Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

१०६ वर्षीया हजुरआमाले गरिन् ६६ वर्षीय हजुरबासँग इन्गेजमेन्ट

खाने मुखलाई जुंगाले छेक्दैन । विवाह गर्नलाई पनि उमेरले रोक्दैन । ब्राजिलकी १०६ वर्षीया बृद्धा भाल्देमिरा रोडि्रगेज डे ओलिभेराले यही तथ्यलाई प्रमाणित गरिदिएकी छिन् ।

भाल्देमिराले आफ्ना ६६ वर्षीय प्रेमी एपारेसिडो डायस ज्याकोबसँग केही दिनअघि इन्गेजमेन्ट गरिन् । जबकि उनलाई डाक्टरले यो उमेरमा बिहे नगर्न सल्लाह दिएका छन् ।

 

संयुक्त उमेर १७२ वर्ष भएको यो जोडी पिरासुनुंगास्थित नोस्सा सेनहोरा फातिमा रिटायरमेन्ट होममा अलग-अलग कोठामा बस्थे । तीन वर्षदेखि उनीहरुको लभ परेको थियो । बुढेसकालमा भए पनि यो सम्वन्धलाई नयाँ नाम दिन उनीहरु तयार भए ।

डाक्टरहरुले उमेर र स्वास्थ्यका कारण यो जोडी आफैं बाँच्न नसक्ने भन्दै विवाह नगर्न सुझाव दिएका थिए । तर, ‘प्रोजेक्ट अफ डि्रम्स’ नामक अभियानका स्वयम्सेवीहरुले आयोजना गरेको सानो समारोहमा उनीहरुले औंठी साटासाट गरे ।

स्वयमसेवी फाबियन जाफालोनले भने, ‘उहाँहरुले विवाह गर्न सक्नुहुन्न भनेर हामीले उहाँहरुको सपनालाई साकार तुल्याउने नयाँ बाटो पहिल्यायौं र रिटायरमेन्ट होममा ईंगेजमेन्ट समारोह आयोजना गर्‍यौं ।’

ब्राजिलमा इन्गेजमेन्टको औंठी दायाँ हातको माझी औंलामा लगाइन्छ भने बिहे भएपछि त्यही औंठीलाई बायाँ हातको साइली औंलामा सारिन्छ ।
आफ्नो भावी श्रीमानको विषयमा भाल्देमिराले भनिन्, ‘म उहाँलाई गहिरो प्रेम गर्छु । उहाँसँग छुट्टएिर बाँच्न सक्दिनँ । उहाँ मर्नुभयो भने म पनि मर्नेछु ।’

प्रोजेक्टका आयोजकहरुले उक्त केयर सेन्टरमा रहेका ४० जनालाई यतिबेला तपाईंलाई के कुराले सबैभन्दा बेसी खुशी बनाउँछ भनेर सोधेका थिए । भाल्दा र ज्याको (बोलाउने नाम) ले अलग-अलग तर, एउटै सपना बताए । उनीहरु विवाह गर्न र छुट्टै घरमा सँगै बस्न चाहन्थे । तर, डाक्टरहरुले यो जोडी छुट्टै बस्न नहुने चेतावनी दिएका थिए ।

फाबियान भन्छन्, ‘त्यसैले हामीले भाल्दा र ज्याकोको आकांक्षा पूर्ति गर्नका लागि एउटा विशेषखालको इन्गेजमेन्ट पार्टी आयोजना गर्ने निर्णय गर्‍यौं, जहाँ उहाँहरु दुवैले एक-अर्काप्रतिको प्रेमलाई औपचारिकता दिन सक्नुहोस् ।’

यो जोडीको पहिलो भेट २०१४ मा सोही केयर सेन्टरमा भएको थियो । उनीहरुबीच पहिलो नजरमै माया बस्यो । ज्याकको एउटा हात प्यारालाइसिस भएको थियो । उनी १९ वर्षदेखि थला परेका थिए ।

ज्याको भन्छन्, ‘मैले भाल्दालाई पहिलोपटक देख्दा नै मन पराएको थिएँ । उनी मभन्दा केही बुढी छिन् तर, यसले केही फरक पर्दैन किनकी उनले मलाई सँधै खुशी राख्छिन् ।’

केयर सेन्टरमा यो जोडी एक छिन पनि छुट्टदिैनन् । सँगै खाना खान्छन्, बात मार्छन् । भाल्दा भन्छिन्, ‘यो हुन सक्दैन तर, म सँधै सोच्छु कि मैले एउटी श्रीमतीले जसरी ज्याकोको लुगा धुन, उनको लागि खाना पकाउन र सबै हेरविचार गर्न सक्ने भए कति राम्रो हुनेथियो ।’

दुवैको जीवनमा यो पहिलो विवाह हो । भाल्दाका सबै आफन्तहरुको मृत्यू भइसकेको छ भने ज्याको पनि उनका आफन्तहरुबाट टाढा भएका छन् ।

इन्गेजमेन्ट समारोहमा आमन्त्रित १५० पाहुनामाझ एक अर्कालाई साथ दिने प्रण गरेपछि यी जोडीले गहिरो चुम्बन साटासाट गरेका थिए । समारोहमा ज्याक सुट र टाइमा ठाँटिएका थिए भने भाल्दाले गलामा हार र हातमा नेलपोलिसका साथ लिपिस्टिक र गाजलसमेत लगाएकी थिइन् ।