सामाजिक मुद्दामा पत्रकार एक जुट हुने
सुर्खेत, ३० पौष ।
सामाजिक मुद्दालाई बलियो तरिकाले उठाउनका लागि सुर्खेतका सम्पूर्ण आमसञ्चारमाध्यमहरुले एकजुट भएर मुद्दालाई प्रकाशन तथा प्रशारण गर्ने बताइएका छन् । आइतबार क्रियाशिल पत्रकार मञ्च सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको सम्पादक तथा स्टेशन म्यानेजरहरुको छलफलमा पत्रकारहरुले यस्तो बताएका हुन् । विशेष गरी ६ नम्बर प्रदेश स्थापनाका लागि मात्र सबै सञ्चारमाध्यम एकजुट भएर आन्दोलित भएको स्मरण गर्दै सम्पादकहरुले अबका दिनमा पनि राजधानी बनाउनका लागि सबै सञ्चारमाध्यम एकजुट हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले प्रदेश स्थापनाका लागि सुर्खेतमा तीन जनाले ज्यान समेत गुमाएको हुँदा सुर्खेत बाहेक अन्य जिल्ला ६ नम्बर प्रदेशको राजधानीको विकल्प हुन नसक्नेमा जोड दिए ।
यसका लागि सम्पूर्ण सञ्चारमाध्यम एकजुट हुनुपर्ने बताउँदै उनले समाजको हितमा हुने सबै खालका मुद्दामा एकजुट भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पौडेलले मैले पत्रकारिता गरेको छु, मैले जे गरे पनि हुन्छ भन्ने भावनालाई पत्रकारले हटाउनुपर्ने बताउँदै मिसन पत्रकारिताबाट शुरु गरेको पत्रकारिता पेशा विकास पत्रकारिता हुँदै प्रदेश राजधानीका लागि फेरि पनि मिसन पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
साथै उनले नैतिकता, सामाजिक जिम्मेवारी पत्रकारमा बढी हुनुपर्ने बताउँदै विकास पत्रकारितामा सबै पत्रकार एकजुट भएर लाग्नुपर्ने बताए ।कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा स्टेशन म्यानेजरहरुले एउटा पत्रकारले कमजोरी गरे पनि समग्र पत्रकारिताको बदनामी हुने भएकाले त्यसलाई बुझेर जिम्मेवार पत्रकारिता गर्नका लागि सम्पादकहरु आफ्नो सञ्चारमाध्यमबाट आफै जिम्मेवारिता बोध शुरु गर्ने बताए । व्यवसायिक पत्रकारिताको प्रवद्र्धनका लागि सम्पादक तथा स्टेशन म्यानेजर बीच गरिएको अन्तर्किया तथा छलफल कार्यक्रममा विभिन्न पाँचवटा जिल्लाका १५ जना पत्रकारलाई तालिम पश्चात खोज पत्रकारिताका लागि छात्रवृत्ति प्रदान गरिएको क्रियाशिल पत्रकार मञ्चले जनाएको छ ।
६ नम्बर प्रदेशका सञ्चारमाध्यम र पत्रकारहरुको क्षमता वृद्धिका लागि आगामी दिनमा थप कार्यक्रम गर्ने योजना रहेको बताउँदै मञ्चका अध्यक्ष ललित बुढाले छनौटमा परेका १५ जना पत्रकारहरु अनुभवि र सिकारु पत्रकारलाई आधार बनाएर छनौट गरिएको बताए । साथै उनले तालिम प्राप्त पत्रकारले तयार पारेका खोजमुलक रिपोर्टलाई आ–आफ्नो सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण गरिदिनका लागिसमेत अनुरोध गरे ।






