Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जनप्रतिनिधिको चिन्ता सुर्खेत लागु औषधमा डुब्यो

सुर्खेत
वीरेनद्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुले सुर्खेत लागु औषधमा डुबेको बताएका छन् । वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित नगर सुरक्षा व्यवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका अधिकांश वडाका वडाअध्यक्षलगायत वडासदस्य र वडा सचिवहरुले समेत यस्तो बताएका हुन् । करिब १ साता अघि सुर्खेत आइपुगेका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादब र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेनद्र रजौरेको उपस्थितिमा वीरेन्द्रनगरमा कसरी शान्ति सुरक्षा कायम गर्न सकिन्छ भन्ने छलफलमा जनप्रतिनिधिहरुले लागु औषध नियन्त्रण गर्न सके मिसन सफल हुने बताएका थिए ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा लागु औषध दुव्र्यसनीले पछिल्ला पुस्तामा नराम्रो असर पारेकोमा जनप्रतिनिधिहरुले चिन्ता व्यक्त गरेका थिए । नगरमा हुने अपराधका क्रियाकलाप बारे जानकारी दिँदै वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार जंगल क्षेत्रमा गस्ती बढाउन प्रहरीलाई आग्रह गरे । ‘काँक्रेविहार क्षेत्रमा पछिल्लो पटक लागु औषध दुर्व्यसनी गर्ने युवाहरुको जमात हुने गरेकाले घुम्न जानेहरु असुरक्षित हुने गरेका छन्’ मानन्धनरले भने, ‘लागु औषध दुव्र्यसनीका कारण अरु अपराधका घटनाहरु हुने गरेकाले प्रहरीले सक्रियता बढाउन जरुरी छ ।’

वीरेन्द्रनगर नगरपालिका ११ का वडाध्यक्ष नन्दलाल शर्माले लागु औषध दुर्व्यसनी मात्रै प्रहरीले पक्राउ गरेकोमा गुनासो गर्दै लागु औषध कहाँबाट भित्रिरहेको छ भन्ने जरो उखेल्न प्रहरलाई आग्रह गरे । ग्रामिण क्षेत्रमा प्रहरीको उपस्थिती नहुँदा लागु औषधका दुर्व्यसनी मध्यरातीसम्म अनियन्त्रित रुपमा मोटरसाईकल चलाउने गरेको शर्माको भनाई छ ।

‘प्रदेश राजधानीको सुरक्षा व्यवस्था नै प्रभावकारी नहुँदा छोरी चेलीहरु असुरक्षित भए’ शर्माले भने, ‘राजमार्ग र आवश्यक ठाउँमा प्रहरी विट स्थापना गरेर निगरानी बढाउन जरुरी छ ।’

तर वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले सूचना दिँदा पनि प्रहरीले दुव्र्यसनिलाई पक्राउ गर्नुको सट्ट उनीहरुसंगै हातमिलाएर हिड्ने गरेको बताए । यरिचौकको अव्यस्थित पार्किङ, तातापानी क्षेत्रमा लागु औषधका प्रयोगकर्ताले समाज नै आक्रान्त हुने अवस्थामा पुगेको जानकारी दिँदै खत्रीले भने, ‘सूचना दिँदा पनि प्रहरीले चुहावट गरेर उनीहरुसंगै मिल्दा सूचक असुरक्षित बन्नु परेको छ ।’

वीरेन्द्रनगर नगरपालिकाका १६ वडा मध्य अधिकाँश वडाध्यक्षहरुले लागुऔषधले पछिल्ला युवा पुस्तामा परेको प्रभावका बारेमा चिन्ता जनाएका थिए । उनीहरुले कालागाउँ क्षेत्र, बांगेशीमल, काँक्रेविहार, कालिका मन्दिर, तिनकुने चौक लगायतका क्षेत्रमा प्रहरीको उपस्थिति बढाउन माग गरे ।

नगर क्षेत्रमा अटो रिक्सा आतंक, राजधानीको मुख्य चौक अस्तव्यस्तहुँदा र कालोपत्रे निर्माण सम्पन्न सडकको पिच भत्किदा दुर्घटनाको त्रास रहेको जानकारी गराइएको छ । यस्तै, नगरका दर्जनबढी ठाउँमा प्रहरी विट स्थापना गर्नु पर्ने र घरेलु मदिराको नियन्त्रण गर्नमा सुरक्षा प्रशासन गम्भीर बन्न सरोकारवालाहरुले सुझाएका छन् ।

अपराधमुक्त नगर बनाउन समन्वय गछौं : उपप्रमुख ढकाल

यसैविच, नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताएकी छन् ।

सुर्खेत आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई स्वागत गर्दै ढकालले नगर क्षेत्रमा हुने अपराधिक क्रियाकलाप रोक्नमा सुरक्षा निकायसंगै नगरपालिका समन्वय गर्न तयार रहेका उल्लेख गरिन् ।

‘शान्त र समुन्नत समाज निर्माण गर्ने दायित्व सुरक्षा निकायको मात्रै नभइ नगरपालिकाको पनि हो’ ढकालले भनिन, ‘सबै घटनाहरु नगरपालिकाले न्युनिकरण गर्न नसक्ने भएकाले सुरक्षा प्रशासनसंगै हातेमालो गरेर अघि बढ्नेछौं ।’
सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव र जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त रजौरेले वीरेन्द्रनगर नगर मात्रै नभई समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध रहेको बताए । उनीहरुले लागु औषध, घरेलु हिंसा, जुवातास, सडक दुर्घटना लगायतका घटनाहरु न्युनिकरण गर्न विशेष सुरक्षा रणनीति लागु गरिने जानकारी दिए ।

‘समग्र जिल्लाको वस्तुस्थित अध्ययन गर्ने क्रममा छौं’ एसपी रजौरेले भने, ‘केही दिनमा नागरिकहरुले सुरक्षा महशुस हुने खालको सुरक्षा रणनीति लागु गर्नेछौं ।’ सुर्खेत जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन र अपराधन नियन्त्रणमा सबै पक्षलाई साथ दिन एसपी रजौरेले आग्रह गरे ।