Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

नेतालाई चुनावको चटारो : किसानलाई धान भित्र्याउनै हतार

सुर्खेत ।
असारको महिनामा रातदिन नभनि लगाएको खेती मंसिरमा लटरम्म फकेको बेला किसानहरुको खुसीको सीमा हुँदैन । उनीहरुलाई कतिबेला त्यो अन्न भकारीमा भर्ने हो भनेर हतार भइरहेको छ आजभोली । अधिकांश किसानहरु धानबाली भित्र्याउने कार्यमा व्यस्त छन् खेतमा । यता मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेताहरु पनि गाउँ पसेका छन् ।

 

घरदैलोका लागि गाउँमा पसेका नेताहरु घरमा कोही नभेटेपछि भोट माग्न खेतमै पुग्ने गरेका छन् । कतैं धान काट्दै त कतै धान माड्दै गरेका किसानहरुसँग उनीहरु खेतमै पुगेर आफ्नो पार्टीका घोषणा–पत्रमा लेखिएका कुराहरु सुनाइरहेका छन् । तर किसानहरुलाई त्यो घोषणा–पत्रमा लेखिएका नेताहरुका कुरा सुन्नुभन्दा पनि आफ्नै काममा बढि ध्यान हुन्छ । स्थानीय तहको निर्वाचनको बेलामा देखिएका नेताहरु एकै पटक पुनः चुनाव आएको बेलामा गाउँमा देखा पर्न थालेका छन् ।

यतिबेला उम्मेदवारहरु बाटोघाटो, खानेपानी, सिंचाई, विद्युत्त, सडकलगायतका सुधार गर्ने प्रतिबद्वता सहित जनतासँग भोट माग्दैछन् । कतै आफ्नो पुरानो साख जोगाउन त कतै नयाँ साख बनाउनका लागि निकै रस्साकस्सी गरिरहेका नेताहरु जनताका विचमा मीठा मसिना आश्वासनहरु बाँड्दै गरेका छन् । यही मंसिर १० र २१ गते चुनाव हुँदैछ । तपाईलाई चुनावको बारेमा के जानकारी छ ? कतिवटा मतपत्र हुन्छन् ? एउटा मतपत्रमा कतिवटा छाप लगाउनु पर्छ ? भन्ने हाम्रो प्रश्नमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का शान्ति शर्मा भन्छिन्, चुनाव आएको त थाह छ तर अरु कुनै पनि थाह छैन । कतिवटा मतपत्र हुन्छन् , एउटा मतपत्रमा कति छाप लगाउनु पर्छ केही थाह छैन । अहिलेसम्म यसरी छाप लगाउनु भनेर सिकाउन कोही आएका छैनन् । निर्वाचन आयोगले गर्ने मतदाता शिक्षाका कार्यक्रमहरु प्रत्येक सर्वसाधारणसम्म पुग्नु पर्ने हो । तर असारमा मानो खाएर दुःख गरि लगाएको धानखेती स्याहार्ने क्रममा अधिकांश गाउँका मतदाताहरु खेतमा छन् । त्यसैले पनि मतदाता शिक्षा सोचे अनुरुप प्रभावकारी बन्न सकिरहेको छैन ।

सुर्खेतमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका विच निकै प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्का र नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुब कुमार शाही विच प्रतिस्पर्धा हुँदैछ । एकातिर वाम गठबन्धनको कारण काँग्रेसलाई चुनावको नतिजा आफ्नो पक्षमा पार्न सकस छ भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खड्कालाई पराजय गर्न वाम गठबन्धनले पनि फलामकै च्यूरा चपाउनु पर्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका ह्दयराम थानी बारम्बार यामलालसँगको लडाईमा कहिले जीत र कहिले हार व्यहोर्ने गरेकोमा यसपटक भने यामलालसँग नेपाली काँग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मीले चुनावी प्रतिस्पर्धा गर्दैछन् त्यो पनि प्रदेश सभाका लागि । प्रतिनिधि सभामा नवराज रावतसँग थानीको प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को तर्फबाट भने प्रतिनिधि सभाको कुनै उम्मेद्वार छैनन् ।

तर प्रदेश सभाका लागि भने निर्वाचन क्षेत्र नं. २ (क) बाहेक अरु तीन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वार प्रतिस्पर्धामा उतारेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को तर्फबाट प्रदेश सभाका ४ वटै क्षेत्रमा आफ्ना उम्मेद्वार प्रतिस्पर्धामा उतारेको छ । प्रायः जसो सबै दलहरुले खानेपानी, विद्यालयमा शिक्षकको व्यवस्था, स्वास्थ्य सेवामा प्रभावकारितालगायतका अन्य विकास निर्माणका कामहरुको बारेमा आफ्ना घोषणा पत्रमा उल्लेख गरेका
छन् ।