अपहरण शैलीमा लगियो डा. केसीलाई काठमाडौं
सुर्खेत
आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लगिएको छ । सेनाको हेलिकोप्टरबाट केसीलाई जुम्लादेखि सुर्खेत हुँदै काठमाडौं लगिएको हो । डा. केसीलाई जुम्लाबाट काठमाडौं लिने क्रममा जुम्लामा प्रहरीले उनका समर्थकमाथि अत्यधिक बल प्रयोग गरेको थियो । प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरुले बताएका छन् । डा. केसीलाई लिन डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । टोलीलाई सघाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला मन्त्री नरेश भण्डारी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए ।
तर, डा. केसीका समर्थकहरुले सरकारी टोलीलाई केही समय डा. केसीलाई भेट्न समेत दिएनन् । अवरोधपछि मुख्यमन्त्री शाही नेतृत्वको टोली डा. केसीलाई नभेटी फर्किएको थियो । त्यसपछि बल प्रयोग गरी उनीहरु डा. केसीलाई भेट्न पुगेका थिए । प्रहरी प्रतिष्ठानमा पुगेपछि अवस्था तनावग्रस्त बनेको हो । झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको थियो । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको बताइएको छ । प्रहरीले ‘अश्रुग्यास प्रहार र अन्धाधुन्ध लाठीचार्ज गरी सरकारले नरसंहार मच्चाउन खोज्यो । ३०– ४० जना विद्यार्थीहरु घाइते भएका छन’ केसीनिकट डा. विषद दाहालले भने । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन झुटको सहारा लिएको आरोप समेत लगाइएको छ ।
शुरुमा काठमाडौं नजाने अडान राखेका डा. केसी जुम्लामा रक्तपात हुने हल्ला सुनेपछि आफ्नो अनशनका कारण रक्तपात हुनु भन्दा काठमाडौं आउन तयार भएपनि सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए । तर सरकारी पक्षले झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त भए । उनी रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै आफैं बेडबाट झरेका थिए । तर, मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको थियो । ‘बल प्रयोग गरेर डा. केसीलाई बाहिर निकाल्दा थप तनाव हुने भएपछि यस्तो गर्नुपरेको हो’ स्थानीय प्रशासन स्रोतको दाबी छ । सरकारी पक्षले झुटो हल्ला फैलाएर केसीलाई जुम्लाबाट काठमाडौं तर्फ पठाएपछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर खण्डन गरेको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली चल्दा प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । विद्यार्थीले सीसा प्रहार गर्दा जवान कमल उपाध्याय गम्भीर घाइते भएको बताउँदै शाहले उनको मृत्यु नभएको बताएका हुन् । शाहले भने, ‘उनको मृत्यु भएको हल्ला कसरी फैलियो थाहा भएन । तर, उनको मृत्यु भएको होइन । गोली चलेको कुरा पनि गलत हो ।’ यद्यपि, उनले घाइते प्रहरी उपाध्यायको अवस्था गम्भीर भएको बताए । हाल उपाध्यायको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘अहिले उनलाई शल्यक्रिया कक्षमा राखिएको छ’ शाहले थपे, ‘हामीले हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याएर उपचार गराउने तयारी गरेको थियौं । तर, चिकित्सकहरुले यो अवस्थामा लैजानु खतरायुक्त हुने बताएपछि हामी रोकिएका थियौं ।’ घाइते जवानको छातीमा सीसा लागेको छ । ‘अस्पताल ४ तलाको छ । डा. केसी भएतिर जाने क्रममा विद्यार्थीहरुले सिसा र बेञ्च भाँचेर किलासहित प्रहरीतर्फ प्रहार गरेका थिए’, उनले थपे, ‘चिकित्सकहरुले शरीरभित्र पसेको सीसाहरु निकालेका छन् ।’ शाहका अनुसार सीसा निकालिए पनि रक्तश्राव नरोकिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्ने तयारी गरेका थिए । ‘विद्यार्थीले प्रहार गरेको किला मुटुसम्म गयो कि भन्ने हाम्रो डर हो’, डीआईजी शाहले भने ।
जुम्लामा डा. केसीलाई ल्याउन बल प्रयोग गरिएको बेला गृह मन्त्रालयमा भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित सुरक्षा निकायका प्रमुखहरुको बैठक चलिरहेको थियो । त्यसबीच सुरक्षा निकायका अधिकारीहरुलाई जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले फोन गरेर जवानले मृत्यु नभएको जानकारी समेत गराएका थिए ।
जुम्लामा २० दिन अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौँ ल्याएको हो । अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो । सुर्खेत विमानस्थलमा डा. केसीको फोटो खिच्न गएका पत्रकारहरुलाई नेपाली सेनाका कर्णेल सागर थापाले अश्लिल गाली गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै सामुन्ने उनले अश्लिल गाली गरेका हुन् । उनको यो व्यवहारले संकटकालको झझल्को आएको पत्रकारहरुले टिप्पणी गरेका छन् । गृहसचिव प्रेमकुमार राईले भने सरकारले केसीको उपचारका लागि वीर अस्पताल तयारी अवस्थामा राखिएको बताएका छन् । तर राईले वीर अस्पताल तयारी अवस्थामा राखिए पनि केसीको इच्छा अनुसार उनको उपचार गरिने बताएका छन् । ‘हामीले वीरमा उपचारको प्रबन्ध गरेका छौँ तर केसीको इच्छा र रोजाइ अनुसारकै अस्पतालमा उपचार हुनेछ’, राईले भने ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले बल प्रयोग गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ । युद्धको समयमा समेत अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बल प्रयोग गर्न नपाउने विश्वव्यापी मान्यता विपरीत सुरक्षाकर्मी प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि लाठीचार्ज र अश्रुग्यास हानेको भन्दै चिकित्सक संघले विरोध जनाएको हो । संघले उक्त घटनाको घाइतेलाई उपचारको व्यवस्था मिलाउन र दोषीउपर छानबिन गरी हदैसम्मको सजाय गर्न पनि माग समेत गरेको छ । महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई उनको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै काठमाडौं ल्याएकोमा पनि विरोध जनाइएको छ । ‘डा. गोविन्द केसीलाई उहाँको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै सरकारको तर्फबाट अनसनरत स्थलबाटै धरपकड गरी अपहरण शैलीमा उठाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रकारको अमानवीय क्रियाकलापको जति निन्दा गरे पनि कमै हुन्छ ।’







