पूर्वाधार र पाठ्यक्रम भए विदेशी विद्यार्थी ल्याउने
काठमाडौं । शैक्षिक परामर्श ब्यवसायलाई मर्यादित बनाउन सरकारले ब्यवसायीसँग मिलेर जानुपर्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् ।
आज राजधानी स्थित पुतलिसडकमा राइट पाथ करियर काउन्सेलिङको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले सरकारले शैक्षिक परामर्श ब्यवसालाई मेनपावरको जस्तो ब्यवहार गरिरहेको अवस्थामा शैक्षिक परामर्श ब्यवसायीले पनि मर्यादित भएर ब्यवसाय सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पाण्डेले पर्याप्त जानकारी राखेर विद्यार्थीहरुलाई विस्वसनिय ढंगले परामर्श दिनुपर्नेमा जोड दिए ।
उनले आफुहरुलाई मान्छे बाहिर पठाउने आरोप लगाईरहँदा यदि देशमा राम्रो शैक्षिक पूर्वाधार सहित उच्चस्तरीय पाठ्यक्रम भए बाहिरबाट समेत विद्यार्थी ल्याउन पहल गर्ने बताए । यसका लागि राज्यले नीजि क्षेत्रसँग सहकार्य गरेर उचित नीति नियम बनाउनु पर्ने औल्याए ।
कार्यक्रमका विशेष अतिथि इक्यानका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले देशको विकास गर्ने हो भने पहिला गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । विदेशमा उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई स्वदेश भित्र्याएर उनिहरुलाई देश विकासमा लगाउन राज्यले पहल गर्नुपर्ने औंल्याए ।
राईट पाथ करियर काउन्सेलिङको उद्घाटन कार्यक्रममा बोल्दै सेजनका अध्यक्ष विज्ञान अधिकारीले कन्सल्टेन्सी ब्यवसायीहरुले विदेशमा विद्यार्थी पठाईरहँदा स्वदेशमा पनि गुणस्तरीय शिक्षा दिनका लागि शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
कार्यक्रममा युवा कवि उत्तम लिम्बु, इन्द्रजित शर्मा चौलागाईले कविता तथा गजल प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा इक्यानका महासचिव सन्तोष प्याकूरेल, प्रथम सचिव देवीदास भट्टराई, केन्द्रिय सदस्य पुष्प भट्टराई, दिपकराज भुसाल लगायत शिक्षा क्षेत्रका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको छ ।
करिब ९ वर्ष बेलायतको लण्डनमा रहेर उच्च शिक्षा हासिल गरेका युवा फिलिप डिसीले सञ्चालन गरेको कन्सल्टेन्सीबाट उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीका लागि करियर काउन्सेलिङ गर्ने गरिन्छ । कन्सल्टेन्सीका अध्यक्ष फिलिप डिसीले आफुले विदेशमा रहेर सिकेको ज्ञान, सिप र अनुभव विद्यार्थीलाई शेयर गर्दै उनिहरुलाई सहि काउन्सेलिङ गर्ने बताए ।
कन्सल्टेन्सीबाट अष्ट्रेलिया, बेलायत, न्युजलेण्ड, अमेरिका, क्यानडा, लात्भिया तथा भारतका लागि विज्ञ तथा मान्यता प्राप्त काउन्सलरबाट काउन्सेलिङ गरिने छ । यसका साथै TOFEL, IELTS, NAT, SAT जस्ता विषयका तयारी कक्षा समेत सञ्चालन गरिने छ ।









