सिडिओ सा’बले रोक भनेपछि मात्र सामान रोक्छु–सशस्त्र एसपी शाह
नेपालगन्ज, १३ साउन –
मुलुकको विकासको लागि भन्सार राजस्व बृद्धि हुनु स्वभाविक भएपनि भन्सार छली ल्याउने सामान रोक्नको लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) को आदेश आएपछि मात्र रोक्ने कुरा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहले भने पछि अहिले स्थानिय भन्सार राजस्व छल्ने टोली सक्रिय हुन लागेको छ । रुपैडिहा बजारबाट साइकल तथा रिक्साहरुमा दैनिक लाखौंको सामान भन्सार राजस्व नतिरी ल्याउने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयले चेकजाँचको लागि स्थापना गरेको चौलिक्का चेकपोष्टमा खटिएका सुरक्षाकर्मीहरुले भन्सार छलेर ल्याउने सामानको हकमा कुनै पनि किसिमको चेकजाँच तथा भन्सार प्रज्ञापनपत्र नहेरी सामान छोडिदिंदा भन्सार छल्ने गिरोह सक्रिय हुन थालेको पाइएको छ ।
यसका साथै सिमा सुरक्षा कार्यालयका एसपी शाहले ‘सिडिओ सा’बको रोक्ने आदेश आए रोक्छौं’ भनेपछि ड्यूटीमा खटिएका सुरक्षाकर्मीहरु समेत अहिले अन्यौलमा परेको पाइएको छ । यसविषयमा सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयका प्रवक्ता डिआईजी बाबु राम पाण्डे भन्नुहुन्छ–‘एसपी शाहले यस्तो भनेको हो भने यो सान्दर्भिक भएन । त्यो ओहदामा बसेकोले त्यस्तो बोल्ने नै होइन । सिमा सुरक्षा कार्यालय भनेको सिमा अपराध, राजस्व चोरी नियन्त्रण तथा त्यस्ता सामान जफत लगायत गरी सरोकारवाला निकायलाई बुझाउनु पर्छ ।’ यर्सै विषयमा सशस्त्र प्रहरी बल क्षेत्रीय कार्यालय सुर्खेतका डिआईजी राजु सुवालले एसपीले त्यस्तो बोल्ने पनि होइन र गर्ने पनि होइन बताउनु भयो । उहाँले भन्नुभयो–‘भन्सार छली गरेर आएको सामानको प्रज्ञापन पत्र हेरी छाड्ने हो, त्यस्तो नभए सामान जफत गरी भन्सार कार्यालय बुझाउनु पर्छ ।’ एसपी शाहको काम गर्ने यो रवैया देखेर भन्सार कार्यालयका अधिकृतदेखि कर्मचारीहरु आश्चर्यचकित भएका छन् भने सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुको काम गर्ने मनोबल समेत घट्ने क्रम रहेको बताइएको छ ।
भन्सार छली सामान भित्रिने विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य भन्नुहुन्छ–‘सशस्त्र प्रहरीका एसपीले भन्सार छलेर आउने सामानमा कडाई गर्नु पर्नेमा कदापि छोड्नु हुँदैन । एसपी शाहले यसरी भन्सार छलेर आएका सामान छोड्नु भयो भने नेपालगन्जमा दर्ता गरेर सरकारलाई कर तिरेर पसल खोलेर बसेका व्यापारीहरु के गर्ने त ?’ घरायसी प्रयोजनको लागि भन्दै एसपी शाहको आदेशमा सामान छोडिन्छ भने भोलि घरायसी प्रयोजनको लागि एयरकण्डिसन, कुलर, पंखा, नीजि तथा घरायसी प्रयोजनमा प्रयोग हुने कार जीप पनि छोड्नु पर्ने अधिकांशले अहिले आफ्नो तर्क अगाडि सारेका छन् ।






