Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

शिक्षक आयोगको परीक्षामा भद्रगोल, कतै तह मिलेन कतै विषय फरक

काठमाडौं

शिक्षक सेवा आयोगले लिन लागेको स्थायी शिक्षकको परीक्षामा भद्रगोल भएको छ । आयोगले विषय र तह उल्टो पाल्टो पारिदिदाँ परीक्षार्थीहरु अन्यौलमा परेका छन् । परीक्षामा सहभागी हुन ठिक्क परेका परीक्षार्थीहरु मध्ये कतिपयको सिम्बोल नम्बर नै फरक पारिएको छ । परीक्षाको लागि प्रवेश पत्र लिन जाँदा बल्ल तह, विषय र सिम्बोल नम्बर फरक परेको परीक्षार्थीले पत्ता पाएका थिए । उक्त परीक्षा बिहीबार देखि तीन दिन सम्मका लागि तय गरिएको छ ।

Related image

बाँकेबाट निम्न माध्यमिक तहको नेपाली विषय शिक्षकका लागि आवेदन गरेका रमेश विसि नाम परिवर्तनको सिम्बोल नम्बरमा समस्या भएको छ ।

‘परीक्षामा सहभागी हुन ठिक्क भएको बेलामा सिम्बोल नम्बरनै मिलेन, अब के गर्ने हो ?’ प्रश्न गर्दै उनले भने, ‘मेरो प्रवेश पत्रमा भएको सिम्बोल नम्बर अनुसार परीक्षा केन्द्र नै छैन, कहाँ बसेर जाँच दिने ?’

फारम भरेको जिल्लाबाट जाँच दिन नपाउने गरी आयोगले तय गरेको विधि अनुसार उनको परीक्षा केन्द्र बर्दियामा परेको छ । तर, उनको प्रवेश पत्रमा भएको नम्बर र परीक्षा केन्द्रमा उल्लेख नम्बर नै मिल्दैन ।

‘फारम भरेको जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्दा फेरी आयोगमा पठाएर भेरिफाई गर्नु पर्छ भन्छ परीक्षा भोली छ मैले कसरी जाँच दिने ?’ उनले प्रश्न गर्दै भने, ‘परीक्षा सञ्चालनको शुरुमै यति सम्म भद्रगोल भएपछि यसका अन्य प्रकृयामा कसरी विश्वस्त हुने ?’

उनको मात्रै हैन विषय, तह र केन्द्रमा उल्टा पाल्टा परेका एक दर्जन धेरै परीक्षार्थीले एडुखबरमा सम्पर्क गरेर गुनासो गरेका छन् ।

खोटाङ्बाट माध्यमिक तहको अँग्रेजी विषयमा परीक्षा फारम भरेकी माया सुनुवार नाम परिवर्तनले सामाजिक विषय कायम भएको प्रवेश पत्र पाईन् ।

‘मेरो त विषय नै फरक पर्यो, अन्तिममा मैले फारम भरेकै विषय त कायम भएको छ भनियो, तर त्यसको ग्यारेण्टि के हुने मलाई त अन्यौल पो भयो’ उनले भनिन् ‘जाँच भन्ने कुरा त ब्यविस्थत तरिकाले ब्यवस्थापन गर्नु पर्ने पो थियो, आयोगले यति सम्म हेलचेक्र्याई गर्नु भनेको नतिजा सार्वजनिक नहुँदा सम्मको प्रकृयामा शंका गर्नु पर्ने ठाउँ दियो ।’

जिम्मेबार निकायबाटै यति सम्म भद्रगोल भए पछि परीक्षाको मर्यादामा प्रश्न उठ्नु नौलो हैन ।

तर अयोगले यस बारेमा कामचलाउ ब्यवस्था गरेको छ । पहिलो चरणमा परीक्षाको अघिल्लो दिन बुधबार अबेर आयोगले विभिन्न जिल्लाका ८६ परीक्षार्थीको तह, विषय र रोल नम्बर सच्याएको जनाएको छ ।

परीक्षार्थीहरुको परीक्षा दिने तह र विषय फरक परेको भनि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट लेखि आएको भन्दै आयोगले  परीक्षार्थीको तह विषय र रोल नम्बर सच्याएर कायम गरेको जनाएको छ ।

तर यसलाई परीक्षाको गम्भिरता मनन् नगरेको रुपमा बुझ्नु पर्ने परीक्षार्थीहरुको तर्क छ ।

परीक्षा भनेको त मर्यादित प्रकृया पनि हो, ब्यक्तिको जीवन र भविष्य सँग जोडिएको यस्तो संवेदनशील कुरामा आयोगले निकै गैह्र जिम्मेवार ब्यवस्थापन गरेको भन्दै परीक्षार्थीले आक्रोस सहित गुनासो गरेका छन् ।

मोरङ्बाट फोन गरेको बताउने राजेन्द्र अधिकारीले आयोगले समन्वय समितिलाई देखाएर पन्छने प्रयास गरेको भन्दै आफूहरुको परीक्षा प्रकृयामा हुने प्रभावको जिम्मा आयोगले लिनु पर्ने बताए ।

‘हामीले शिक्षक सेवा आयोगको परीक्षा फारम भरेका हौ, त्यसमा आयोगले क कसलाई के के जिम्मा दियो कुन कुन संयन्त्र प्रयोग गर्योसँग हाम्रो के सरोकार ?’ उनले भने, ‘कुनै पनि परीक्षार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार आयोगलाई छैन ।’

आयोगले जिल्ला स्थित इकाइहरुबाट परीक्षार्थीको फारम भर्ने ब्यवस्था मिलाएको थियो । तर उक्त फारम भरेपछि रुजु गरी यकिन गर्न समन्वय ईकाईहरुलाई नभन्दा यो समस्या आएको हो ।

आयोगकै कमजोरीले परीक्षार्थीहरुलाई मर्का परे पछि हतार हतार जे छ त्यही कायम गर्ने अस्थायी उपाय अपनाएर आयोगले बचाउको प्रयास गरेको हो ।

‘सबै ठाउँमा आयोगको कार्यालय नभएपछि इकाईलाई फारम संकलन गर्न जिम्मा दिने तर, त्यसलाई रुजु गर, त्रुटि कम गर भनेर नभन्ने गर्नु भनेको त आयोग कै जिम्मेवार अधिकारीकै कमजोरी भयो नी’ आयोगका एक जना कर्मचारीले नाम नबताउने सर्तमा भने, ‘ईकाईका कर्मचारीलाई पृष्ठपोषण अथवा जानकारी र फारम रुजु गर्न समय नतोकि जे आयो त्यही केन्द्रमा ल्याउँदा यो समस्या आएको हो ।’

फारम भरेपछि हरेक फारममा विषय नाम, तह जस्ता कुराको यकिन गर्न लगाउनु पर्नेमा आयोगले रुजु गर्ने समय नै दिएको थिएन ।

‘एक हप्ता रुजु गरेर यकिन भएपछि पठाउ भनेको भए कुन इकाईले मान्थेन र !’ ती कर्मचारीले भने, ‘विषयको गम्भिरता आँकलन नगर्दा विद्यार्थीलाई हैरानी त भयो नै परीक्षााके मर्यादा माथि नै शंका उब्जने खतरा बढ्यो ।’

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका छन् । उक्त परीक्षाक लागि आयोगले ३४ जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको छ । तर उक्त केन्द्रका बारेमा सही सूचना प्रवाहमा पनि आयोग कमजोर देखिएको छ । केन्द्र निर्धारण भएपछि आयोगले आफ्नो वेभसाईटमा राखेको थियो । तर धेरै परीक्षार्थीले एकै पटक साईट खोल्दा धेरै समय सम्म आयोगको वेभसाईटनै डाउन भएको थियो ।

‘सूचना प्रशारण गर्ने यतिका धेरै माध्यम छन् तर आयोग सही सूचना प्रवाहमा पनि कमजोर देखियो’ आयोगका अर्का कर्मचारीले भने, ‘विज्ञापनका नाममा बर्षको लाखौं रकम सकिन्छ तर परीक्षार्थीलाई आवश्यक सूचना प्रशारण प्रकाशन गर्ने काम प्रभावकारी हुँदैन भने कसलाई गुनासो गर्नु र खै !’

आयोगले गत जेठ ३१ गते प्रावि र असार १ गते निमावि तथा माविको खुल्ला विज्ञापन गरेको थियो । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन गरिएको छ । उक्त विज्ञापन अन्र्तगत विहीबार माविको, शुक्रबार अर्थात् असोज १२ गते निमाविको र प्राविको परीक्षा १३ गते तय गरिएको हो ।