Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

आर्थिक गणना बैशाख १ देखि शुरु हुँदै

चैत ३०, सुर्खेत ।

जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन सुर्खेतमा बैशाख १ गतेदेखि आर्थिक गणना शुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयको आयोजना तथा सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिईएको हो । आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको थियो । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी बैशाख १ देखि ४२ जना गणकसहित ६ जना सुपरीवक्षेत्र फिल्डमा खटाईएको आर्थिक गणना कार्यालय सुर्खेतका आर्थिक गणना अधिकृत लक्ष्मण कँडेलले बताए । उनका अनुसार कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्नेबाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्नेछ । यसमा व्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने छ ।

आर्थिक गणनाअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । तथ्यांक ऐन, २०१५ अनुसार व्यवसायबाट संकलित विवरण गोप्य रहनेछ । जिल्लाका लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान लगायतको गणना गरिने सो कार्यक्रमबाट विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने व्यवसायीबाट आर्थिक क्षेत्रमा गरिएका लगानी तथा त्यसको प्रतिफलको अवस्था बुझ्न सकिने कार्यक्रमका संयोजक बालाराम पंगालीले विश्वास व्यक्त गरे ।

‘प्रायः कुनै कार्यालयबाट टोलीहरु व्यावसायी कहाँ जाँदा हिच्किचाउने, डराउने, झुटो विवरण दिने काम भएका छन’ उनले भने, ‘तथ्यांकलाई समसामयिक, भरपर्दो तथा विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक छ ।’ नेपालमै पहिलो पटक गरिन लागेको आर्थिक तथ्यांक संकलन कार्यमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले आर्थिक गणना कार्यमा सत्यसथ्य विवरण दिएर सहयोग गर्न सबै व्यापारी तथा उद्योगीसँग आग्रह गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेलीले आर्थिक गणनाबाट निजीक्षेत्रसँग सरकारलाई योजना बनाउन समेत टेवा पुग्ने उल्लेख गरे ।