अदुअआ सुर्खेतद्वारा ६२ प्रतिशत उजुरी फछ्यौट
सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले गत आ.व.मा ६२.१ प्रतिशत उजुरीहरु फछ्यौट गरेको जनाएको छ ।

आज एक पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ६ नं. प्रदेशमा कार्यक्षेत्र रहेको कार्यालय सुर्खेतले उक्त कुरा जनाएको हो । भेरी अञ्चलका जाजरकोट, दैलेख र सुर्खेत, राप्ती अञ्चलका रुकुम र सल्यान तथा कर्णाली अञ्चलका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको मतहतमा पर्ने गर्दछ ।
चालु आ.व. मा ३८० र गत आ.व. का २५३ फछ्र्यौट हुन बाँकी उजुरीहरु गरी जम्मा ६३३ रहेकोमा गत आ.व. का १३६ र चालु आ.व. का २५७ गरी ३९३ उजुरीहरु फछ्र्यौट भएको कार्यालयले जनाएको हो । अब २४० उजुरीहरु फछ्र्यौट हुन बाँकी रहेको समेत कार्यालयले जनाएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले भने – सानो वा ठूलो जुनसुकै प्रकृतिको भएपनि अपराध भनेको अपराध रहेको र दुरुपयोग भनेको दुरुपयोग भएकोले कसैलाई पनि छोडिदैन । अपराध गर्नेलाई कानून बमोजिम कारवाही गरिन्छ । अनुसन्धान गर्ने क्रममा केही समय लाग्ने भएकोले तुरुन्तै फछ्र्यौट नहुन सक्छ । उहाँको भनाई थियो – अनुसन्धानमा समय लागे पनि फरक पर्दैन तर दोषिलाई कारवाही गर्नु र निर्दोषिलाई सफाइ दिनु आयोगको काम हो ।
साथै अनियमितता विरुद्ध फ्याक्स, हुलाक, इमेल लगायतका माध्यमबाट उजुरी गर्न सकिने व्यवस्था रहेको छ ।






