Loading... आजः ८ जेष्ठ २०८१, मंगलवार । Tuesday 21st May 2024

मेरै लागि लेखेका रहेछन् नवराजले ‘मइजारो’ कविता

खगेन्द्र अधिकारी “अमृत”

वैशाख १८ गतेको दिन । सुर्खेतको जिल्ला समन्वय समितिको हलमा खचाखच भरिएका मान्छे । आयोजकहरु कार्यक्रमको तयारीमा जुटिरहेका । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतको आयोजनामा कर्णाली कविता कन्सर्ट । भनिन्छ मध्यपश्चिमको एक मुठी माटो उठाएर सुघ्ने हो भने पनि साहित्यको गन्ध आउँछ । नेपाली भाषाको उद्गमस्थल पनि हो कर्णाली । देशमा राजनीतिक परिवर्तन भएसँगै देशले संघीयता प्राप्त ग¥यो । भलै कसैलाई सही र कसैलाई गलत लागेको छ यो संघीयता । संघीयताले के दियो र के दिँदै छ भन्नेहरु पनि थुप्रै छन् । सिंहदरबारको अधिकार गाउँमा पु¥याइएको नारा दिएपनि सिंह मात्र गाउँमा पुगेका तर दरबार नपुगेको गुनासो गर्नेहरुको पनि कमी छैन । यथार्थमा भएको पनि त्यस्तै छ । कर्णाली कविता कन्सर्टमा आफ्ना कविताहरु सुनाउनका लागि कविताका सिंह नवराज पराजुली काठमाडौंदेखि कर्णालीको राजधानी सुर्खेतसम्म आए ।

त्यति धेरै नबोल्ने कवि हुन नवराज पुराजुली । थोरै बोल्छन् । तर धेरै बोल्नु प¥यो भने कवितामै बोल्छन उनी । उनका कविताहरु पटक पटक सुन्ने मौका पाएको छु मैलेपनि । तर सामाजिक सञ्जालमा मात्र इन्टरनेटको सहारामा । उनी धेरै पटक सुर्खेत आए होलान् । तर उनलाई भेट्ने अवसर मिलेको थिएन । कहिले समय नमिलेर त कहिले के के भएर । एक पटक उनी मेरो नजिकै कविता सुनाइरहेका थिए । करिब ३ मिटरको फरकको दुरीमा । तर पनि म जानी जानी उनका कविता सुन्न गएन । मलाई जानै मन लागेन । एउटा राजनीतिक पार्टीको औपचारिक कार्यक्रममा उनी पार्टीको प्रचारको लागि कविता वाचन गर्दैछन् भन्ने थाह पाएपछि म उनका कविता सुन्न नगएको सत्य हो । मेरो विचारमा कुनै पनि साहित्यकार, कलाकार र पत्रकार राजनीतिक रुपमा स्वतन्त्र हुनुपर्छ । कुनै एउटा पार्टीमा आस्था राख्नु स्वभाविक भएपनि राजनीतिकर्मीको झैँ मैदानमै उत्रनु राम्रो होइन जस्तो लाग्छ । कवि नवराज पराजुली एउटा कविको रुपमा जुनसुकै ठाउँमा उभिएर कविता वाचन गर्न स्वतन्त्र छन् । त्यो उनको नैसर्गिक अधिकार पनि हो । तर एउटा पार्टीलाई पृष्ठपोषण गर्दै अरु पार्टीलाई व्यङ्ग्यात्मक रुपमा अझ भनौं साहित्यिक रुपमा कटाक्ष गर्दा जुनसुकै साहित्यकार, कलाकार वा अन्य सामाजिक व्यक्तित्वको रुपमा काम गर्नेहरुको कद उँचो हुन्छ जस्तो मलाई लाग्दैन ।

जे होस् उनी युवा पुस्ताका कविहरु मध्य अब्बल कविको रुपमा चिनिन्छन् । त्यसैले उनले पद्या श्री पुरस्कार समेत प्राप्त गरिसकेका छन् । हो, तिनै कविका कविता प्रत्यक्ष रुपमा सुन्ने र उनलाई नियाल्ने अवसर वैशाख १८ गते जु¥यो । कर्णाली प्रदेशका अर्थमन्त्रीदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्टारसम्म अगाडिको रो मा बसिरहेका । त्यो भन्दा पछाडिको सो विशेष आगन्तुकहरुको लागि छुट्याइएको । अनि तेस्रो रो मा म । उनका कविता सुन्नका लागि त्यहाँ उपस्थित अतिथिदेखि दर्शक स्रोतासम्म निकै आतुर । कार्यक्रम संचालक नेपाली पोषाकमा सजिएर कार्यक्रमको सहजीकरण गर्ने तरखर गर्दै । कम हतारिलो प्रतिक्षा थिएन त्यो ।

कार्यक्रम शुरु भयो । अब त प्रतिक्षाको घडि सकियो भन्ने लाग्यो । तर आयोजकको कार्यक्रमको रुपरेखा फरक रहेछ । नेपाली लोकगीत संकलनका साथै बाद्यबादनमा अन्तर्राष्ट्रिय क्षेत्रसम्म चर्चा कमाएका व्यक्तित्व प्रेमदेव गिरी र नेपाली संगीताकाशमा बाँसुरीको धुनले सबैका कानलाई गुण लगाउने ज्ञानबहादुर नेपालीको प्रस्तुती पनि रहेछ । कवि नवराज पराजुली स्टेजमा पुग्न अघि यिनै दुई जना स्रष्टाहरु मञ्चमा उक्लिए । सेता दारी, आँखामा अलि ठूलो आकारको चस्मा, शिरमा ढाँको टोपी र सेतो दौरासुरुवालाको पहिरनमा प्रेमदेव गिरी । पातलो जीउडालमा पनि कम लोभलाग्दा मान्छे छैनन् । अझ लोभ लाग्दो त उनको कलाकारिता छ । त्यो भन्दा पनि लोभलाग्दो उनको व्यवहारिकता छ । थचक्क बसे कुर्सीमा र शुरु गरे मादलका तालहरुको वर्णन गर्न । जसरी एउटा गजलकारले गजल भित्र आउने रदिफ, काफिया, तखल्लुस, मिसरा, एउला र ए सानीको व्याख्या गर्दछ । थाह थिएन मलाई मादलका पनि यस्ता तालहरु हुन्छन् भन्ने । हुन त झ्याउरेमा नाच्न मिल्छ भन्ने बाहेक अरु ज्ञान पनि त छैन मसँग । प्रेमदेव गिरीले बजाएको मादलको ताल र ज्ञानबहादुर नेपालीको बाँसुरीको धुनले एक पटक कवि नवराज पराजुली ओझेल परे मेरो दिमागबाट । जब सकियो उनीहरुको प्रस्तुती फेरि आँखा, मन र मस्तिष्कमा भरिए कवि पराजुली । उक्लिए मञ्चमा । प्रविधिको चेकजाँच पश्चात शुरु भयो उनको कविताको वाचन कार्य ।

मञ्चमा कविता वाचन गर्दा पनि त्यति धेरै आवेगमा नआउँदा रहेछन् उनी । स्थिर जस्तै देखिने गरी समुन्द्र बगे झैँ आफ्नै गति, यति र लयमा बग्दा रहेछन् उनी । बिम्बात्मक रुपमा निकै बलियो स्थानमा टेकेर कविता सिर्जना गर्ने कवि पराजुलीको सगरमाथाको गहिराई शीर्षकको कविताले उनीहरुलाई छोयो जसका घरका कुनै सदस्य पैसाले भरिएको बाकस ल्याउन खाडिमा गएका छन् । पैसाले भरिएको बाकस ल्याउने सपना बुनेर जानेहरु सबै पैसाले भरिएको बाकस ल्याएरै फर्किन्छन् भन्ने छैन । कवितामा मात्र होइन यथार्थतामा पनि धेरैले पैसा राख्ने ठाउँमा आफूलाई राखेर रातो बाकस भित्र फर्किनु परेको पीडालाई कविले जीवन्त तुल्याइदिँदा धेरैको मन रोयो । कसैका आँसु आँखासम्मै पुगे । कसैका आँसु आँखासम्म आइपुग्ने बाटो बिराएर मुटुको कुनातिर । कविता वाचनको क्रम चल्दै गयो । एकपछि अर्को कविताले दर्शकहरु शान्त वातावरणमा अर्को कविता आउने आशामा कवितामै बगिरहेका थिए ।

कवि पराजुली मुसुक्क मुस्कुराए । एक दुई वटा शब्दको अर्थ भन्न थाले । जसरी मैले कक्षा तीन चारमा पढ्ने बेलामा पढेको थिएँ शब्दको अर्थ । एक दुई शब्दको अर्थ सुनाइसकेपछि उनले मञ्चबाटै एउटा कामना गरे । हुन त कसैको त्यसो नहोस् । हलुणो, हलो र जुवाको अर्थ लगाएका कवि पराजुलीले अब कुन कविता वाचन गर्छन भनेर उनीलाई नजिकबाट नियालेकाहरुले त अनुमान लगाई सकेको हुनुपर्छ । तर मैले भने कुनै अनुमान लगाउन सकेको थिएन । उनले कविताको शीर्षक बोले मइजारो ।

म राम्रोसँग बुझ्छु मइजारोको अर्थ । नेपाल कृषिप्रधान देश भएकोले खेतीपाति गर्नेहरु मइजारोको शाब्दिक अर्थ नबुझ्ने कुरै भएन । उनले बिम्बमा मइजारोलाई प्रयोग गरेको भएपनि यथार्थतामा कविताले एउटा प्रेमी र प्रेमिकाका बिचमा हुने मइजारो अझ भनौं एक हुन नसकेका प्रेम जोडीको बारेमा बोलेको रहेछ । असारको महिना खेतीमा रोपाइँ गर्न गएका रोपारहरु मइजारोको दिनमा खुसी भएको, मेलामा भएका गोरुहरु खुसी भएको भएपनि जुवा र हलो भने खिन्न भएको कुरालाई शब्दमा प्रयोग गरेर अब फेरि खेतीको समय नआएसम्मका लागि त्यो जुवा र हलोको भेट नहुने कुरालाई कविले बडो कलात्मकताका साथ प्रस्तुत गरे । अनि हलो र जुवालाई एक आपसमा जोड्ने हलुणोलाई सम्झेर हलो र जुवाले गरेको मनोवैज्ञानिक संवादलाई कविले यर्थाथतामा उतारेका छन् ।

वा कवि नवराज । यो कविताले तिमीले कुनै दिन असारको महिनामा खेतमा रोपाइँ गरिरहेका किसानहरुलाई अनि मेलामा नारिएका गोरुलाई र त्यो गोरुसँगैको हलो र जुवालाई हेरेर सिर्जना गरेको हुनुपर्छ । अनि कति महत्व छ नि त्यो हलुणोलाई । हलो र जुवालाई एक आपसमा मिलन गराउन । तर जब तिमीले कर्णाली कविता कन्सर्टमा यो कविता सुनायौ । मलाई लाग्यो तिमीले यो कविता मेरा लागि सिर्जना गरिएका हौं । अनि मेरो अनुहारमा हेरेर मेरो यथार्थतालाई नियाल्दै तिमीले मञ्चमा वाचन गरिरहेका थियौ । तिमीलाई कसरी थाह भयो हामी पनि हलो र जुवा जस्तै जीवन जीउन बाध्य छौ भनेर । त्यो हलुणोले कहिले काँही भेटाइदिन्छ हामीहरुलाई अनि जब मइजारो हुन्छ फेरि छुट्याइदिन्छ एकआपसमा । तर पनि निकै कष्टकर प्रतिक्षा गरेर बस्छौ हामी । त्यो हलो र जुवा झैं । फेरि जोडिने आशमा । तर के गर्नु हलुणोले नचाहेसम्म हामी जोडिन पनि सक्दैनौ । यही हो बिडम्बना । त्यो किसानले जसरी हलोलाई एक ठाउँमा राखेर जुवालाई अर्कै ठाउँमा राखिदिएको हुन्छ त्यसैगरी भूगोलले हामीलाई पनि फरक फरक स्थानमा राखिदिएको छ । कवि पराजुलीले झैं भन्ने हो भने जुवाले हलोलाई हेरिरहेको हुन्छ जसरी, म हेरिरहेको हुन्छु उनका आँखाको नानीमा देखिने ऐना भित्र आफूलाई । सोच्दो हो त्यो जुवाले हामीलाई जोडिदिने हलुणो कता छ । अनि मनको आँखा जब बटार्छ हलुणोलाई देख्ने आशमा त्यसपछि ऊ देख्छ आफैलाई किसानको घरको टुडालमा टाँंगिएको । ठ्याक्कै त्यस्तै उनले आँखा झिम्क्याउन साथ म पनि भेट्छु आफैलाई मइजारो पछिको एक्लो हलो झैँ । तिमीले कवितामा भने झैँ यी हातका औलाहरुलाई कष्ठस्थ छैन उनको मोवाइल नम्बर पनि । अनि भएको छैन हाम्रो मायाको मइजारो पनि ।

त्यसैले त मलाई आशा र भरोसा छ । एक दिन हलुणो रुपी आँचलगाँठोको सहायताले पक्कै जोड्नेछ हामीलाई र हुनेछौ हामी एक । त्यसपछि कसैले छुट्याउन सक्ने छैन । अनि हामी भेटिनका लागि कसैको सहायताको खाँचो पनि पर्ने छैन । बस त्यही दिन कुरेर बसिररहेको छु म ।