सल्लाह दिने धेरै भेटिए सहयोग गर्ने कम : साइकल यात्री
सुर्खेत
सुर्खेत सिम्ता गाउँपालिका वडा नं. ३ का साइकल यात्री बालकृष्ण शाहीले सल्लाह दिने धेरै भेटिए सहयोग गर्ने कम भेटिएको बताउनु भएको छ । गत भाद्र १ गते भारतको गुजरातबाट भारत र नेपालको साइकल यात्रामा निस्केका शाहीले आज सिम्ताली एकता समाज सुर्खेतले आयोजना गरेको स्वागत तथा पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।

उहाँ भारतका मुम्बई, दिल्ली, आग्रा लगायतका स्थानमा साइकल यात्रा गरेर रुपैडिहाको नाकाबाट नेपाल भित्रिएर दाङहुँदै लुम्बिनीमा पुगेर फेरि सुर्खेत फर्किनु भएको छ । पत्रकार सम्मेलनमा १८ वर्षिया साइकल यात्री शाहीले आफूले प्लस टु को पढाइसकेर रोजगारको सिलसिलामा भारत गएको र होटलमा काम गर्ने क्रममा आफ्नो मातृभूमिलाई चिनाउने सोच पलाए अनुसार साइकल यात्राको तय गरेको बताउनु भयो । यात्री शाहीले भन्नुभयो, बुबाको माया नपाएको म साइकल यात्रा गरेर आफ्नो मातृभूमि, बुद्धभूमिलाई चिनाउने उद्देश्यका लागि हिडेको हो । यात्राका क्रममा निकै दुःख कष्ट सहेपनि ‘आत्मविश्वास र साहस नै मानव जीवन हो’ भन्ने सिद्धान्तलाई साँक्षी राखेर अगाडि बढेको छु । आमाको आर्सिरवादले म सफल भएको छु भने मलाई यो सफलता हात पार्नका लागि धेरैले सल्लाह सुझाव दिनुभएको छ । त्यही सल्लाह सुझावलाई लिएर अगाडि बढ्दै गर्दा सफलता प्राप्त गरेको महसुस भइरहेकोले यही असोज १७ गते सिम्तामा पुगेर आमाको आसिरवाद थाप्ने उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा सिम्ताली एकता समाजका अध्यक्ष धु्रबबहादुर सिंहले साइकल यात्रीले सिम्तालाई चिनाउने कार्य गरेकोमा ज्यादै खुसी लागेको बताउनु भयो । कुनै पनि मान्छेले सकारात्मक सोच्न सकेको खण्डमा सफलता मिल्ने बताउँदै उहाँले देश र समाजले मलाई के दियो भन्नु भन्दा पनि मैले देश र समाजलाई के दिएँ भन्ने कुरा महत्वपूर्ण रहने बताउनु भयो । स्वागत कार्यक्रममा सिम्तालि एकता समाजका संस्थापक अध्यक्ष गगन सिंह ठकुरीको समेत उपस्थिति रहेको थियो ।






