Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

पर्यटन प्रवद्र्धनबाटै कर्णालीको आर्थिक उन्नती हुन्छ : मन्त्री बुढा

सुर्खेत

पर्यटन प्रवद्र्धनबाटै कर्णालीको आर्थिक उन्नति र समृद्धि हुने बताइएको छ । शनिबार वीरेन्द्रनगरमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको आ.व. २०७५÷७६ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले यस्तो बताएका हुन् । त्यसको शुरुवाती रारा महोत्सव गरेर गरिसकेको बताउँदै यस वर्षलाई पर्यटन प्रवद्र्धनकै वर्षको रुपमा मनाउन लागिएकोले पनि पर्यटनको प्रवद्र्धन हुने विश्वस्त रहेको मन्त्री बुढाले बताए । उनले भने, कर्णाली प्रदेश सरकारले आव २०७५/७६ को कुल बजेटमा ५२ प्रतिशत बजेट कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि छुट्याएको छ ।


कार्यक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा भएका विभिन्न पर्यटकीय स्थलहरु रारा, से–फोक्सुण्डो, दैलेखको पञ्चकोशी क्षेत्र, सुर्खेतको बुलबुले र कांक्रेविहार लगायत अन्य विभिन्न पर्यटकीय स्थानहरुको संरक्षण गर्दै ती क्षेत्रहरुको प्रवद्र्धनका लागि कुरा राखेका थिए ।

अहिलेको अवस्थामा विभिन्न हिसाबबाट पछि परेको कर्णाली प्रदेश सबैसँग साँझेदारी गरेर अघि बढ्ने मन्त्री बुढाले बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल पर्यटन वर्डका सदस्य कृष्ण अर्यालले कर्णालीमा पर्यटन प्रवद्र्धन गर्ने कुरामा प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताए । उनले कर्णाली प्रदेशले सबैभन्दा पहिले आफ्नो नाम राखेर सात वटै प्रदेशका लागि मार्ग निर्देशन गरे जस्तै पर्यटनको लागि पनि खास नीति निर्माण गरेर मार्ग दर्शन गर्नुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा कर्णाली प्रदेशमा भएका विभिन्न किसिमका पर्यटकीय सम्भावना र तिनको भावि योजनाहरुको बारेमा छलफल गरिएको थियो ।