प्रदेशस्तरीय महोत्सव हुने
सुर्खेत, ५ माघ ।
यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सुर्खेतमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ६ को आयोजनामा प्रादेशिक महोत्सव हुने भएको छ । शुक्रबार महासंघको प्रदेश नं. ६ ले पत्रकार सम्मेलन गरी माघ २६ गतेदेखि सुर्खेतमा प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव हुने जानकारी दिएको हो ।

महासंघका प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले यस प्रदेशको बलियो आधारको रुपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि, पर्यटन, खानी, खनिज तथा जडिबुटी, स्थानीय कला, संस्कृति, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धनका लागि पहिलो पटक प्रदेशस्तरीय महोत्सव गर्न लागिएको बताए । महोत्सवले ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई स्थापित गराउने र अपार सम्भावना र अवसर बोकेको सिंगो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने उनले जनाए ।

प्रदेश नं. ६ का १० जिल्लाका उद्योग वाणिज्य संघहरु पनि आयोजक भएकोले यसपटकको प्रदेशस्तरीय महोत्सव ६ नं. को महोत्सव हुने अध्यक्ष शाहीको भनाइ रहेको छ । विगतको महोत्सवभन्दा यसपटकको प्रदेशस्तरीय भिन्न प्रकारको हुने दाबीसमेत उनले गरेका छन् । मुख्य आयोजक महासंघको प्रदेश नं. ६ रहेको छ भने सहआयोजकमा जिल्ला समन्वय समिति सुर्खेत र वीरेन्द्रनगर नगरपालिका रहेका छन् ।






