यमन्त्री राधिका तामाङले नेपाल कृषि प्रधान देश भएपनि यस क्षेत्रको विकासका लागि राज्यले उचित लगानी गर्न नसकेको बताउँदै कृषिमा उचित लगानी गर्न नसक्दा युवा शक्ति विदेश पलाएन हुन बाध्य भएको छ भन्नुभयो । रासस