Loading... आजः ४ जेष्ठ २०८१, शुक्रबार । Friday 17th May 2024

दशैं कसैलाई दशा नबनोस्

रिङ्दै घुम्दै रुम्जाटार भने झैँ फेरि घुम्दै घुम्दै नेपालीहरुका घर आगनमा दशैंले पाइला टेकिसकेको छ । सबैका घरका पूजाकोठामा जमरा राखिसकेका छन् । मान्छेहरुलाई घर आगनमा रङ्ग्याउन भ्याई नभ्याई भइरहेको छ । जयन्तको घरले पनि यसपालि रङ्गिने अवसर पाएको छ । खरले छाएको कच्ची घर पनि भएपनि जयन्तको छोरा देबेले घर रङ्ग्याउनै पर्छ भन्ने ढिपी कसेकोले गर्दा पनि जयन्तलाई पुरै घर रङ्ग्याउन कर लागेको हो । देबे र सन्ते खुबै मिल्ने साथी हुन् । जयन्तले आफ्नो छोराको खुसीको लागि पनि आफू खुसी भइदिने चेष्टा गरिरहेको छ । सन्ते जमिन्दारको छोरा हो । उसको बजारमा पनि झण्डै मासिक १ लाख बराबर भाडा आउने घर छ । उसको घरमा महासप्तमीमा बलिको लागि कालो बोका तयार पारिएको छ । अनि दशैंको दिनको लागि खसी । तर यता देबेको बाबुले भने खसीको सट्टामा आफ्नै घरमा हुर्केको एउटा रातो भालेले गर्जो टार्ने योजना बनाएको छ ।

धनी र हुने खानेका लागि मात्र हो दशैं त । हुँदा खानेहरुका लागि दशा भनेर आउने गर्दछ दशैं वर्षको एक पटक । मिष्ठान भोजनका लागि धनीहरुलाई दशैं नै आउनु पर्दैन । तर जसले विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्तै चिन्तामा दिन बिताउनु परेको हुन्छ त्यस्ताको लागि दशैं त आउँछ । रमाइलो र अलिकति खुसी बोकेर । तर ह्दयमा दया र माया नभएको दशैं साथमा धेरै बिस्मात पनि बोकेर ल्याइदिएको हुन्छ । गतसालको दशैंमा फेरेको कपडाको ऋण तिरेको २ महिना भएको छैन । फेरि अर्को सालसम्मको लागि ऋण लगाउनका लागि दशैं आइदिएको छ ।

जयन्तकी बुढी सारै समझदार छिन् । उनले कहिल्यै पनि जयन्तलाई यो चाहियो वा त्यो चाहियो भनेर कर गरिनन् । उनलाई थाह छ गरिबीको पीडा । माइतीमै हुने बेलामा रामे साहुले दशैंको तीन दिन अघि मात्र उनको बुवाको लैनौ भैसी जबरजस्ती फुकाएको लगेको उनलाई याद छ । दशैंकै लागि खर्च ल्याएको र त्या पैसाको व्याज समेत तिर्न नसकेपछि दशैंको मुखमा लैनौ भैसी गुमाउनु परेको थियो उनको बुबाले । पम्फा हो जयन्तकी बुढीको नाम । पम्फा निकै रोएकी थिइन त्यो दिन । छुट्टिँदा त भैसीको पनि मन दुख्ने रहेछ । त्यो फुर्की नामको भैसीले पनि आँखाबाट आँसु चुहाएको थियो । अझ भनौंँ जान मानेको थिएन रामे साहुको साथमा । तर पशु भएकोले जबरजस्ती तान्दै र पिट्दै लगेको थियो रामे साहुले ।

गरिबहरुको लागि साहुमहाजन भनेका परेका बेलामा एक छाक टार्ने जोहो त बन्नान् तर तिनले एक न एक दिन आफ्नो राक्षसी पारा देखाइ हाल्छन् । त्यो गरिबले राम्रोसँग बुझेका छन् । बुझेका भएर पनि के गर्नु । एकातिर लालाबालाको मनको रहर र अर्कोतिर आफ्नो बाध्यतालाई फलामको च्यूरा झैँ चपाउन बाध्य हुनु पर्दछ ।

हिजै मात्र सन्तेको घरमा नयाँ मोटरसाइकल आएको छ । उनीहरुले एउटा मोटरसाइकल किन्दा पनि छिमेकीहरु बधाई दिन आउँछन् । यस्ता मोटरसाइकल त सन्तेको बाबुले वर्षमा फेरि फेरि किन्ने गर्दछन् । यता देबेको पम्फाले असारको महिना रोपाइँ गरेर ल्याएको ज्यालाबाट दशैंमा देबेलाई एक जोर कपडा किनीदिने योजना बनाएकी छन् । आफूलाई त जस्तो भएपनि चल्छ । तर छोराको खुसी नै सबै भन्दा ठूलो खुसी देख्ने जयन्त र पम्फाले एक छाक भएपनि मिठो खाने र खुवाउने योजना बनाएकै छन् ।

भकारीमा अन्न छैन । अधिँया रोपेको खेततिर हेर्दा धान भरखरै पसाउँदै गरेको छ । अलिकति भएको बारीबाट आएको मकै छ । दाल, भात, तरकारी र मासु । एक छाक त पुग्ने जोहो गरेकै छ पम्फाले ।

एकाविहानै सन्ते नयाँ लुगा लगाएर देबेको घरमा आउँछ । देबे र सन्ते मिल्ने साथी भएकोले पनि होला सन्तेले कुनै पनि नयाँ चिज पायो कि देबेलाई देखाइ हाल्नु पर्छ । सन्तेले लगाएको जिन्सको पाइन्ट र जिन्सकै ज्याकेट देखेर देबे खुसी हुँदै एक पटक सन्तेले लगाएको लुगा छामेरै भएपनि चित्त बुझाउँछ । देबेको घरको एउटा कोठामा पस्छन् उनीहरु । कस्तो राम्रो सुहाएको छ नि तँलाई यो लुगा । कति पैसामा किनेको ? देबेको प्रश्न पुरा हुन नपाउँदै सन्तेले ९ हजारको हो सबै अझ हालो जुत्ता त लगाएकै छैन मैले । त्यो त दशैंको दिन टिका लगाउने बेलामा माात्र लगाउने हो । ठूला मान्छेका ठूलै कुरा । देबेलाई चप्पल पाउन त धौ धौ छ । यता सन्तेको बाबुलाई गरिबको छोरासँग संगत गरेको मन परेको हुँदैन । केही निहुँ पाएको भए त्यो सँगको संगत छुटाइदिन हुन्थ्यो भन्ने बाटो हेरेर बसेका थिए जमिन्दार बुढा । सन्तेले देबेलाई भन्छ मलाई त यस्तो सुहाएको छ भने तँलाई झन कस्तो सुहाउँछ होला है । देबे पुनः हातले सको लुगा छाम्छ र मुख मिठ्याउछ । त्यो भन्दा अरु उपाय पनि त छैन उसँग ।

एक छिन भएपनि लगाएर हेन त । सन्तेको प्रस्तावले देबेलाई त्यो लुगा सधैँ भरी दिएको जत्तिकै लाग्यो । एक दिन भएपनि लगाउन पाए त मनमनै सोचिरहेको थियो देबेले । सन्तेले लुगा फुकाल्छ र देबेले लगाउँछ । कुनै पनि बच्चाले नयाँ चीज पाएको बेलामा अरुलाई देखाउन पाउनु नै ठूलो कुरा ठान्छन् । अनि त्यो लुगा आफ्नो आमा बुबालाई देखाउनका लागि देबे बाहिर निस्कन्छ । नजिकै आफ्नो घरको कौसीमा पान चपाउँदै गरेका जमिन्दारले देखिहाले त्यो दृष्ट । ए जयन्त छोरालाई त राम्रै लुगा किनीदिएछौ त ? जमिन्दारको कुराले झस्किन्छ जयन्त । नभन्दै छोराले नयाँ लुगा लगाएको देखेपछि कस्को लुगा हो भनेर छोरालाई प्र्रश्न गर्छ उसले । सन्तुको । सन्तेलाई उसले माया गरेर सन्तु भनेर बोलाउने गर्दछ । देबेले सन्तुको भन्ने वाक्य पुरा गर्न नपाउँदै जमिन्दार बुढा कड्किए । अर्काको छोराको लुगा एक दिन लगाउन पाए भन्दैमा हिरो भइदैन भन्ने थाह छैन तेरो छोरालाई । त्यो भरखरै हिजो मात्र ल्याएको लुगा हो । साले फोहोरीले लगाइदिएछ । त्यो लुगामा फोहोर पनि लगाइदियो होला । छिटो फुकाल्न लगाएर धोएर सुकाएर पठा त्यो लुगा । अरु बेलामा सानो तिनो काम गरिदे भन्दा त तिमीहरुलाई खुबै मुसार्नु पर्छ । तर अर्काको छोराले राम्रोसँग लगाउन नपाउँदै त्यो लुगा कसरी तेरो छोराले लगाउने हिम्मत ग¥यो हँ । के गर्नु हजुर साथी साथी भएकोले होला । ठिकै छ म धुन लगाएर सुकाएर पठाउँछु ।

के निहुँ पाउँ कनिका बुकाउ भएका जमिन्दारलाई यत्ति भए पुग्यो अब । नानाभाँती कुरा उठाएर उनले तथानाम गाली गरिरहेका छन् । यो देखेर जयन्त र पम्फाको मन अमिलो भएको छ । त्यसपछि पम्फाले देबेलाई सन्तेसँग संगत नगर्न भन्छिन् । उमेरले सात वर्ष पनि नपुगेको देबेलाई धनी र गरिब बीचको खाडल कति ठूलो हुन्छ भन्ने के थाह ? धनी र गरिब बीचको खाडलको कारण आज आमाको आँखामा आँसु र बाउको अनुहारमा मलिनता भएको उसलाई थाहै छैन ।
ढोल बजाएर आउने दशैं ऋण बोकाएर जाने भएकोले पनि हुँदा खानेहरुले वर्षको एक दिन खाएको मिठो मसिनो अमृत होइन विष बन्ने गरेको छ । एक दिनको मिठो खुवाइ र एक दिनको राम्रो लगाईले गर्दा वर्ष दिन भरी पिरोल्ने गर्छ । त्यसैले धनि र गरिब बीचको असमानताको अन्त्य नभएसम्म दशैं नआए पनि हुने थियो भन्ने लाग्छ जयन्तलाई । तर के गर्नु तिथि, बार, महिना र ऋतुहरुको परिवर्तनसँगै यो नआइ छोड्दैन ।

दशैंको दिनमा जमिन्दारको घरमा खसी काटिएको छ । मान्छेको ओहोरदोहोर चलिरहेको छ । यता जयन्तले भने छोराको खुसीको लागि भएपनि एउटा कुखुरो काटेर उसँगै आफू पनि रमाउने कोसिस गरेका छन् । देबे कतै जमिन्दार कहाँ गइ पो हाल्छ कि भनेर उसलाई अनेक बहाना गरेर अल्झाइरहेका छन् जयन्त दम्पत्तिले । टीकाको साइत पनि ठूलाबडाकै लागि बनाइएको होला । सानालाई त संस्कार पुरा गर्नु मात्र हो । उनीहरुले बेलैमा टीका लगाउने कार्य गर्दछन् । त्यसपछि देबेलाई अगाडि लगाएर जयन्त दम्पत्ति ससुराली तिर लाग्छन् । दशैंको दिनमा देबे र सन्तेको भेट हुँदैन । यता सन्तेले पनि देबेलाई कतिबेला भेट्न सकिएला भनेर सोचिरहेको थियो । तर देबे आमाबाबासँगै मामाघर हिडिसकेको छ ।

दशैंको दिन । साँझको बेलामा माइती पुगेको जयन्तको दम्पत्ति । साँझ नै दशैंको टीका टालो गर्दछन् । देबेका मामाले टीका लगाएर दिएको पचास रुपैयाँको नोट देबेको लाग ठूलै धनराशी लाग्छ । हराउला भन्ने डरले आमालाई राख्न दिन्छ । खाना खाइवरी सुतेका जयन्तका दम्पत्ति र उसका ससुराली त्यही दिन राती आएको पहिरोले घर समेत बगाएपछि घरसँगै बगेर बेपत्ता हुन्छन् । धनीका लागि दशैं र गरिबका लागि दशा बनेर आउने दशैंमा ससुराली पुगेको जयन्त, माइती पुगेकी पम्फा र मामाघर पुगेको देबे फेरि फर्केर कहिल्यै त्यो गाउँमा आएनन् । किनकी पहिरोले घर सँगै उनीहरुलाई लगिसकेको थियो अज्ञात स्थलमा ।

दशैं कसैलाई दशा बनोस् । यही छ दशैंको शुभकामना ।