Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

क्यान सुर्खेतको पाँचौ साधारण सभाको उदघाटन सत्र सम्पन्न

कम्प्यूटर एशोसियनशन महासंघ (क्यान) सुर्खेत शाखाको पाँचौ साधारण सभा एवम् चौथो अधिवेशन आज सुर्खेतमा सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष पूर्णदेव अधिकारी र सचिव लोकप्रसाद दाहालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष प्रेम प्रकाश चन्दले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक प्रतिवेदनमा २ लाख ७ हजार ६ सय ५२ रुपैयाँको आय– व्यय विवरण पेश भएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन सत्रमा नगर प्रमुख सुवेदीले भन्नुभयो – विज्ञान र प्रविधिको विकास बिना अरु विकासहरु सम्भव नभएकोले सबै भन्दा पहिलो विज्ञान र प्रविधिको विकास हुनु जरुरी छ । प्रविधिले कार्यलाई छिटो, भरपर्दो र प्रभावकारी बनाउने भएकोले समयको बचतसँगै यसले सहजता पनि ल्याएको छ । क्यानको शाखा सुर्खेतले गरेका गतिविधिहरु प्रसंशनीय रहेका छन् । त्यसैले पनि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग र प्रविधिको विकासको लागि नगरपालिका पछि नपर्ने उहाँको भनाई थियो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निमित्त रजिष्ट्रार एवम् विज्ञान संकायका डीन डा. देब बहादुर खड्काले भन्नु भयो – विज्ञानले गरेको उपलब्धिहरुलाई प्रत्येक घर घरमा प¥याएर यसबाट लिनु पर्ने फाइदाका लागि कोही पनि पछि पर्नु हुँदैन ।

त्यसैगरी क्यान महासंघ नेपालका उपाध्यक्ष संजय थापाले विशेष अतिथिको आशनबाट बोल्दै भन्नुभयो – हामीले अब अरुले उत्पादन गरेका बस्तुहरु प्रयोग गरेर प्रयोग कर्ता मात्र बन्ने होइन । अब त हामी आफैले उत्पादन गर्ने तर्फ लाग्नुपर्ने बेला आइसकेको छ ।

शुभकामना मन्तव्यको क्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले भन्नुभयो – पत्रकारितामा प्रविधि प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि यसको विकास र विस्तारमा जोड दिन सबैलाई आग्रह गर्दछु ।

क्यान शाखा सुर्खेतको स्थापनामा विशेष योगदान दिएको भन्दै संस्थाले क्यान सुर्खेत शाखाका संस्थापक रामकिशोर रावललाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रममा बर्दिया, बाँके लगायतका जिल्लाबाट क्यानका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रम पूर्णदेब अधिकारीको सभापतित्वमा भएको थियो भने सहजीकरण सचिव लोकप्रसाद दाहालले गर्नुभएको थियो ।

यो समाचार तयार पार्दासम्म नयाँ नेतृत्वको लागि निर्वाचनको प्रक्रिया अघि बढे पनि सम्पन्न भने भएको थिएन ।