Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

पत्रकारलाई संसदीय रिर्पोटिङमा अब्बल बनाउन सहयोग गर्छौंः सभामुख शाही

सुर्खेत, २३ चैत ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीका पत्रकारलाई व्यावसायिक बनाउन संसद सचिवालयले सहयोग गर्ने बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख शाहीले केन्द्रमा संसदीय रिर्पोटिङ गरिरहेका पत्रकारलाई बोलाएर संसदीय रिर्पोटिङमा कर्णालीका पत्रकारलाई अब्बल बनाउने जानकारी दिए । ‘केहि समयमा नै हामी संघीय संसदको रिर्पोटिङ गर्ने पत्रकारलाई बोलाउनेछौं ।’ सभामुख शाहीले भने, ‘पत्रकारलाई संसदीय रिर्पोटिङमा दक्ष बनाई व्यावसाियक पत्रकार बनाउन सचिवालयले सहयोग गर्नेछ ।’

सभामुख शाहीले देश संघीय संरचनामा गइसकेपछि जनतामा असिमित आवश्यकता र आकांक्षा बढेको बताउँदै ती आकांक्षाको परिपुर्तीका लागि सबैको सहकार्य, सहयोग र विश्वासको आवश्यकता पर्नेमा जोड दिए । ‘हामी अहिले नयाँ संरचनामा नयाँ व्यक्तिहरुले नयाँ अभ्यास गरिरहेका छौं ।’ उनले भने, ‘हामी आफैले आफ्नो बाटो तय गर्दा कहि कतै अलमलिए यहाँहरुको रचनात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा रहनेछ ।’ सभामुख शाहीले कर्णाली प्रदेशका पत्रकारले नयाँ भएपनि संसदीय पत्रकारितालाई राम्रोसँग गर्न सकेकोमा प्रशंसा गरे ।
‘हामी असाध्यै खुशी छौं । यहाँहरुले सञ्चारमाध्यमबाट हामीले गरेका काम कारवाहीहरु देश तथा विदेशमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेकोमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छौं ।’ सभामुखले भने, ‘आगामी दिनमा पनि यहाँहरुबाट यस्तै अपेक्षा गर्दछौं ।’

सभामुख शाहीले अहिलेसम्म संसदले नौ वटा विभिन्न बैठकहरु सम्पन्न गरेको जानकारी दिए । उनले प्रदेश सभाको पहिलो वैठकबाट प्रदेशसभा अन्तरिम कार्यविधि पारीत र सभामुखको निर्वाचनको मिति तोक्ने, दोश्रो वैठकमा सभामुख चयन र उपसभामुखको निर्वाचनको सूचना प्रकाशित, तेस्रो बैठकले पुष्पा घर्तीलाई उपसभामुख निर्वाचित गरेको, चौथो वैठकले प्रदेश सभाको नामाकरण गरेर ‘कर्णाली प्रदेश’ र स्थायी राजधानी ‘सुर्खेत’ सर्वसम्मत तोकेको स्मरण गराए ।

यस्तै, प्रदेशसभाको पाँचौं वैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका, छैठौं बैठकले कार्य व्यवस्था परामर्श समितिको गठन भएको घोषणा गर्नुका साथै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सम्वन्धि प्रस्ताव र सांसद सीता नेपालीद्धारा प्रदेश सभा नियमावली सम्बन्धी मस्यौदाको प्रस्ताव पेश भएको जनाए । सभामुख शाहीले प्रदेश सभाको सातौं र आठौं वैठकले प्रदेश सभा नियमावली सर्वसम्मत पास भएको र नवौं वैठकले आर्थिक कार्यविधि विधेयक २०७४ सर्वसम्मतिले पास गरेको बताए ।

‘हामीले अहिलेसम्म यी निर्णयहरु गर्न ११ पटक संसदीय दलको वैठक बसालेका छौं ।’ उनले भने, ‘हरेक विषयमा गहन रुपमा छलफल हुने र त्यसलाई सहमतिमा लगेर हामीले संसदमा पास गर्दै आएका छौं ।’ सभामुख शाहीले आगामी दिनमा पनि सहमति र सहकार्यका माध्यमबाट अघि बढ्ने बताउँदै देश बनाउन सञ्चारकर्मीको महतवपूर्ण भूमिका हुने बताए । ‘हामी सभामुख, मन्त्री या सांसदले चाहेर मात्रै देश समृद्ध बन्दैन, हामी मन्त्री या सांसदले चाहेर मात्रै यो व्यवस्था सफल हुदैन ।’ उनले भने, ‘यसकालागि सञ्चारकर्मी, जनसमुदाय सबैको साथ र सहयोगको आवश्यकता छ, अन्यथा यो व्यवस्था नै फेल हुनसक्छ ।’

कार्यक्रममा प्रदेश सभाका सचिव राजेश पौडेलले प्रदेश सभा भवनलाई थप मिडियामैत्री बनाउने बताए । ‘अहिले हामीसँग स्थान अभाव छ ।’ उनले भने, ‘नयाँ भवनमा सर्ने वित्तिकै हामी यहाँहरुले चाहेजस्तो तर विधि र विधानले निर्दिष्ट गरेबमोजिम स्थान उपलब्ध गराउने छौं ।’ सचिव पौडेलले नयाँ संसद भवनमा सर्न अझै डेढ महिना लाग्ने बताए ।