Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

दोस्रो चरणको मतदान शुरु : ९५ वर्षिया बृद्धले गरे मतदान

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्तर्गतको निर्वाचन आज विहान ७ बजेदेखि शुरु भएको छ । सुर्खेतका सबै मतदान केन्द्रहरुमा अहिलेसम्म सौहाद्रपूर्ण रुपमा मतदान भइरहेको मतदान अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । विहानपख मौसममा केही खराबी भएपनि अहिले मौसम सफा रहेको छ ।

काँक्रेविहार आ.वि चारकुने मतदान स्थलको ख केन्द्रमा ९५ वर्षिया प्रेमबहादुर बुढाले मतदान गर्नुभएको छ । उहाँले नाती प्रेमबहादुर बिसीको सहयोगमा मतदान गर्नुभएको हो ।

त्यसैगरी आम निर्वाचन सुरु हुनासाथ देशका विभिन्न चुनाव क्षेत्रबाट शीर्षनेताहरुले मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गरेका छन् भने पूर्वप्रधानमन्त्री प्रचण्डले चितवनबाट मतदान गरेका छन् । तर झापामा रहेका पूर्वप्रधानमन्त्री केपी ओलीले अपरान्ह भक्तपुरबाट मतदान गर्ने कार्यक्रम छ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ (इलाम), कांग्रेस नेता डा. शेखर कोइराला र लालबाबु पण्डित (बिराटनगर) मन्त्री सुनीलबहादुर थापा (धनकुटा) र माओवादी नेता गिरिराजमणि पोखरेल (महोत्तरी)ले बिहानै मतदान गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचनमा जस्तो निकै उत्साह भने यसपटकको निर्वाचनमा देखिएको छैन । मतदान केन्द्रहरुमा पनि मतदाताहरुको त्यत्ति बाक्लो भीड लागेको छैन । सुर्खेतको जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा रहेको तीन वटा केन्द्र नै महिलामैत्री केन्द्रको रुपमा रहेका छन् । त्यहाँ नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले आकस्मिक प्राथमिक उपचार केन्द्र समेत राखेको छ ।