राजनीति गर्नु सहज छैन : कान्तिका
स्थानीय तहको पहिलो निर्वाचन भएका ३४ जिल्ला मध्येको जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको पदको प्रत्यासीको रुपमा देखा परेकी कान्तिका सेजुवाल अन्ततः पहिलो महिला नगरप्रमुख हुन सफल भइन । २०२८ साल फागुन ७ गते माता चन्द्रादेवी मल्ल र पिता लोक बहादुर मल्लको सन्तानको रुपमा जन्मेकी कान्तिका विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०४२ सालदेखि नै विद्यार्थी राजनीति शुरु गर्नुभएको कान्तिकासँग लामो समयको शिक्षण पेशाको अनुभव पनि छ । उहाँ नेपाली काँग्रेसको महासमिति सदस्य समेत हुनुहन्छ । विभिन्न संघसंस्थामा समेत आवद्ध नारी जागरण अभियानकी अभियान्ता, नेपालको पहिलो महिला नगरप्रमुख कान्तिका सेजुवालसँग खगेन्द्र अधिकारीले गरेको भलाकुसारी :

१. कसरी लाग्नु भयो राजनीतिमा ?
म विद्यार्थी जीवनदेखि नै राजनीतिक क्षेत्रमा चासो राख्ने गर्दथे । २०४२ सादेखि नै प्रजातान्त्रिक धारको राजनीति शुरु भयो । जब म शिक्षक भएँ त्यसपछि नेपाल शिक्षक संघको राजनीतिमा पनि पनि सामेल भएँ । विहे पूर्व पनि मैले राजनीतिलाई राम्रोसँग बुझ्ने मौका पाएँ । किनकी मेरो परिवार नै राजनीतिक पृष्ठभूमिको परिवार थियो । मेरो बुबा र काकाहरु पनि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँहरुको प्रभाव पारेको थियो मलाई पनि । अझ भन्नु पर्दा मेरो माइती घर पुरै राजनीतिमा सामेल थियो । विवाह पछि मेरो श्रीमान् पनि राजनीतिक क्षेत्रमै काम गर्ने भएकोले मलाई अझ सजिलो भयो यो क्षेत्रमा काम गर्न ।
२. राजनीतिक क्षेत्रको प्रेरक व्यक्तित्व कसलाई मान्नु हुन्छ ?
सबै भन्दा पहिले मेरो राजनीतिक प्रेरक व्यक्तित्वको रुपमा मैले मेरो बुबालाई ठान्छु । उहाँले मलाई विद्यार्थी जीवनमा जुन राजनीतिक कुराहरु सिकाउनु भयो त्यसले मेरो जीवनमा राजनीति अध्ययनको ठूलो महत्व राखेको छ । त्यसपछि मेरो श्रीमान् । उहाँहरुले जुन बाटोमा अघि बढ्ने कुरा सिकाउनु भयो त्यसले गर्दा आज मैले राजनीतिक क्षेत्र स्वच्छ राजनीतिक गर्ने वातावरणको सिर्जना गर्न सकेकी छु ।
३. स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा विजयी हुनुभयो । एउटा नारीले नगरप्रमुखमा विजयी प्राप्त गर्न कत्तिको संघर्ष गर्नुप¥यो ?
यो समय सान्दर्भिक प्रश्न हो । सबै भन्दा पहिले त राजनीति गर्नु सहज छैन । धेरैको मानसिकता राजनीति गर्न नेता बन्न सजिलो छ भन्ने लाग्छ होला । तर पुरुष होस् या महिला । राजनीति गर्न सजिलो छैन । संघर्ष गर्नै पर्छ । अझ महिलाको लागि त निकै कठिन परिस्थिति छ । पुरुषको दाँजोमा महिलालाई अझ थप समस्याहरु छन् । तर पनि मैले आफूले गरेका कार्यसम्पादनहरुलाई नजिर बनाउँदै अगाडि बढे । अर्को कुरा म महिला भएर पनि हिजोका दिनहरुमा गरेका कार्यहरुको मूल्याङ्कन भएको हो जस्तो लाग्छ । चाहे विद्यार्थी जीवनमा गरेका कार्यहरु हुन् चाहे शिक्षक भएर शैक्षिक क्षेत्रमा गरेका कार्यहरु हुन् वा अन्य सामाजिक संघसंस्थाहरुमा रहेर गरेका कार्यहरु हुन् । अथवा नारीहरुको हक र अधिकारको लागि मैले गरेका कार्यहरु नै किन नहुन् । ती कार्यहरुले गर्दा मलाई नगरवासी दाजु भाइ दिदीबहिनीहरुले सक्षम देख्नुभयो । नगरपालिकाको प्रमुख भएर कार्य सम्पादन गर्न सक्ने क्षमता देख्नु भयो त्यसैले गर्दा मैले विजय प्राप्त गर्न सके भन्ने लाग्छ ।
४. सबै ठाउँमा पुरुषहरुलाई प्रमुखको उम्मेदवार बनाइएको थियो । नगर प्रमुखको टिकट लिन पनि हम्मे हम्मे प¥यो नि हजुरलाई ।
संघर्ष जहाँ पनि र जहिले पनि गर्नु पर्छ । फेरि पार्टीमा पनि धेरै साथीहरु आकांक्षी बन्नु स्वभाविक हो । गाउँस्तर देखि इलाका, जिल्ला हुँदै क्षेत्र र केन्द्रसम्म पनि यस्तो हुन्छ । म केन्द्रबाट सिधैँ टिकट ल्याउन पनि सक्थे । तर पनि सबै तह र तप्कामा साथीहरु समर्थन बटुल्दै टिकटको लागि सहमति जुट्नु भनेको मैले गरेका कामहरुले गर्दा पनि हो । अर्को कुरा मेरो श्रीमान्ले विद्यार्थी जीवनदेखि नै राजनीतिमा जुन लगानी गर्नुभयो त्यसले पनि ठूलो सहयोग पु¥यायो । उहाँले गर्नुभएको २५ वर्षको लगानीले गर्दा पनि मलाई यस क्षेत्रमै लागेर उहाँले बनाउनु भएका योजना पुरा गर्नु पर्ने दायित्व र उहाँको सपनालाई साकार पार्ने जिम्मेवारी पनि भएकोले मैले टिकट पाएकी हुँ । मेरो श्रीमान्ले गरेको लगानीलाई खेर जान नदिन र त्यसलाई संरक्षण गर्नका लागि जिल्लातह देखि केन्द्रियतहसम्मका सबै नेता तथा कार्यकर्ताहरुले मलाई माया गर्नुभएको छ । त्यसको व्यवस्थापनको लागि मैले टिकट पाएकी हुँ । जुन जिम्मेवारीका साथ टिकट पाएँ ।
५. पुरुषहरुले नेतृत्व गरेका अन्य नगरपालिका र महिलाले नेतृत्व गरेको चन्दननाथ नगरपालिकामा के फरक रहन्छ । नारीले नेतृत्व गरेको नगरपालिका यस कारण फरक हुनेछ भन्नु पर्दा के भन्नु हुन्छ ?
अवश्य पनि फरक हुनेछ । नारीहरु इमान्दार हुन्छन् । उनीहरु पारदर्शी हुन्छन् । सबैलाई नभनौँ । उनीहरु जवाफदेहिता पनि हुन्छन् । महिला भएर जन्मिनु अपराध होइन । समाजमा जुन महिलालाई गरिने विभेद छ । त्यो अपराध छ । त्यसैले पनि महिलालाई हेर्ने फरक दृष्टिकोण अझैँ पनि व्याप्त छ हाम्रो समाजमा । एउटा महिला अधिकारकर्मीको हैसियतले भनिरहेकी छु म यो कुरा । तर अब महिला कुनै पनि कुरामा कमजोर छैनन् । महिलाहरु पनि सक्षम छन् । चाहे काम गर्ने कुरामा होस् वा नेतृत्व गर्ने कुरामा होस् । तपाइँले गर्नुभएको अन्य नगरपालिकाको दाँजोमा फरकताका कुरा गर्नुभएको छ नि हाम्रो देशका कतिपय नगरहरु उदाहरणीय नगर पनि छन् । ती उदाहरणीय नगरको दाँजोमा मैले नेतृत्व गरेको नगरलाई पु¥याउन आधारभूत आवश्यकताहरुलाई परिपूर्तिका गर्नका ती आधारहरु तय गर्छु मैले । पाँच वर्षको कार्यकाल हो तर दुई वर्षमै ती आधारहरु तय भइसकेको तपाइँहरुले देख्न पाउनु हुनेछ । किनकी ती आधारहरु तय गर्नका लागि योजनावद्ध तरिकाले म अघि बढिसकेकी छु ।
६. समृद्ध नगरको लागि आधारहरु तय गर्ने क्रममा नगरप्रमुख पनि पार्टीको प्रभाव र दबाबबाट अछुतो रहन सक्नुहोला र ?
म साझा मान्छे हो । अहिले म पार्टीको मान्छे होइन । कुनै बेला म पार्टीको मान्छे थिएँ । तर जब स्थानीय तहको निर्वाचनबाट म निर्वाचित भएँ त्यसपछि म जब म नगरको ढोका भित्र पसे । म सबैको साझा प्रतिनिधिको रुपमा उभिएँ । सबै समुदाय, सबै पार्टी, सबै तह र तप्का, सबै नगरवासीहरुका समस्याको आवश्यकतालाई पहिचान गरेर मात्रै सम्बन्धित ठाउँमा अन्तरक्रिया गरेर गराएर त्यो छनोट भएको ठाउँमा के गर्नु पर्छ भन्ने निष्कर्ष निकालेर मात्रै काम गर्छु । हिजोका दिनमा जसरी पार्टीको भागवण्डाको आधारमा काम भए त्यसरी म चल्नेवाला
छैन ।
७. एउटा नारीले नेतृत्व गरेको नगरपालिका भित्रका अन्य नारीहरुको अवस्था कस्तो हुनेछ तपाइँको कार्यकालमा ? नारीहरुका लागि यो काम गर्छु भन्ने योजनाहरु के बनाउनु भएको छ ?
महिलाहरुमा जनचेतना जगाउनु पर्छ । सचेतनाको माध्यमबाट महिलाहरुलाई शसक्त बनाउनु पर्छ भन्ने अभियानमा हिजोका दिनमा थिएँ र आज छु भोलि पनि रहन्छु । यो अभियानलाई निरन्तरता दिने लक्ष्य र उद्देश्य त छदैँछ । विकास दुई किसिमका हुन्छन् एउटा प्रत्यक्ष रुपमा देखिने र अर्को अप्रत्यक्ष । बाटो बनाउनु वा विद्यालय बनाउनु अझ भनौँ भौतिक संरचनाको तयारी देख्न सकिने विकास हुन तर मान्छेको मानसिक विकास जुन अप्रत्यक्ष रहन्छ तर अझ ठूलो विकास हो । नारी समूहको लागि अथवा आमा समूहको लागि एउटा घर बनाउदैँमा त्यो त्यति ठूलो विकास हो जस्तो मलाई लाग्दैन । नारीहरु सचेत बनाउनु पनि विकास हो । नारीहरुलाई एकै सुत्रमा बाँध्नु पनि विकास हो । नारीहरुले आफ्ना समस्यालाई बुलंद रुपमा उठाउन सक्नु पनि विकास हो । त्यसैले सचेतना मार्फत महिलाहरुमा जागरण ल्याएर विभिन्न क्षेत्रमा महिलालाई प्रतिनिधित्वदेखि नेतृत्वसम्म पु¥याउने लक्ष्य छ । नारीहरुलाई त्यो स्थानसम्म पु¥याउनका लागि नगरपालिकाका १० वटै वडाका महिलाहरुका समस्याहरुलाई योजनावद्ध ढङ्गले पहिचान गरेर कार्ययोजना बनाइ त्यसलाई कार्यान्वयन गर्छु । साथै महिला मात्र नभई बालबालिका, अशक्त, बृद्धबृद्धा, गरिब, दलित, जनजाति, उत्पीडित वर्गका उपलब्धिमूलक गुरुयोजना बनाएर अघि बढ्छु ।
८. कर्णाली, कर्णालीको पनि जुम्ला । जुन नेपाली भाषाको उद्गमस्थल । नगर प्रमुखको हैसियतले नेपाली भाषा र साहित्यको क्षेत्रमा तपाइँले गर्ने ठोस कार्यहरु के बनाउनु भएको छ ?
म नगरप्रमुख भइसकेपछि मात्र होइन । नगरप्रमुख हुनुभन्दा पहिला पनि मैले नेपाली भाषाको उद्गमस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ भनेर बारम्बार कुराहरु उठाउँदै आएकी छु । नेपाली भाषाको उद्गम स्थलमा नै नेपाली भाषा र साहित्यको विकास हुन नसकेन भने त्यो भन्दा नराम्रो केही हुँदैन । त्यसैले त्यहाँ एउटा संङ्ग्राहलयको स्थापना गरेर नेपाली भाषा र साहित्यको बारेमा विभिन्न चर्चा र परिचर्चा गरेर नेपाली भाषालाई संरक्षण र सम्बद्र्धनका लागि अगाडि बढाउने योजनाका साथ अघि बढ्नु पर्ने र बढाउनु पर्ने जिम्मेवारी छ । त्यो जिम्मेवारीबाट कोही पनि पछि हट्नु हुँदैन । त्यो जिम्मेवारी पूरा गर्ने दायित्व सबैको हो त्यसमा पनि नगरप्रमुखको हैसियतले मैले गर्नु पर्ने कार्यमा कतै कमजोरी हुन नदिने मेरो कोसिस रहन्छ ।
९. नेपालमा कर्णाली नाम भजाएर आफ्नो दुनो सोझ्याउनेहरु धेरै छन् । जहाँ अथाह सम्भावना छन् । कर्णालीको जल, जमिन र जटिबुढीलाई छोडेर रोजगारीको लागि मुग्लान पस्नेहरुको ताँती त ज्यू का त्यू रहन्छ होला नि ।
अहिले युवाहरु स्वरोजगारका लागि कोही खाडीदेखि छिमेकी मुलुक भारतसम्म पनि जाने गरेका छन् । त्यसलाई रोक्नका लागि एउटा नगरपालिकाले वा नगरप्रमुखले केही गर्न सक्दैन । यसको लागि त राज्यले पोलिसी निर्माण गरेर युवाशक्तिहरुलाई आफ्नै देशमा रोजगार दिने व्यवस्था मिलाउनु पर्छ । यो नेपाल सरकारको दायत्व हो । यसलाई नेपाल सरकारले जिम्मेवारीका साथ पूरा गर्न तिर लाग्नु पर्छ । नगर भित्र भएका युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्नका लागि स्रोत साधनको अभाव छ । नेपाल सरकारले कर्णाली जस्तो दुर्गम स्थानको लागि बिशेष अनुदानको व्यवस्था गरिदेओस् भन्ने माग तपाइँकै मिडिया मार्फत पनि गर्न चाहन्छु ।
१०. तपाइँहरु स्थानीय सरकार पनि हो । अनि फेरि पनि सरकारकै मुख ताक्ने र युवाहरुलाई व्यवस्थापनमा कुनै ध्यान नदिने हो सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेको मान्न सकिन्छ ?
त्यसो होइन । अहिले पनि अन्यौलता छ । सिंहदरबारको अधिकार जनताको घर घरमा पुगेको छैन । पुग्दै होला । स्थानीय सरकारले गर्ने काम, कर्तव्य र अधिकार सबैको स्पष्ट नीति बनेको छैन । त्यो कार्यविधिको पर्खाइमा छौ । त्यो कस्तो खालको ढाँचा आउँछ त्यो हेर्छौ । नीति बिना बोल्ने अनि भोलि कार्यान्वयन नहुने नगर्ने भन्ने म बाट हुँदैन । हाम्रो पनि सोच छ सकेसम्म युवाहरु आफ्नै स्थानीयस्तरमा बसेर केही गर्न सकुन् । त्यस्तो वातावरणको सिर्जना होस् । व्यावसायिक त्यो पनि स्तरीय शिक्षा हासिल गर्न पाउन अनि स्थानीय सरकारले दिने सुविधाहरु सहज रुपमा उनीहरुसम्म पुगोस् भन्ने सोच छ । कतिपय युवाहरु जानी नजानी कूलतमा फसेका छन् । उनीहरुलाई त्यसबाट छुटाउनका लागि ठाउँ ठाउँमा पराशर्म केन्द्रको स्थापना गरेर उनीहरुलाई दुव्र्यसनीमा फस्न दिनु हुँदैन । फसेकालाई पनि सुधार्दै अगाडि बढ्नु पर्छ । किशोर किशोरीहरुलाई सवल बनाउनका लागि परामर्श केन्द्रको स्थापना गर्न जरुरी छ ।
११. विद्यार्थी राजनीतिबाट शैक्षिक क्षेत्र हुँदै अहिले नेपालकै पहिलो महिला नगरप्रमुख बन्न सफल हुनु भएको छ अबको ५ वर्षपछि तपाइँले आफ्नो राजनीति यात्रालाई कहाँ पु¥याउने योजना बनाउनु भएको छ ?
यो मेरो शुरुवात हो । पहिलो खुट्किलामा छु म । अब मैले तय गरेका कार्यहरुलाई मैले कसरी कार्यान्वयन गर्छु भन्ने कुराले मेरो राजनीतिक यात्रामा प्रभाव पार्छ । कम्तिमा पनि मैले तयार गरेका योजनाहरुलाई ५० प्रतिशत मात्रै पनि दीर्घकालिन पर्ने तरिकाले काम गरे भने पनि मेरो राजनीतिक यात्राको गोरेटो तयार हुन्छ । त्यसैले अहिले यही हुनेछ मेरो राजनीतिक यात्रा भनेर भन्नु भन्दा पनि मैले काम गरेर देखाउने बेला आएको छ ।
१२. भनेपछि निर्वाचनको बेलामा १०० प्रतिशत अहिले ५० प्रतिशत मात्र काम गर्ने योजना बनाइसक्नु भयो है ।
हो । १०० मा १०० गर्छु भनेर लाग्ने हो । तर सत्य के हो भने १०० कसैले पनि गर्दैन । कम्तिमा ५० प्रतिशत मात्रै पनि दिर्घजीवन हुने योजनाहरु सफल पार्न सकियो भने पनि ठूलो कुरा हो । मैले पहिले पनि १०० भनिन किनकी भनेर मात्र हुँदैन गरेर देखाउनु पर्छ । जस्तै बत्ति, सडक, स्वास्थ्य, शिक्षा लगायतका कुराहरु भौतिक पूर्वाधार भए तर मान्छेलाई आत्मनिर्भर बनाएर अगाडि लैजाने कुरा पनि सँगसँगै छ नि त्यसलाई पूरा गर्नु प¥यो भन्ने मान्छे हुँ म । नगर भित्र नगरी नहुने कामहरु कसरी गर्ने भन्ने प्रमुख विषयको रुपमा रहेको छ ।
१३. कर्तव्य र जिम्मेवारी पूरा गर्दाको अनुभव बताइदिनुहोस् न ।
मैले हिजो पनि कर्तव्य र जिम्मेवारी पूरा गरेरै हिड्ने व्यक्ति हुँ । यो मैले भन्दा पनि मलाई चिन्ने, मसँग काम गर्ने जुम्ली जनताहरुलाई राम्रोसँग थाह छ । कान्तिका सेजुवाल कत्तिको जिम्मेवारी पूरा गर्ने मान्छे हो भन्ने । मेरो बारेमा अरुले भन्ने हो म यस बारेमा भन्न चाहन्न । कर्तव्यसँगसँगै अधिकार र अधिकार सँगसँगै जिम्मेवारी हुनु पर्छ । अधिकार प्राप्त गरे भन्दैमा जिम्मेवारी पुरा गरिन भने त्यो अधिकारको दुरुपयोग हुन्छ । त्यसैले कसैको पनि अधिकार बञ्चित गर्नका लागि कर्तव्यनिष्ट हुनुहुँदैन भनने पनि हुँदैन । कर्तव्य पुरा गरिएन भने भविष्य कता जाने भन्ने अन्यौल रहन्छ ।
१४. अन्तमा के भन्नुहुन्छ ।
प्रदेश नं. ६ बाट एउटा महिला नगर प्रमुख भएोले महिलाका समग्र हक हितका साथै यो प्रदेशकै लागि जल र जटिबुटी र पर्यटन क्षेत्र, कर्णाली राजमार्ग हुँदै नाक्चेनाङ्गा चीनसम्म जोडिने सडकको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्छु । मातृमृत्यूदर र शिशुमृत्यूदर कसरी रोक्ने, महिला हिंसालाई कसरी अन्त्य गर्ने, युवा, महिला, बालबालिका, उत्पीडित, दलित, जातिजाति, बृद्धबृद्धाका आवाजहरु सुनेर उनीहरुका समस्या समाधानका लागि हामी आफै पनि योजना बनाएर लाग्छौ र नेपाल सरकारलाई पनि आग्रह गर्दछौ । अब पद्धतिको विकास गरेर काम गरौँ । हचुवाको भरमा काम नगरौँ । हामी योजना बनाउँदै छौँ । स्थानीय सरकारले बनाएको कानून बमोजिम अगाडि बढ्ने योजना छ । त्यसैले समग्र ६ नं. प्रदेशमा बसोबास गर्दै आउनु भएको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछु हामीले स्वावलम्बि भावनाको विकास गर्नु पर्छ । सबैले आ–आफ्नो तह र तप्काबाट सकारात्मक कामको थालनी गर्नुपर्छ । एउटा प्रतिनिधिले गरेर मात्र केही हुँदैन । त्यसका लागि सम्पूर्ण ६ नं. प्रदेशबासीहरुलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । परनिर्भर होइन आत्मनिर्भर बन्ने तर्फ सबै लागौँ । त्यसका लागि मैले गर्नु पर्ने काम म गर्न तयार छु ।
काँक्रेविहार दैनिकबाट






