Loading... आजः १८ बैशाख २०८१, मंगलवार । Tuesday 30th April 2024

संविधानको रक्षा गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य दुबै हो : गिरी

सुर्खेती राजनीतिको क्षेत्रमा २०३३ सालदेखि होमिएर २०३७ सालमा जिल्ला पञ्चायत सुर्खेतको मनोनीत सदस्य भइसकेपछि सुर्खेती जनताका बिचमा कुशल राजनीतिज्ञको छवि बनाउन सफल एउटा सुर्खेती नेताको नाम हो तुलाराम गिरी । २०३३ सालमा वीरेन्द्रनगर नगरपञ्चायतको उप प्रधानपञ्च भएदेखि लोकप्रियता कमाउन सफल हुनुभएको तुलाराम गिरी सुर्खेती जनताका बिचमा कुनै नौलो नाम पनि होइन । २०६३ सालमा जिल्ला विकास समिति सुर्खेतको उप सभापति समेतको जिम्मेवारी सम्हालेर सुर्खेती जनताबिचमा विकासप्रेमी नेताको रुपमा आफूलाई स्थापित गराउन समेत सफल हुनुभएका सुर्खेतका पुराना शिक्षकको रुपमा समेत चिनिनुहुन्छ तुलाराम गिरी । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य समेत रहनुभएका तुलाराम गिरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । समसामयिक राजनीतिक विषयमा रहेर क्वीक खबर डटकमका लागि उहाँसँग गरिएको भलाकुसारी :

१. तपाई आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?
शिक्षण पेशा छोडि २०३३ सालमा वीरेन्द्रनगर नगरपञ्चायतको उपप्रधानपञ्चमा रही २०३७ सालसम्म जनताको सेवा गरे । २०३७ सालमा जिल्ला पञ्चायत सुर्खेतको सदस्य पदमा मनोनीत भइ सेवा गर्ने अवसर प्राप्त भएको एउटा जनताको सेवकको रुपमा आफूलाई चिनाउन चाहन्छु । केही पाउनका लागि नभई जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको मात्र होइन विभिन्न सामाजिक क्षेत्रमा समेत काम गरेकोले मैले दावाका साथ आफूलाई समाजसेवी भन्न रुचाउँछु ।

२. तपाई अहिले प्रदेश सभाको सदस्यमा उम्मेदवार बन्नु भएको छ ? कस्तो छ अवस्था ?
देशमा अहिले वाम गठबन्धन भएकोले जनताका विचमा एउटा हावा फैलिएको छ । देश अब वामहरुको हातमा जान्छ भन्ने । तर जनताका विचमा जुन हल्ला फैलाइएको छ । त्यस्तो पटक्कै छैन । किनकी राजनीतिक क्षेत्र भनेको कतिपय हल्लाका भरमा अगाडि बढ्ने तर अन्तमा हात्ति आयो हात्ति आयो फुस्सा भने जस्तै हुन्छ । यो वाम गठबन्धन पनि त्यही हो । देशको सीमा रेखादेखि, राजा सहितको प्रजातन्त्र, सनातन धर्म र सम्वद्र्धनवाद जस्ता मूल एजेण्डा स्थापित गर्न र त्यसको रक्षाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको जुन एजेण्डा छ त्यो एजेण्डामा टेकेर हामी अघि बढिरहेका छौ । त्यसको आधारमा मैले आफ्नो उम्मेदवारी दिएको हुँ । यो मेरो व्यक्तिगत भन्दा पनि सुर्खेती जनताको इच्छाले गर्दा म जनताको सेवकको रुपमा अगाडि बढ्न चाहेको कुरा सबैलाई अवगत गराउन चाहन्छु ।

३. तपाईहरुको पनि लोकतान्त्रिक गठबन्धन भएको छ नि ? तर सुर्खेतमा त सबैको उम्मेदवारी परेको छ किन ?
अप्रत्यासित रुपमा वाम गठबन्धन भयो । प्रजातान्त्रिक गठबन्धनको जन्म गराउन वाम गठबन्धनले ठूलो भूमिका खेल्यो । किनकी वामहरु एक भएर देशमा साम्यवाद स्थापना गर्छौ भन्दै हिडेको बेलामा प्रजातन्त्रको मूल्य र मान्यतामा स्थापना भएको संविधानको रक्षा गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य दुबै भएकोले हामीले पनि गठबन्धन गर्नु परेको हो । तर सुर्खेतको हकमा नेपाली काँग्रेसका साथीहरुले जुन दम्भका साथ अगाडि बढ्ने खालको योजना बनाउनु भयो । त्यसरी गठबन्धनको वेवास्ता गर्दै उहाँहरु अगाडि बढेपछि हामी पनि आफ्नो पार्टीको एजेण्डालाई लिएर अगाडि बढ्न बाध्य भयौ । त्यसैले सुर्खेतमा प्रजातान्त्रिक गठबन्धनमा रहेकाहरुले पनि उम्मेदवारी दिनु परेको हो । राजनीतिक रुपमा आफ्नो सिद्धान्त र एजेण्डामा कोही ठूलो र सानो हुँदैन त्यसैले हामीलाई कसैले आकारमा सानो नदेखेपनि हुन्छ । तपाईको यो मिडिया मार्फत भन्न चाहन्छु मन्दिरमा भक्तजनहरु कति संख्यामा हुन्छन् तर घण्टी बजाउने एउटै पूजारी नै सबैको केन्द्रमा रहन्छ । त्यसैले हाम्रो संगठन र हाम्रा कार्यकर्ताहरु मन्दिरको पूजारी झै पवित्र छन् । काँग्रेसका साथीहरुले केन्द्रमा भएका सम्झौता बमोजिम सुर्खेतमा काम गर्न सक्नु भएन । हामीले लचकता अपनाउँदै गर्दा त्यसको फाइदा लिने कोसिस गर्नुभएको छ । तर त्यसरी कदापी हामी कुनै पनि व्यक्ति वा पार्टीको फाइदाको लागि झुक्नेवाला छैनौ देशैभर हामीलाई दिने भनिएका स्थानमा काँग्रेसले आफ्नो वाचा पूरा गर्छ भन्नेमा हामी ढुक्क थियौ । त्यसैले पहिलो चरणको मनोनयन दर्तामा हामीले त्यसलाई अक्षरस पालना गरेपनि दोस्रो चरणमा आइपुग्दा काँग्रेसले त्यसको पालना गर्न नखोजेकोले हामी बाध्य भएर दोस्रो चरणमा सबै क्षेत्रहरुमा उम्मेदवारी दिन बाध्य भएका हौ । जसले गर्दा लोकतान्त्रिक गठबन्धनको आशा र भरोसा गर्ने सबै जनतालाई समेत काँग्रेसको यो क्रियाकलापले दुःखी तुल्याएको छ ।
। हामी देशको र मातृभूमिको फाइदाका लागि झुक्न पनि जानेका छौ । त्यसकारण मेरो उम्मेदवारी हो । मलाई विश्वास छ सुर्खेती जनताले २०३३ सालदेखि मैले जनताका लागि गरेको सेवाको आंकलन गर्नुभएको छ । त्यो आंकलनलाई व्यवहारमा उतार्ने बेला आएको छ । व्यवहारमा उतार्न सुर्खेती विद्वान, स्वच्छ र निश्पक्ष भाव र मन भएका जनताहरु आतुर छन् भने उहाँहरुले दिने जिम्मेवारी सम्हाल्नको लागि म पनि हतारिएको छु ।

४. वाम गठबन्धन भएको बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीले चिर्वाचनको परिणाम आफ्नो पोल्टामा पर्ने आधारहरु के के हुन ?
निर्वाचनमा भाग लिनु र पार्टीको अस्तित्वलाई रक्षा गर्नु सबै पार्टीका नेता कार्यकर्ताहरुको दायित्व हो । त्यो दायित्वबाट राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अछुतो रहनै सक्दैन । निर्वाचनमा गइसकेपछि एक भोटले भएपनि हारजित हुनु स्वाभाविक हुन्छ । यो मुल्य र मान्यतालाई हामी स्वीकार्छौ । तर तपाईले जुन पोल्टाको कुरा गर्नु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा जुन भोट आउँछ त्यो हाम्रै पोल्टाको भोट हो । ती सचेत जनताले हामीलाई दिएको भोटले नै हामी विजयी पनि हुन्छौ भने कथांकदाचित विजयी हुन नसकेमा पनि आफ्नो भोटको सम्मान गर्ने क्षमता भएका व्यक्तिहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छौ । तर यहाँ गम्भिर कुरा के हो भने जुन वैचारिक ध्रुबीकरणको कुरा आएको छ । प्रजातान्त्रिक गठबन्धन नै पराजित हुने अवस्था आयो भने देशको भविष्य कहाँ पुग्ला भन्ने चिन्ता गर्ने बेला आएको छ । त्यसैले हामी प्रजातान्त्रिक गठबन्धनमा एक भएर लाग्ने योजना बनाएका हौँ तर सुर्खेतको हकमा साथीहरुले त्यसलाई अनुशरण गर्न सक्नु भएन । अझै पनि गठबन्धनको जीतलाई सुनिश्चित गर्ने हो भने बेलैमा गठबन्धन हुँदाका बखतमा केन्द्रमा शीर्ष नेताहरुको विचमा भएका सम्झौताहरुलाई अक्षरस पालना गर्न जरुरी छ । अनि मात्र सुर्खेतमा प्रजातान्त्रिक गठबन्धनले नै तपाई भने झैँ परिणाम आफ्नो पोल्टामा पार्ने कुरामा ढुक्क हुन सकिन्छ ।

४. यदि काँग्रेसले छोडेन भने राष्ट्रिय प्रजातन्त्र पार्टी के गर्छ होला ?
हामी पार्टीको निर्णयलाई शीरोधार्य गरेर लाग्ने पार्टीका कार्यकर्ता हौँ । गठबन्धन हुने बेलामा भएका वाचाहरु पूरा गर्नका लागि दुबै पक्ष तत्पर रहनु पर्छ । यदि त्यसो भएन भने गठबन्धनको औचित्य सुर्खेतमा मात्र होइन देशभरी समाप्त हुनसक्छ । त्यसले केही स्थानमा काँग्रेसलाई केही स्थानमा हामीलाई पनि घाटा त होला नै । तर त्यसलाई गौण पक्षको रुपमा राखेर पार्टीको केन्द्रिय समितिले हामीलाई जुन निर्देशन दिन्छ हामी त्यो पालना गर्छौ ।

५.अन्तमा केही भन्नु छ कि ?
प्रजातन्त्रिक पद्धतिमा जनता भनेकै न्यायधिस हुन । त्यसैले जनता जहिले पनि सत्यको पक्षमा हुन्छन् । सत्य केही दिन ओझेलमा पर्न सक्छ तर कदापी त्यो नष्ट भएर जाँदैन । नेपाली जनता सत्यकै पक्षमा उभिने भएकाले हामीले निर्वाचन जित्ने कुरामा विश्वास लिएका छौ । देश र जनताको हक र हितका लागि गरिएका गठबन्धनलाई तोडमोड र दम्भ देखाएर अहम्ताका साथ अगाडि जान खोजेमा दुबै हात रित्तो हुन सक्छ भन्ने कुरा राम्रोसँग सबैले बुझ्नु जरुरी छ । सुर्खेती आमा बुबा दाजुभाइ दिदीबहिनीहरुलाई विनम्रताका साथ भन्न चाहन्छु अहिले संविधान कार्यान्वयन गर्ने र ९४ प्रतिशत ओमकारहरुको रक्षा गर्ने बेला आएकोले अब आफ्नो धर्मको रक्षा गर्नका लागि पनि तपाईहरुको भोट राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तका पक्षमा हुनेछ भन्ने विश्वासका साथ यी शब्दहरुलाई सम्पूर्ण पाठकहरुसम्म पु¥याउन सहयोग गर्ने तपाईको मिडियालाई पनि धन्यवाद ।