Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

उत्कृष्ट १० आइडल छनोट

सुर्खेत, ३ चैत्र ।
सिङ्गारो म्युजिक प्रा.लि.को आयोजनामा वीरेन्द्रनगरमा भइरहेको प्रदेश आइडल कार्यक्रममा उत्कृष्ट १० प्रतिस्पर्धी छानिएका छन् । अडिसनबाट छानिएका १३ मध्ये शनिबार ट्रयाक राउन्ड मार्फत् उत्कृष्ट १० प्रतिस्पर्धी छनौट भएका हुन् । निर्णायक मण्डल, लाइभ भोटिङ्ग र एसएमएस भोटिङ्ग मार्फत् उत्कृष्ट १० प्रतिस्पर्धी छानिएका हुन् ।

शनिबार सावित्री अधिकारी, महेन्द्र बि.क., बिराज थापा मगर, हिक्मत शाही, रवि ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा र खगिसरा शाही छनौट भएका छन् । कार्यक्रममा कलाकार प्रेम शर्माले कर्णाली आइडलमा प्रथम हुनेलाई निर्माणाधीन नेपाली चलचित्रमा गीत गाउने अवसर दिने बताए । कार्यक्रममा कर्णाली प्रदेशका लागि कान्तिपुर पब्लिकेसन्सका ब्युरो प्रमुख कलेन्द्र सेजुवाललाई सम्मान गरिएको थियो ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागर गर्नका लागि आइडलको आयोजना गरेको आयोजकले जनाएको छ । प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना हुनेलाई रु. पचास हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई स्थानीय समावेशी टेलिभिजन र श्रीनाथ अनलाईन टेलिभिजनमा पनि हेर्न सकिने आयोजकले बताएको छ । प्रदेश आइडल कार्यक्रममा शनिबार वरिष्ठ कलाकार प्रेमदेव गिरीको समेत उपस्थिति रहेको थियो ।