Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

गुल्मीको पैचो सुर्खेतमा

सुर्खेत
गुल्मीको बलेटक्सारमा स्थापना भएको ‘पैचो’ कम्पनी सुर्खेतसम्म आइपुगेको छ । शनिवार एक औपचारिक कार्यक्रम गरी पैचो कम्पनी सुर्खेतमा आइपुगेको घोषणा गरिएको हो । यस भन्दा अगाडिदेखि नै यस कम्पनीका सामानहरु सुर्खेत लगायत देशका विभिन्न जिल्लाहरुमा विक्री वितरण भइरहेको भएपनि औपचारिक रुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आफ्ना उत्पादनहरु ल्याएको कम्पनी संचालकहरुले जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री विमला केसीले अगौनिक खाना खुवाउन सक्नु र विषादीयुक्त विदेशी तरकारी तथा फलफूलहरु निर्यातलाई निरन्तासहित गर्नु सबैको कर्तव्य भएको बताउँदै आधुनिक कृषि प्रणालीमा जोड दिनु पर्ने बताइन । जसका लागि साझा संकल्प लिएर सबै एक जुट समेत उनले आग्रह गरिन । उनले भनिन्, हामीले कृषि उत्पादन र कृषकहरुको सम्मान गर्न नसके अर्गानिक प्रदेशको आधार निर्माण गर्न सकिदैन ।

२७ प्रकारका सामानहरु उत्पादन गर्ने उक्त कम्पनीका प्रबन्ध निर्देशक धु्रब न्यौपानेले एक कार्यक्रमका वीच जानकारी गराए । अर्गानिक बस्तुहरु उत्पादन गर्ने उक्त कम्पनीले ‘बसेपनि शहर, गाउँकै खाने रहर’ मुल नाराका साथ गाउँमा उतपादन भएका बस्तुहरुलाई प्रशोधन गरेर शहरदेखि गाउँसम्म पु¥याउने कार्य गरेको बताइएको छ । गाउँबस्तीका परिकारहरुलाई भुल्न थालेको र गाउँमा उत्पादन भएका बस्तुहरुको बजारीकरण नभएकोले किसानहरु नै मर्कामा परेकाले उनीहरुको आर्थिक उन्नतीका लागि कार्य गरिरहेको कम्पनी संचालकहरुको भनाई छ ।

मुद्रा विनियमको चलन चल्तीसँगै ‘पैचो’ शब्द नै ओझेल परेका कारण सहयोग र सहकार्यको भावनाको विकासमा समेत कमी आएकोले उक्त कार्यलाई जागरण गर्नका लागि कम्पनीको नाम नै ‘पैचो’ राखेको बताउँदै अहिले पैचो कम्पनीसँग हजारौ किसानहरु जोडिएको बताइएको छ ।

बजारमा गुणस्तरहिन र अखाद्य बस्तुको बाहुल्यता भइरहेको बेलामा अर्गानिक कृषि उपजहरुलाई प्राथामिकतामा राखेर उपभोक्तालाई खाद्य बस्तु उपलब्ध गराइरहेको संचालकहरुले जनाएका छन् । स्थापना कालदेखि हाते प्रविधिको प्रयोग गरेर अचार, चुक, दाल लगायतका बस्तुहरुको परीक्षण बिक्री गर्दै आएको भएपनि २०७३ साल वैशाखदेखि आधुनिक प्रशोधन कारखान मार्फत २७ प्रकारका बस्तुहरु उत्पादन गर्न थालेको हो । अचार, होल क्यान कर्न, आटो, कोदोको पीठो, टोमेटो क्याचअप, जाम, विभिन्न प्रकारका सिन्की, मस्यौरा जस्ता बस्तुहरु उत्पादन गरिरहेको पैचोले किसानले उत्पादन गरेको बस्तुहरुको बजारको ग्यारेन्टी समेत लिने गरेको बताएको छ । कम्पनीका संचालकहरुका अनुसार स्वरोजगारको सिर्जना समेत भएकाले विदेशीने युवाशक्तिलाई स्वदेशमै काम दिन पनि सकिएको छ । पैचोले उत्पादन गर्ने बस्तुहरु विषादीरहित भएकाले उपभोक्ताको स्वास्थ्यका लागि समेत फाइदाजनक रहेको संचालकको भनाई छ । यस कम्पनीले किसानले उत्पादन गरेका बस्तुहरु संकलनका लागि ५० बढी स्थानमा केन्द्रहरु समेत स्थापना गरेको छ ।

कर्णाली प्रदेश पनि जडिबुटीदेखि लिएर विभिन्न प्रकारका फलफूलहरुको उत्पादन क्षेत्र भएकोले निकै सम्भावना रहेको साथै यस प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकसित गर्न लागिएकोले पनि पैचोले सक्दो सहयोग आदान प्रदान हुनेमा आफू विश्वस्त रहेको प्रबन्ध निर्देशक न्यौपानेको भनाई थियो ।