राप्रपा (प्रजातान्त्रिक) को समीक्षात्मक अन्तरक्रिया
सुर्खेत
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को ६ नं. प्रदेश स्तरीय समीक्षात्मक अन्तरक्रिया सम्पन्न भएको छ । २०७४ मंसिरमा सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभामा पार्टी व्यहोर्नु परेको हारको समीक्षा गर्दै आउँदा दिनहरुमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का ६ नं. प्रदेशका संयोजक एवम् पार्टीका केन्द्रिय सदस्य दिपबहादुर शाहीले समीक्षा र अन्तरक्रियामा आएका सुझावहरुलाई पार्टीको केन्द्रिय समितिमा लैजाने र पार्टीको संगठन विस्तारका लागि गाउँ–गाउँ र घर–घर हुँदै व्यक्तिसम्म पु¥याउने बताउनु भयो ।

उक्त समीक्षात्मक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य मनसुर सुनारले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राजावादी भन्दा पनि राजतन्त्रवादी भएको बताउनु भयो । हिन्दूराष्ट्र स्थापनाका लागि वैज्ञानिकतामा आधारित हिन्दूधर्मका अनुयायीहरु एक भएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई थियो । पार्टीले एउटा मात्र निर्वाचनमा हार व्यहोरेको हो तर सदाका लागि हार भएको होइन भन्दै उहाँले सिंहदरबारको अधिकार घर – घरमा पुग्यो भनेर जनतामा ठूला पार्टीहरुले भ्रम बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य प्रेमबहादुर शाहीले सर्वधर्म समवादबाट प्रेरित भएर राष्ट्रियता, प्रजातन्त्र र उदारवादको नीतिमा लाग्नु पर्ने बताउनु भयो । तेस्रो वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकजुट हुन नदिने शक्तिको प्रभाव परेको र राप्रपाका अध्यक्ष कमल थापाको अदुरदर्शी निर्णयका साथै बेइमानीका कारण पार्टी फुटेको बताउनु भयो । पृथ्वीनारायण शाहले निर्माण गरेको मुलुकलाई संघीयताको नाममा टुक्रा टुक्रा पारेर ठूला पार्टीले आफ्नो स्वार्थ सिद्ध गरेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य बसन्तकुमार थापाले कमल थापा सत्ताको पछाडि लागेर पार्टी ध्वस बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, अब हामी आन्दोलनमा होमिने बेला आएको छ । हामीले गर्ने आन्दोलन भ्रष्टाचारका विरुद्धमा हुनेछ । अन्याय र अत्याचारका विरुद्धमा हाम्रो आन्दोलन हुनेछ । तर हामी अस्त्र र शस्त्र सहितको आन्दोलन गर्ने छैनौ । अब विभिन्न भातृ संगठनहरु निर्माण गरे अगाडि बढ्न ढिला नगर्न नहुने उहाँको भनाई थियो ।
केन्द्रिय सदस्य लालबहादुर शाहीले नेपाली पोशाक दौरा सुरुवाल र टोपी समेत ओझेलमा पारेकोले नेपालीको पहिचान नै संकटमा परेको बताउनु भयो ।

कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सुर्खेतका अध्यक्ष कविराम पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त अवसरमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका संचालक समितिका सदस्यद्वय खगेन्द्र अधिकारी र अमर बहादुर कार्कीलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो ।









