निगमको जग्गा खरिदमा अर्बौं अनियमितता गर्ने निगम प्रमुख खड्का वर्खास्त
काठमाडौँ
आयल निगमका प्रमुख कार्यकारी गोपाल खड्कालाई बर्खास्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो।
संसदीय समितिको सिफारिस अनुसार खड्कालाई पदच्युत गरिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। खड्कालाई पदच्युत गर्ने प्रस्ताव आपूर्ति मन्त्री शिवकुमार मण्डलले मन्त्रिपरिषदमा लगेका थिए।
पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सिफारिस गरेको थियो।
यसअघि संसदको सुशासन समितिले नेपाल आयल निगमको कार्यकारी निर्देशक गोपाल खडकालाई जिम्मेवारीबाट अलग गर्न निर्देशन दिदै सरकारलाई पत्र पठाएको थियो।
त्यसैगरी मन्त्रिपरिषदको आजको बैठकले आणविक अस्त्र निषेधसम्बन्धी सन्धीमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार दिएको छ।
प्रदेश सभा निर्वाचन प्रयोजनका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदाय तोकेर राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
त्यस्तै सूचना तथा सञ्चार मन्त्रीको प्रेस संयोजकमा छक्कबहादुर खडकालाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको छ।
बैठकले असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन गइरहेको गैरआवासीय नेपाली सम्मेलनका लागि उच्चस्तरिय आयोजक समिति गठन गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी चिकित्सकहरुको लापरबाहीका कारण अस्पतालहरुमा बिरामीको मृत्यु हुने क्रम बढेकोले पीडितलाई दिइने क्षतिपूर्ति सम्बन्धित चिकित्सकलाई नै भराउनेगरी विधेयक निर्माण गरी सदनमा पेस गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।






