Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने चौकुने गाउँपालिकाको निर्णय

सुर्खेत ।
चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ । मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ । यता जनताको लागि अत्यावश्यक मानिने एम्बुलेन्स भने छैन ।

गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ ।

गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले सहजताका लागि मोटरसाइकल खरिद गर्न लागिएको बताए । एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षलाई मोटरसाइकल किन्ने निर्णय भएको भन्दै स्थानीयले भने बिरोध जनाएका छन् । गाउँपालिका बासीका लागि विरामी परेको बेला अस्पताल लैजान एम्बुलेन्स नभएको तर जनप्रतिनिधिहरुले मोटरसाइकल किन्ने निर्णय गरेकोमा स्थानीयले विरोध जनाएका हुन् ।

तर, गाउँपालिका अध्यक्ष शाहीले भने एम्बुलेन्स नहुनुसँग मोटरसाइकल खरिदको सम्बन्ध नभएको तर्क गरे । ‘सार्वजनिक यातायातबाट काम गर्न सम्भव छैन,’ उनले भने, ‘कर्मचारीलाई एम्बुलेन्सले काम गर्दैन, त्यसैले मोटरसाइकल किन्न लागिएको हो ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केन्द्रबाट गएको बजेट सवारी साधन, जनप्रतिनिधिको सुविधामा खर्च नगर्न निर्देशन दिएको छ । तर स्थानीय जनप्रतिनिधिले त्यसको अवज्ञा गर्ने गरेका छन् ।