Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

डा. धवललाई जिताउन काँग्रेसको आन्तरिक तालमेल

नेपालगन्ज, २८ जेठ –
नेपाली काँग्रेसले धेरै लामो कसरत र विवादका बावजुद बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टिकटको टुंगो लगाएसँगै धेरै भित्री कुराहरु बाहिर आई काँग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार डा. सुरेस कनोडियाको पार्टी भित्र नै ब्यापक विरोध हुनुको साथै खुलेआम सहयोग नगर्ने भनी पार्टीभित्रकै कार्यकर्ताहरुले बताउन शुरु गरेको पाइएको छ ।
पार्टीभित्र पुराना नेतालाई बेवास्ता गरेको तथा पैसा हुनेले मात्र जे पनि पाउने भनी पार्टी कार्यकर्ताहरुले अहिले आक्रोश पोख्दै मेयर पदका उम्मेदवार डा. कनोडियालाई कुनै पनि हालतमा सहयोगका साथै मत पनि नदिने बताउने गरेको पाइएको छ । डा. कनोडियाले मेयर पदको उम्मेदवार हुनको लागि जिल्लादेखि केन्द्रसम्म धेरै कसरत गर्नुका साथै निकै नै मोटो रकम दक्षिणा चढाएको टिकाटिप्पणी हुन थाल्नुको साथै यसमा राप्रपाको तर्फबाट मेयर पदको उम्मेदवार डा. धवल सम्शेर राणाको ठुलो हात रहेको कुरा पार्टी कार्यकर्ताहरुले अहिले बाहिर निकाल्न थालेका छन् ।
काँग्रेसबाट मधेशी समुदायबाट टिकट दिइयो भने डा. धवल सजिलै विजयी हुन सक्ने आंकलन लगाई डा. कनोडियालाई टिकट दिलाउन प्रतिभा राणाले ठुलो चलखेल गरेको कुरा पनि अहिले काँग्रेस पार्टीभित्र चल्न थालेको छ । प्रतिभा राणासँग डा. धवलको राम्रो सम्बन्ध भएको कारण राजनीतिक खेल भएको समेत कुरा टिकाटिप्पणी हुन थालेको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारहरुमा चर्चित रुपमा पहाडी समुदायबाट डा. धवल सम्शेर राणा र दामोदर आचार्य देखा परेका छन् ।
डा. कनोडिया मधेशी समुदायबाट मेयरको उम्मेदवार भएपछि डा. धवलले सजिलै विजयी हुन सक्ने आंकलन भएपनि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता भएको कारण जितहारको निर्णायक मत हुने कुरामा दुई मत भने देखिन्न । डा. धवलको षडयन्त्र र डा. कनोडियाको पैसाको पावरका कारण टिकट पाएको चर्चासँगै पहाडी समुदायबाट यी दुबैलाई मत हाल्ने सरसल्लाह समेत हुने गरेको पाइएको छ भने उता मुस्लिम समुदायहरु डा. धवलको टक्करमा दामोदर वा समसुद्दिन सिद्दीकी जो भएपनि मत दिने निर्णय गरेको स्रोतले बताएको छ । काँग्रेस र राप्रपाबिचको आन्तरिक तालमेलको कारण नेकपा माओवादीको तर्फबाट मेयर पदको उम्मेदवार भएका दामोदर आचार्यको पहाडी, मधेशी तथा मुस्लिम समुदायमा राम्रो पकड भएकोले नपत्याउने खोलाले बगाउँछ भने झै विजयी हुने उम्मेदवारमा चर्चित हुन थालेका छन् ।
काँग्रेस नेतृत्वको कारण बाँकेका रहेका काँग्रेसका खम्बा मानिने अधिकांश नेता तथा कार्यकताहरुले पार्टी छाडी नेकपा माओवादी र फोरम लगायतका पार्टीमा प्रवेश हुने कार्यलाई तीब्र बनाइएको छ । राजनीतिक भागबँडाका कारण रुष्ट भएका काँग्रेसका कार्यकर्ताहरुको मनोबल घट्दै जानु तथा अन्य पार्टीमा प्रवेश गर्नुले नेपालगन्ज उपमहानगरपालिकाको धेरै वडाहरुमा काँग्रेसले हार ब्यहोर्नु पर्ने स्थिती आउने विषयमा काँग्रेस नेताहरु चिन्तित समेत देखिएका छन् ।