Loading... आजः ६ जेष्ठ २०८१, आईतवार । Sunday 19th May 2024

जकपुरमा वामदेव ७ घण्टा थुनिए

गोविन्द महतो जनकपुर :

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष वामदेव गौतम बुधबार करिब ७ घण्टा जनकपुरस्थित एउटै घरमा थुनिएर बस्नु पर्‍यो। सो घर थियो एमाले नेता रघुवीर महासेठको। सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि आन्दोलित बनेका मधेसी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै उपाध्यक्ष गौतम बसेको घर घेराउ गरेका गरेका हुन्। त्यसक्रममा ढुंगामुढासमेत भयो।

मोटरसाइकल र्‍यालीसहित महासेठको घर अगाडि पुगेका मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि एमाले कर्याकर्ताहरुले प्रतिकार गरेका थिए। त्यसक्रममा दुई पक्षबीच केहीबेर झडप भयो।  झडपमा दुवैतर्फका केही घाइते भएका छन्। घाइते हुनेहरुमा प्रतिकारमा उत्रिनेतर्फ नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शीतल साह र लालबाबु लोहारी तथा मोर्चाका कार्यकताहरु कुलदिप महतो र राजु साह रहेका छन्।

उनीहरु जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। मोर्चाका कार्यकर्ताको ढुंगामुढाबाट घरको शिशा फुटेको छ। बिहानैदेखि घरमै रोकिएका नेता गौतमलाई दिउँसो प्रहरीले सुरक्षितरुपमा विमानस्थल पुर्‍याएको थियो। उनी अहिले काठमाडौं फर्किसकेका छन्।

स्रोत : थाह खबर