दुल्लु अस्पतालमा खानेपानीको अभाव
कृष्ण प्रसाद अधिकारी
चैत्र २३ दुल्लु, दैलेख
गर्मि मौसम सुरु भएसँगै दैलेखको दुल्लु अस्पतालमा खानेपानीको अभाव देखिएको छ । २४ घण्टा पानीको आवश्यकता पर्ने अस्पतालमै पानीको अभाव भएपछि सरसफाईमा समेत समस्या देखिएको छ ।

पानीको अभावले अस्पतालमा रहेका शौचालय समेत दुर्गन्धित भएको देखिन्छ । अस्पतालमा आजभोली विरामीका कपडा सफा गर्न तथा शौचालयमा प्रयोग गर्न समेत पानीको अभाव भएको छ । दिन प्रतिदिन गर्मी बढ्दै जाने र पानीको माग बढ्दै जाने भएपनि अस्पतालले चाहे जति पानी उपलब्ध गराउन सकिरहेको छैन । जसका कारण विभिन्न प्रकारका रोगहरु सहजै सर्न सक्ने भएकोले झनै समस्या हुने बताइएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न सहज हुने उपभोक्ताहरुले बताउँदै आएका छन् । अस्पतालमा यसरी नै सधै पानीको समस्या भए दुल्लु अस्पतालबाट रोग निको हुने भन्दा पनि रोग फैलिने सम्भावना बढेको गरेको छ ।
पानी आपूर्तिका लागी सम्वन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको अस्पतालमा कार्यरत कर्मचारीहरु बताउछन् । एक कर्मचारीका अनुसार अस्पताल जस्तो संवेदनसिल क्षेत्रमा पानीको अभाव हुँदा पनि सरोकारवालाको ध्यान नजानु दुःखको कुरा हो ।अस्पतालमा रहेको रिर्जभ पानी पनि अस्पतालमा निर्मित भवनमा प्रयोग भैरहेको हुदाँ पानीको समस्या झनै बढेको उनको भनाई छ ।
यसैगरी अहिले पानीको समस्या दुल्लु बजारमा समेत रहेको स्थानीय व्यापारी बताउँछन । उनीहरुका अनुसार दुल्लुमा खानेपानी ल्याउन १ देखी २ घण्टा कुर्नु पर्ने बध्यता रहेको छ । दुल्लुमा पानीको सम्स्या सधैँ हुने गरेको भएपनि अहिले बजार बिस्तार भएको कारण धैरै समस्या आएको स्थानीय बताउँछन् । अब दुल्लु नगरपालिकाले समृद्ध नगरपालिका बनाउने हो भने सबै भन्दा पहिले दुल्लुमा पानीको समस्या समाधान गर्नु पर्ने जानकारहरुको भनाई छ ।






