Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

डा.केसीको समर्थन गर्दै खलंगामा अर्धनग्न जुलुस

जुम्ला-

प्राध्यापक डा. गोविन्द केसीको अनशन चौथो दिन पनि जारी छ। चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो। हातमा हड्कडी लगाएर, मुखमा कालो पट्टी बाँधेर, आधा शरीर नांगो पारेर कर्णालीको जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै जुलुस निकालिएको हो। जुलुस डा. गोविन्द केसी अनसन बसेको स्थान कवर्डहलवाट शुरु भएर अस्पताल हुदै, कृष्णमन्दिरबाट जिल्ला प्रहरी कार्यालयवाट कवर्डहल आएर टुंगिएको थियो।

डा. केसीको जीवन रक्षा गर, माथेमा आयोगको प्रतिवेदन तत्काल कार्यन्वयन गर, अनशनमा भईरहेको प्रहरी निगरानी बन्द गर, डा. केसीका माग पुरा गर लगायतका प्लेकार्ड बोकेर मौन अर्ध नग्न जुलुस निकालिएको हो। डा. केसीको माग जायज भएको भन्दै तत्काल पुरा गरेर मृत्युको मुखवाट बचाउनको लागि दवाव दिइएको थियो। नागरिक समाजका अध्यक्ष राजवहादुर महतले जबसम्म डा. केसीको जीवन रक्षाको ग्यारेण्टी हुँदैन तबसम्म दवाव मुलक संघर्षका कार्यक्रम भईरहने बताए। उनले भने, यो व्यक्तिगत स्वार्थका लागि उठेको माग नभै सामूहिक भावना र मर्मअनुसार उठाइएको माग भएकोले सवै नागरिकको समर्थन छ। जलुस निस्कने थाहा पाएपछि सदरमुकाम खलंगाका चोक चोकमा बाक्लो प्रहरी परिचालन गरिएको थियो।