Loading... आजः २५ कार्तिक २०८२, सोमबार । Monday 10th November 2025
ताजा खबर
  

अभागी कर्म – कथा

केही वर्ष अगाडिको कुरा हो । ठकुरी रामप्रसादले आफ्नी बिरामी परेर पल्टिरहेकी श्रीमती अनुषाको शिरमा हात राखेर भने —“सानु तिमीलाई कस्तो छ ?”अनुषाले गहभरी आँसु लिएर जवाफ दिइन् –“कस्तो हुन्थ्यो ,अब वियोग हुने बेलाको समय आउन थाल्यो
बाबा !”
फेरि एकछिन पछि दुई हात जोडेर भनिन् “ हजुर के —के न गरिदिउँला भनेको थिए, मेरो यो हालत भो ! मेरो एउटा कोखीको घाउ निसान छ , त्यस अनाथ बालक माथि दया गर्नु होला ।”
“हरे त्यो बालक सन्तान माथि मैले माया होइन दया गर्नु अरे मलाई कस्तो निर्दयी देखेको !” भनेर रामप्रसाद मुख छोपेर आँसु झारी रुन लागे । ‘सास छनजेल आश’ रामप्रसादले धामी, झाँक्री, डाक्टर सबैलाई देखाए । धामीले पशुपतीको भाकल गरेको देखायो , डाक्टरले मुटुको खराबी देखायो ,सबैले एक—एक प्रकारका ओखती दिए तर कसैको ओखतीले काम गरेन् । रोग लागेको भएपो ओखती लाग्थ्यो ! कालको ओखती कसले जानेको थियो र लाग्ने ? व्यथाले झन् च्याप्दै ल्यायो ।
अनुषा बोल्न छाडेको दुई दिन भएको थियो । दुवै आँखामा जालो बसेको थियो । शरीरमा हाड–छाला सिवाया अरु केही थिएन । आँखाबाट अविरल आँसुका धारा बगीरहन्थ्यो ।
कसरी भन्नु ! अनुषाको त्यो दीप्तिमय सुन्दर शरीर कङ्काल जस्तो देखिन्थ्यो । बिरामी कुर्ने मानिसहरु बिरामीको वरीपरि बसेका थिए । रामप्रसाद बिरामीका सिराननेर बसेर बेला—बेलामा चमजले दुध ख्वाइरहेका थिए । अनुषा कहिलेकाहीं ओठ मात्र चलाएर बोले जस्तो गर्थिन् तर तिनीले बोलेको भाषा जान्ने व्याक्ति कोही थिएन । उनीका नाडी कहिले हराउँथे, कहिले देखा पर्थे ।शरीर पिजडा जस्तो जर्जर हँुदा पनि किन हो कुन्नी अनुषाको प्राणपखेरु
(सास) अझ उड्न सकेको थिएन ।
बाहुनी बज्यैले बिरामीको लुगा सिहारिदिन लागेकी अनुषाको चोलीको पकेटभित्र सानो एउटा पोको राखेको फेला पारिछन् के रहेछ भनेर झिकेर हेरेको त निसानको दुईवटा मटेङ्ग्रा र एउटा डलर पैसा राखेको रहेछ । त्यतिबेला नै बहाँबाट होे–“हरिले मेलो मटेङ्ग्रा लयो ” भनेर निसान रुँदै आयो । रामप्रसादले काखमा राखेर फकाउन थाले । निसान रोएको सुनेर होकी केले हो अनुषाले अलि पर हात लम्काएर खोजे जस्तो गरिन् । त्यो देखेर पण्डित बाजेले रामप्रसादसंग भने —“ बाबु बिरामी नानीलाई साँचिकै छोराको घिरो रहेको हो , एकपटक सम्झाउन पाए हुन्थ्यो ।”
रामप्रसादले अनुषाको काननेर गएर —“ सानु छोराको ” के भनेका थिए मुटुमा भक्कानु फुटेर आयो । अनुषाको छातिमाथि घोप्टो परेर रुन लागे । बाबु रोएको देखेर निसान पनि रुन थाल्यो । अरु बिरामी कुर्न आएका मानिसहरुले पनि मन थाम्न सकेनन् । सबैको गहभरी आँसु भो एकछिन पछि अनुषाले थरथर कामेर आँखाको नानी घुमाउन थालिन् पण्डित बुढाले –“लौ, लौ बाहिर निकाल्ने बेला भो ” भने । बाहुनी बज्यैले हतपत गरेर बाहिर आँण्गनमा गोवरले पोति दिइन् । एक जनाले जल , तिल छरिदियो ,दुईचार जनाले अनुषालाई भित्रदेखि बाहिर पोतेको ठाउँमा लिएर राखिदिए । रामप्रसादले रुँदै मुखमा सुनपानी हालिदिए । अनि दुई तीन पटक हिक्क – हिक्क गरेर अनुषाले आफ्नो जीवन सदाको लागी समाप्त गरिन् । त्यहाँ बसेका सबै रुन लागे । एक घण्टापछि शव उठाएर घाटमा पु¥याए । केही समयपछि रामप्रसादको त्यो जीवनको अमूल्य सुनको संसार दन्किएर खरानी भो । आखिर सीता जस्ती श्रीमती घाटमा सेलाएर रामप्रसाद खाली हात लिएर घरतिर फर्के ।
अघि राम बाबु मात्र थिए , भने अब उनलाई निष्ठुरी समयले गर्दा आमा हुन पनि बाध्य लगायो । निसानलाई खुवाउनु, पिवाउनु ,सुताउनु देखि लिएर हरेक स्याहार सम्हार गर्नु सबै अभिारा उनैका शिरमा प¥यो । निसान कहिले खाना खान छोड्थ्यो भने कहिले ओछ्यानमा पिसाब गरिदिन्थ्थो । अर्काे दिन बिचरा रामप्रसाद रुँदै बिस्तरा सुकाउँदै गर्थे । आफु भान्सामा खाना पकाउन थाल्थे निसान चाहिँ कुन बेला ,कुन बेला साथीहरुँंग खेल्न पुग्थ्यो । मोटर गाडीले किच्छ भन्ने शङ्काले जगजकी थियो । घरदेखि केही पर सडकमा केटाकेटी रोएको, कराएको सुने भने रामप्रसाद हतपत दौड्दै झ्यालमा आएर हेर्न थाल्थे । कतिबेला निसान र अरुका केटाकेटीहरु दौड्दा दौड्दैको मोटर समातेर झुन्डिन्थे । रामप्रसाद गएर समातेर ल्याउथे ।
घरगृहस्थीको पीर छुट्टै, छोराको पीर छुट्टै विचरा रामप्रसाद कहिले काहीँ सारै उदास हुन्थे । दिउँसो चाहिँ कार्यलय जानु पथ्र्यो , जाँदा निसानलाई पनि आफुसंगै लैजान्थ्ये । एक दिन मुखियाले भने —“रामु छोरालाई यसरी कति दिनसम्म पिठ्यूँमा बोकेर हिड्छौ , तनाव हँुदैन ?” के गर्नु प्रभु ! पापिनीले दुध चुस्दै गरेको बच्चो छोडेर गई ! घरमा राखेर आउँ भने यसलाई हेरफेर गरिदिने कोही छैन ,माया लाग्छ मनले मान्दैन, बोकेर नै हिँड्छु । बीष पिएर मरुँ भने पाप लाग्छ भन्छन्, उस कुन जुनीको दुःख भोगिरहेछु प्रभु !”
पूर्णीमाको दिन निसानलाई छोडेर राम पशुपति जान लागेका थिए । निसान पनि ‘जान्छु’ भनेर रुन लाग्यो । बाहुनी बज्यैले भनिन्– “आ ……लाडे भएको ब्यारे ! यति ठुलो भएर पनि बाबुको बुई चढेर हिँड्न खोज्ने !”
छरछिमेकहरु रामप्रसादलार्इृ बिहे गर्नुपर्छ भनेर कर लगाइृ रहन्थ्ये । रामप्रसादले भन्थे –“एउटा बिहे गर्दा त यो गती भो अर्को बिहे गर्दा कुन गोता पाइने हो । कर्मले नदिएपछि जबर्जस्ती गरेर हुँदैन । एउटा जन्मेको छ हुर्काएर यसको एउटा गोठ बाँधिदिन पाए पुग्यो । नदुखेको कपाल किन डोरी लगाएर दुखाउनु ? ”
पाँच छ वर्ष पछिको कुरा हो । रामप्रसादले अर्को बिहे गरेर ल्याए । गाउँका भलाद्मी साहेबले दिएको भन्ने सुनिन्थ्यो । केटी पनि बढेकी राम्री रहिछिन् ,नाउँ ‘तृष्णा’ भन्थे । छोराको स्याहार गर्ने कोही नहुनाले यस उमेरमा फेरि बिहे गर्नु प¥यो भनेर रामप्रसाद अफसोच गर्थे । तर यो कुरो कतिसम्म सत्य परमेश्वर नै जानून् ।
धेरै दिनसम्म बाबु र आफू मात्र भएको घरमा अचानक एउटा नयाँ महिला आगमन भएको देखेर केही दिन निसानले अचम्म मान्थ्यो । रामप्रसाद तृष्णातिर देखाएर ‘बाबु आमा भन्नु पर्छ ’ भनेर निसानलाई सिकाउँथे । निसानचाहिँ लाज मानेर रामप्रसादको काखमा मुख लुकाउथ्यो । अब कतै जाँदा राम निसानलाई साथमा लिएर हिड्दैनथे , घरमै छोडेर जान्थे बेलुका आउँदा निसान सुतिरहेको हुन्थ्यो । यस उमेरका बालकहरु विशेष खेलमा नै रमाउँछन् । खेल्न पायो भने भोक प्यास केही कुराको वास्ता गर्दैनन् । यस अवस्थामा छोराछोरी खान छोडेर खेल्न जान लागे भने आमाहरु पक्रेर ÷समाती ल्याएर कर लगाई खाना खुवाउँछन् , रोइ चिच्याई गरेपनि वास्ता नगरेर जर्वजस्ती न्वाइदिन्छन् । मैलो कपडा फेरेर सुकिलो कपडा लगाइदिन्छन् । जाडो भएको बेला आफ्नो पटुकाले ढाकेर काखमा गुटुमुटु बनाई राख्छन् । अनुषाको बदलामा निसानको रेखदेख र लालनपालन गर्न आएकी तृष्णा सन्तानका उपर आमाले गर्नुपर्ने महत्वपूर्ण कर्तव्यहरुको पालन गर्दैनथिन्
निसान दश वर्षको भयो । यसपछि तृष्णाले पनि छोरोको जन्म दिइन् । निसान पढ्नमा त्यति मन लाउँदैनथ्यो । खालि खेली रहन मै डुलिरहन्थ्यो । रामप्रसाद बेलुकीतिर संस्थाबाट फर्कदा निसान निसानलाइृ अर्जुन कामीको छोरो दले र अजय बुढाको छोरो हर्केसँग बाटोमा खोपी खेलिरहेको फेला पार्थे ।कहिले साथीहरुसंग मिलेर बाटोमा गोरु जुधाउने खेलेको हुन्थ्यो ।घरबाट पैसा चोर्दै लादै खोपी खेल्ने गथ्र्यो । निसानको बानी व्यवहार देखेर रामप्रसाद दिक्क हुन्थे ।
नेपालीको सबै भन्दा ठुलो चाडँ दशैं आयो । रामप्रसाद सधैँ चाडवाडको बेलामा पूजा गर्न जान्थे । उनी त्यतिबेला मन्दिरमा पूजा गर्न गए । रामप्रसाद नयाँ लुगा लगाएर एक छाक खाएर उही बस्ने गर्थे टीकाका दिन विसर्जन गरेर पुजारीको हातको टीका लगाएर मात्र घर आउँथे । घरमा तृष्णा मात्र थिईन् ।
महानवमीको दिन थियो । गाउँका महिला , केटाकेटीहरु सबै नयाँ लुगा लगाएर मस्तसँग हिडिरहेका थिए । दशँै हाम्रो ठूलो चाड भएका हुनाले यस समयमा मानिसहरु ऋण गरेर पनि राम्रो लाउने मीठो खान्छन् ।
दिनको एक – दुई बजेतिर बाहुनी बज्यै बारीदेखि घाँस लिई आउन लागेकी निसान बाटोमा केटाहरुसंग खोपी खेल्न लागेको रहेछ । मैलो ,फाटेको, पाइन्ट लगाएको कमीजको बाहुलामा मैलो , खल्ती फाटेको गोडा, गाला फुटेको , हातखुट्टामा धुलो लागेको , निसानको लवाइ देखेर बाहुनी बज्यैले एकछिन उभिएर हेरी रहिन् । अनुषासँँंग उनीको धेरै स्नेह थियो । त्यसकारणले निसानलाई बाहुनी बज्येले ज्यादै माया गर्थिन् । त्यसपछि बाहुनी बज्यैले भनिन् –“हेर यसको इलम गरेको ! ठकुरीको छोरो भएर कसाइका छोरासँग खोपी खेलेर हिड्छस् ! यस्तो बानी छर त सधै कुटाई खान्छस् ! दशँैलाई तेरो बाबुले लुगा किन्दिएको छैन ? ” निसान खेल्न छाडेर लाजमाने जस्तो गरेर भन्यो –“छैन” “खाना खाइस् कि खाइनस् नि ? साहेत यतिबेलासम्म मुख धोएको पनि छैनहोला ?”
हातमुख धुने ,खाना खानेकुरा सुनेर पछि निसान एकछिन घरतिर गयो । बाहुनी बज्यैको घाँसको भारी बिसाएर बसेकी थिइन ,उताबाट पानी लिन तृष्णा गाग्री लिएर आउन लागेकी रहिछिन् । बाहुनी बज्यैले तृष्णालाई देखेर भनिन् –“कान्छी नानी आज निसान घर गएको छैन र ?” तृष्णा –बिहानै आफ्नो बुवाको खल्तीको पैसा चोरेर गएको अहिले सम्म अनुहार पनि देखाएको छैन । ” चाडवाडको दिन बोलाएर खानदिनु पर्दैन त ?”
“मतलब छैन चोरलाई भात थालीमा हालेर राख्देको छ, भोक लागे गएर खान्छ , होइन भने त्यस्तै मरिरहन्छ ।”
भोलिपल्टको कुरा हो, टीकाको दिन थियो । निसान घरमा चिच्याइ चिच्याइ रोइरहेको थियो, हातमा लौरी लिएर तृष्णाले ठटाइरहेकी थिइन् । बाहुनी बज्यै घरनेर आइपुगेपछि निसानलाई आफूतिर लिएर गाली गर्न थालिन । निसान झन ठूलो स्वरले रुन लाग्यो । कहिले चोट लागेको ठाँउमा हातले सुमसुम्याउँथ्यो । कहिले टाउकोमाथि हात उचालेर चोट छेक्न खोज्थ्यो । गाउँका मानिसहरु घरबाट चियाएर हेर्न थाले ।
पहिले त एक–दुईचोटी कुटेर छोडिदेलिन् भन्ने लागेर कोही छुट्याउन गएनन् । परन्तु जब तारैतार कुट्न लागिन् अनि बाहुनी बज्यैले मन थाम्न नसकेर भनिन् –“हत्तेरी ! बालखलाई पनि यसरी माया मारेर कुट्नु ?” भनेर छुट्याई दिइन् । निसान डरले बाहुनीको शरीरमा टाँसियो । तृष्णा कुट्ने भनेर फेरि रिसले मुरीदै आएकी थिइन् बाहुनी बज्यैले हातले छेकेर भनिन् – “होइन, के अत्याचार ग¥यो र यसरी
रिसाएकी ?”
तृष्णा हातको लौरी फालेर भनिन् – “के के भनूँ ? हिजो आफ्नो बुबाले दक्षिणा पाएको पैसा विस्तरामुनि राखेको थिए ; कुन चाल आँखा झिमिक्क पारी चोरेर गएछ । भाँडोमा मह थियो, त्यो पनि झिकेर खाए
छ ।”
“कति दिन सहनु ? सधैं यही चाल छ ! आँखा झिम्क्याउन हँुदैन, जे भेटायो त्यही टिपेर हिड्छ ” भनेर तृष्णा कराउँदै घरतिर लागिन् । बाहुनी बज्यैले निसानलाई हातमा समातेर –“भाग्य फुटेको एकलकाँटे ! कुन दिन अकालमा मर्छस् ! ” भनेर आफ्नो घरतिर लगिन् ।
निसान बाहुनी बज्यैको घरको दलानको कुनामा बसेर धेरै बेरसम्म हस्की सुँक्क–सुँक्क गरी रोइरह्यो । अनि त्यही बसिरहेको ठाउँमा घुक्रुक्क निदायो ।
बेलुका भएपछी रामप्रसाद घरमा आए । तृष्णा र उसको सानो छोरालाई त बिहानै घरमा टिका लगाइ दिइसकेका थिए । निसानलाई मात्र टीका लगााउन वाँकी थियो । उसलाई घरमा खोजेर भेटेनन् । तृष्णासंग सोधेको, उनले जवाफ नदिएर खुट्टा बजार्दै कोठाभित्र पसिन् । रामप्रसाद तृष्णाको व्यवहार बुझ््दथे, यस बखत यसभन्दा बढि प्रश्न गर्न उनको मनले ठानेन । निसान बेलुकाम प्रायजसो बाहुनी बज्यै कहाँ गएर बस्थ्यो । त्यो हुनाले उही छ कि भनेर रामप्रसाद बाहुनी बज्यै कहाँ गएर बस्थ्यो । त्यो हुनाले उही छ कि भनेर रामप्रसाद बाहुनी बज्यैका घरमा गए । निसानलाई घरको कोठाको दलानको कुनामा झ्याङ्लो गुन्द्रीमा सुतिरहेको देखेर झक–झकाएर बोलाउन थाले । रामप्रसादको आवाज सुनेर बाहुनी बज्यै टुकी हातमा लिएर
निस्किन् ।
निसान आँखा मिच्दै टुक्रुक्क बस्यो । पहिलेका उही च्यातिएका फोहोर मैला लुगा लगाएको, दया लाग्दो आमाबाबु नभएको जस्तो, रामप्रसादले निसानको सर्टको पकेटमा हात हालेर हेरेको माटैमाटो, दुई–तीनवटा गुञ्जा, एउटा पेन्सिलको टुक्रो, एउटा डलर पैसा, चुरोटको ठुटो पनि रहेछन् । चुरोटका ठुटा देखेर रामप्रसाद छक्क परेर भने – “हरे त पाजी फुच्चेले पनि चुरोट खान थालेछ !”
बाहुनी बज्यैले दिउँसो जे–जे भएको थियो, ती कुरा सबै भनिदिइन् । रामप्रसादले निसानले लगाएका सबै कपडा फुकालेर हेरेँ । तिघ्रा, पिठ्यूँ धेरै ठाउँमा नील डाम परेको रहेछ, छाती र घुँडामा मयलको काँटी बसेको, शरीरमा करङ निस्केको, निसानको दीन–दसा, भेषभूषा देखेर रामप्रसादले एकछिन घोरीएर आँखाभरि आँसु पारेर भने–“कुलक्षणी राडीले यसका बाबुलाई किन पिटेकी होली ?”
बाहुनी बज्यैकी छोरीले भनी – “यो पनि धेरै फटाहा छ काका ! हिजो मलाई ढुङ्गाले हानेर टाउँकोमा ठूलो टुटिल्को पारिदियो ।”
रामप्रसादले बज्यैकी छोरीले भनी–“बदमास दिनरात बिग्रिएका फटहा केटाहरुको साथ गरेर हिँड्छ, किन गतिलो हुन्थ्यो ? त्यही अरुले गरेको फटहा काम सिकेको होला !” भनेर निसानलाई हातमा समातेर घरतिर
लगे ।
यसै पीरले दुःख, लाञ्छना, भोक, प्यास, सहेर निसान चौध वर्षको भो, उसको सौतनी आमाको छोरो वसन्त पनि चार वर्षको भो । निसान वसन्तलाई धेरै माया गथ्र्यो । कहिलेकाहीं बसन्तलाई पसलतिर लगेर मिठाइहरु किनेर खाना दिन्थ्यो । बसन्त पनि निसानको धेरै पछि–पछि परिरहन्थ्यो । तर निसानलाई पछ्याएर हिडे्को तृष्णाले देखिन् भने “चोरसंग पछिलागेर हिड्छस् ?” भनेर वसन्तलाई समातेर ल्याइ पिट्थिन् ।
सरस्वती पूजाको दिन थियो । रामप्रसाद आँगनमा बसेर चुरोट खादै निसानलाई पाठ पढाउँदै अनि पढाइसकेका कुराहरु सोधिरहेका थिए । आफै पढ्नु त कता हो कता पढाएको पनि बिर्सिने । रामप्रसादलाई साह्रै रिस उठ्यो र लठ्ठीले एक–दुई चोटि हिर्काएर भन्यो आफै पढ्नु पर्ने हो अरुका छोराहरु पढेर कक्षामा प्रथम आउँछन् । “ तँ गधाले चाहिं अलि–अलि पढाएको कुरा सोध्यो भने मान्दैनस् । हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात ! यस्ता गोरुले किन अन्न खानु ?”
खाना खाएपछि रामप्रसाद शहरतिर गए । निसान पनि कान्छी आमा तृष्णाले गााली गरेको सहन नसकी घरदेखि निस्केर गाउँतिर गयो । वसन्त पछ्याउँदै गयो । वसन्त पछि आएको देखेर निसानले वसन्तको पिठ्यूँमा हात राखेर भन्यो–“घर जाऊ बावु ! आमाले गाली गर्नु हुन्छ ।”
वसन्तले भन्यो–“नाइँ ।”
वसन्तले भन्या– “दादा तपाइँ कहाँ जानुहन्छ ?”
“म धेरै टाढा !” “कहिले आउनुहन्छ नि ?” “कहिले हो बावु मेरो ठेगान छैन ।”
यति भनेपछि बसन्तलाई पिठ्यूँमा बोकेर पसलमा लगेर एउटा लड्डु किनेर दियो । अनि भाइ वसन्तलाई घरतिर पठाएर आफू कता लाग्यो पत्तै भएन ।
रामप्रसाद राति घर आए । निसान त्यस बेलाा सम्म पनि घर आएको रहेनछ । यताउती सबै छिमेकीका घरमा खोजे, तर कतै भेटेनन् । पल्लो गाउँमा बिहे छ अरे त्यतै गएको होला भनेर सुते । तर निसान भोलिपल्ट पनि
आएन ।
रामप्रसाद पर्सिपल्ट बिहानै उठेर पुलिस पाटीमा गएर सोधे – “पुलिस दाइ, एउटा तेह्र–चौध वर्षको कालो वर्णको ठकुरीको छोरो यही बाटो रामपुरतिर गएको देख्नु भो कि ?” पुलिसले रिसाएर जवाफ दियो– “यत्रो भिडमा को–कहाँ गयो के थाहा पाउनु ?” त्यहाँवाट विशालनगर गएर सोधे । पुलिसले भन्यो– “हिजो एकबजेतिर एउटा च्यातिएको कपडा लाएको पातलो केटो एउटा बूढो मान्छेसंग एउटा झोला बोकेर पछि–पछि गएको त देखेथें तर कोहो थाहा भएन् ।”
त्यहाँबाट रामप्रसादले कृष्णनगरमा पुगेर एउटा पसले साहुजीसंग सोधें– “तेह्र–चौध वर्षको केटो साथमा लिएर बूढो मान्छे देख्नु भएको थियो की ?” हिजो बेलुका उहाँ त्यही झुपडीमा बास बसेका थिए । केटोले एउटा झोला बोकेको थियो । त्यसले त्यो झोला बोक्न सकेको थिएन, त्यस वूढोले दुईचार चोटि लठ्ठीले पिट्यो । केटो रुँदै–रुँदै त्यही थ्याच्च बसेको थियो । आज बिहान उठेर दुवैजना यतैतिर जान्थे बाबु ।”
रामप्रसादको मनमुटुले हरेस खाइ दिमाग पनि ठीक ठाउँमा थिएन् । गहभरी आँसु पारेर घरतिर लागे । घरमा पुगेपछि निसानको उही फाटेको झुुत्रो सुरुवाल, कोट झुन्ड्याइराखेको रहेछ । त्यसको कपडा हातमा लिएर रामप्रसाद कुनातिर फर्केर रुन लागे । त्यसबेला अनुषाले दुई हात जोडेर निसान माथि दया गर्नु होला ।” भनेको, मर्ने बेला अनुषाको चोलीको पकेटमा भएको पोकोबाट निसानको मटेङ्ग्रा र एउटा डलर पैसा भेटिएको, अनुषाको प्राण जानु भन्दा अघि निसान रुँदै आउँदा अनुषाले हात लम्काएर खोजेजस्तो गरेको, आफूले धेरै दिनसम्म बोकी–बोकी हिँडेको इत्यादि अतीतका पलहरु सम्झें ।
दुःख, पीडाको गति अलि केही शान्त भएपछि रामप्रसाद फेरि हिँडे । ठाउँ–ठाउँ सोध्दै–खोज्दै शिवनगरसम्म पुगे, निसान कुनै ठाउँ फेला परेन । मानिस भागेको, उसमा पनि आफ्ना स्वजन (नातेदार बाट तिरष्कृत भएर भागेको किन फेला पथ्र्यो ? भोलिपल्ट राम रुँदै घर फर्के । आज उनलाई “राम वनगमन” को कथा स्मरण भो जीवनमा अनुषासंग ठूलो विश्वासघात गरे जस्तो माने । धेरै रात बितिसकेकेपछि आफ्नो टोलमा आइपुगे ।
छिमेकमा उदयको घर थियो । उदयसंग रामप्रसादको धेरै समयदेखि झगडा भएको थियो । घर नजिकै काका नाता पर्ने भएपनि आज धेरै वर्ष देखि मेलमिलाप र बोलचाल थिएन । घरनेर आइपुगेपछि उदयको घरमा कुरा गरिरहेको सुने । उदयकी श्रीमतीले च्व–च्व गरेर भनिन् – “कठैवरा !कस्तो अभागी केटो रहेछ, राम्ररी एक छाक,एक गाँस,एक बास र एक झुत्रो राम्रो कपडा लाउन नपाएर घर छोडी गयो । विचरी अनुषाले एघार वर्षको उमेर देखि घर गरी लोग्नेलाई एक मानु खाने तुल्याएर गई ! आखिर उसैको छोराको यो गति भयो ।” उदयको छोरी शुस्माले भनिन–छोरो बदमास थियो विपत्ता भयो, ठिकै भयो व्यारे !
उदयकी श्रीमतीले भनिन्– “त्यस्तै हो घरमा माया गर्ने मानिस नभएपछि केटाकेटीको स्वभाव राम्रा–नराम्रो हुन्छ ।” फेरी एकछिन पछि भनिन्– “अनुषा मेरेको ताक त कस्तो माया गरेको नि ?, जहाँ गएपनि बोकी–बोकी हिँडने ।” उदयले भने– “स्वाङ पारेको नाइँ, ख्याल चेप्¥याइँ पार्न जान्दछ । रामप्रसादले जतिराम्रो गरेपनि रामप्रसादलाई अनुषाको आत्माले सराप त अवश्य दिन्छ ।” घरको करेसामा बसेर रामप्रसादले भन्यो– “लाग्छ काका लाग्छ ” रामप्रसादका आँखा तिरमिर भए । त्यस अँध्यारो बाटोमा दुव्ली, निदाउरी अनुषाले बाटो छेकेर “मेरो छोरो खोइ ?” भनेर सोधे जस्तो लाग्यो । गोडा थरथर भएर लड्नै आँटेका थिए; सकि नसकी लट्ठीको सहारामा बिस्तारै घरतिर लागे ।
लेखक : मध्यपश्चिमाञ्चल विश्वविद्यालय एम.एड. प्रथम सेमेष्टरमा अध्ययनरत ।