एकल चित्रकला प्रदर्शनी हुने
सुर्खेत ।
चित्रकार उत्तम खड्काद्वारा कोरिएका चित्रहरु प्रर्दशन हुने भएको छ । यही असोज २० गते चित्रकला प्रदर्शनी हुने भएको हो । खड्काद्वारा क्यानभासमा कोरिएका चित्रहरु प्रर्दशनले नयाँ युवामा चित्र सम्वन्धी जानकारी दिने उदेश्य रहेको चित्रकार खड्काले बताए । प्रर्दशनीको बारेमा जानकारी दिनका लागि बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा चित्रकार खड्काले नयाँ पुस्ता एवम् विद्यार्थीहरुलाई जलरङ्ग, तेलचित्र, चारकोल आर्ट, एक्रोलिक आदी लगायतको वारेमा जानकारी दिनु प्रर्दशनीको उदेश्य रहेको बताए ।

कर्णालीका विभिन्न क्षेत्रहरु समावेश गरिएका चित्रले यस क्षेत्रलाई परिचित गराउनु तथा इतिहासबाटै मेटिएका कथाहरु समेत प्रस्तुत गर्ने उनले बताए । कोलाजहरुको दैया नामक उक्त चित्रकला प्रर्दशनी कार्यक्रममा चित्रकार खड्काद्वारा कोरिएका चित्रहरु, वीरेन्द्रचौकको पुरानो शालिक, श्री स्थान, नाभीस्थान, बि.स. २०२३ सालको सुर्खेत, रारातालको पानी परिवर्तन, सिँझा लगायत अन्य चित्रहरु प्रर्दशनीमा राखिएको खड्काले बताए । विगत लामो समयदेखि सुर्खेतमा चित्रकला प्रर्दशनी भएको थिएन । करिव १६÷१७ वर्ष अगाडी चित्रकार हेमन्त हमालले उनको एकल चित्रकला प्रर्दशनी सुर्खेतको तत्कालिन जिल्ला बिकास समितिको कार्यालयको सभाहलमा प्रर्दशन गरेका थिए । त्यसयता अन्य कार्यक्रमहरुमा समावेश गरी केही चित्रहरु भित्तामा झुण्डाएर प्रर्दशन गर्ने गरिएको थियो ।







