सुर्खेतमा भयो भव्य गजल वाचन
सुर्खेत
काव्य श्रृङ्खला ‘ग’ अन्तर्गत सुर्खेतमा भव्य गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । दैलेखका महेन्द्र चन्द महासागर, काठमाडौंका बाबु त्रिपाठी, बाँकेकी देवकी निरौला र अछामका कृष्ण विरही जलनले सुर्खेतको जिल्ला समन्वय समितिको हलमा गजल वाचन गरेका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन साहित्यकार खोपीराम लम्सालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विश्वविद्यालयका विभिन्न प्राध्यापक, उपप्राध्यापक, साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न पेशा व्यावसायी लगायत सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, बाँके, बर्दिया कैलाली, दाङ, काठमाडौं, सल्यानलगायतका जिल्लाका गजलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

एकपछि अर्को गजल वाचन गर्दै जाँदा वान्स मोर र तालिले हलको रौनक नै फेरि दिन्थ्यो । शनिबार (आज) मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतको आयोजनामा भएको गजल वाचनमा जिल्ला समन्वय समितिको हल गजलप्रेमीहरुले भरिभराउ थियो ।
पछिल्लो समय साहित्यको क्षेत्रमा निकै लोकप्रिय रुपमा रहेको विधा गजलले आफ्नो पकट जमाउन थालेकोले पनि युवादेखि बृद्धसम्म र कविदेखि आख्यानकारसम्म गजलको रसस्वादन गर्न जिल्ला समन्वय समितिको हलमा उपस्थित देखिन्थे ।
आयोजक संस्थाका अध्यक्ष भरत प्रमोद दाहाल भन्नुभयो, हामी काव्य श्रृङ्खलालाई निरन्तरता दिन्छौ र आगामी दिनमा पनि ख्याती प्राप्त साहित्यकारहरुलाई सुर्खेतमा ल्याएर नेपाली साहित्यको श्रीबृद्धि गर्छौ । सबैको साथ र सहयोगले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा सहयोगी सबैलाई संस्थाको तर्फबाट अध्यक्ष दाहालले धन्यवाद दिनुभयो । कार्यक्रमको सहजिकरण गणेश समिप ढकालले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष भरत प्रमोद दाहालको अध्यक्षतामा भएको थियो ।











